काठमाडौं– नेपाली सेनाको नेतृत्व बिहीबार साँझदेखि रथी पूर्णचन्द्र थापाले सम्हालेका छन्। पदावधि हदका कारण अवकाश पाउन लागेका प्रधानसेनापति राजेन्द्र क्षत्रीले विदामा बसेपछि उनले सेनाको कमान्ड सम्हालेका हुन्।
व्यापक भ्रष्टाचार र व्यापारमा केन्द्रीत भएको आरोप खेपेको सेनाको छवी थापाले सुधार्ने अपेक्षा गरिएको छ।
उनको पहिलो चुनौती सरकारले सेनालाई दिएको दु्रतमार्गको निर्माण हुने चर्चा सेनाभित्र छ। उक्त परियोजनालाई सरकारको तोकेको अवधिमा समापन गर्नु र आयोजनामा भइरहेको अनियमितता रोक्नु उनको प्रमुख चुनौती हुने छ।
४ वर्षभित्र काम सम्पन्न गर्ने गरी सरकारले गत वर्ष सेनालाई दु्रतमार्ग बनाउने जिम्मेवारी दिएको थियो। १ वर्ष बित्दा पनि १० प्रतिशत पनि काम हुन सकेको छैन।
अचम्म के छ भने प्रक्रिया सुरु भएको ६ महिनासम्म पनि ट्रयाक खोल्ने कामकै ठेक्का टुंगिएको छैन। ट्रयाक खोल्न २३ वटा टुक्रा बनाएर सेनाले टेन्डरको आह्वान गरेको थियो। जसमध्ये कतिपय टेन्डर प्रक्रिया ६ महिना पुग्दा पनि टुंगिएको छैन। यसमा टेन्डर प्रक्रियामा भइरहेको आर्थिक चलखेललाई प्रमुख कारण मानिएको छ।
दु्रतमार्ग आयोजनाको जिम्मेवारी उपरथी योगेन्द्रबहादुर खाँडलाई दिइएको छ। उनकै चलखेलका कारण सो परियोजनामा ढिलासुस्ती भइरहेको र त्यसले सेना नै बदनाम हुने जोखिम बढेको एक उच्च सैनिक अधिकारी बताउँछन्।
विगतमा आफु निकटका व्यक्तिलाई ठेक्का दिएका कारण उनी विवादमा तानिएका थिए। ‘कानुनलाई आफु अनुकुल ब्याख्या गर्ने र ठेक्कामा चलखेल गर्ने समस्या उहाँमा देखिएको छ,’ परियोजनामा आबद्ध एक सैनिक अधिकारी भन्छन्,‘नयाँ प्रधानसेनापतिले आयोजनामा भइरहेको अनियमितताबारे बुझेर सुधार नगर्नेहरु भने सेना थप बदनाम हुने छ। नयाँ चिफसाबले यसमा बिशेष ध्यान दिनुपर्छ हुनुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।