काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र डा गोविन्द केसीबीचको भेटवार्ता सकिएको छ। शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको थियो।
भेटवार्तामा प्रधानमन्त्री ओलीले सहमति गरिएको विषयमा आफू इमानदार भएको र फेरि अनसन बन्ने अवस्था आउन नदिने बताएका थिए।
भेटवार्तामा डा केसीलाई १५ दिनभित्र पूरा गर्ने भनिएको मागलाई सरकारले बेवास्ता गरेको अवगत गराएका थिए। प्रधानमन्त्रीले संसदमा लैजानुपर्ने विषय सहमति अनुसार नै लगेको र मन्त्रिपरिषद्मा आउनुपर्ने विषयमा हकमा भने शिक्षामन्त्रीसँग बुझ्ने जवाफ दिएका थिए।
प्रधानमन्त्री ओली र डा केसीबीच देशको स्वास्थ्य सेवाको विषयलाई लिएर पनि छलफल भएको थियो। 'म देशको ७७ वटै जिल्लामा कम्तीमा तीन पटक पुगेको छु। मलाई गाउँगाउँको स्वास्थ्य सेवाको अवस्था थाहा छ', डा केसीले भनेका थिए, 'ती सबैमा सुलभ स्वास्थ्य सेवा पुर्याउनुपर्छ भन्ने नै मेरो माग हो।'
प्रधानमन्त्रीले पनि जवाफमा आफू पनि प्रत्येक जिल्लामा कम्तीमा एक पटक पुगेको बताएका थिए। 'मलाई पनि गाउँगाउँको स्वास्थ्य सेवाको बारेमा थाहा छ', प्रधानमन्त्रीले भनेका थिए, 'म तपाईंको सबै माग पूरा गर्छु।'
दुई पक्षबीच करिब २ घण्टासम्म छलफल भएको थियो। छलफलमा डा केसीका तर्फबाट डा केसी सहित डा सुरेन्द्र भण्डारी, ओम प्रकाश अर्याल, डा अभिषेकराज सिंह, विशद दाहाल, डा विश्वराज तिमिल्सिना र प्रितम सुवेदी थिए। त्यस्तै सरकारको तर्फबाट प्रधानमन्त्री ओली सहित उनका प्रमुख सल्लकार बिष्णु रिमाल र प्रेस सल्लाकार डा कुन्दन अर्याल थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।