काठमाडौं– नेपाली कांग्रेसको विधानको परिच्छेद ३ मा लेखिएको छ– ‘महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एक पटक हुनेछ।’
तर विधानको यो प्रावधान लागु भइरहेको छैन।
२०७२ को फागुन २० देखि २३ सम्म कांग्रेसको १३ औं महाधिवेशन भएको थियो। विधान अनुरुप पार्टी चलेको भए हालसम्म दुईवटा महासमिति बैठक बसिसक्नुपर्ने थियो। १३औं महाधिवेशनबाट पार्टी सभापतिमा शेरबहादुर देउवा चुनिएको २८ महिना पुगिसकेको छ।
गत चैत र बैशाखमा बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले यही भदौमा महासमिति बैठक बस्ने तय गरेको थियो। तर, सोही मितिमा बैठक नबस्ने पक्कापक्की भइसकेको छ भने नयाँ मिति पनि अनिश्चित छ।
चुनावी पराजयपछि महासमितिको बैठकमा जोड
प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा हार व्यहोरे लगत्तै पार्टीमा महासमिति बैठकको कुरा उठ्न थालेको थियो। पार्टीभित्रका संस्थापनपक्ष इतरका नेताहरुले त्यसमा जोड दिएका थिए।
महासमिति बैठकका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरुले दबाब दिएका थिए। लिखित तथा अलिखित रुपमा देउवाको कार्य क्षमतामा प्रश्न उठाउनेहरु नेताहरुको संख्या उल्लेखनीय थियो।
निर्वाचन पराजयपछि देउवाप्रति आक्रामक देखिएका पौडेलले फागुनको दोश्रो साता पार्टी सभापतिलाई पत्र लेखी भावी कार्यनिति बारे सचेत बनाएका थिए। पौडेलको पत्रमा भनेका थिए– ‘पार्टीको महासमिति बोलाएर संघीय लोकतान्त्रिक गणतन्त्र अनुरुप नयाँ विधान पारित गरी त्यो संरचना अनुसार पार्टीको संगठन तलदेखि माथिसम्म तत्काल बनाउन चौधौं महाधिवेशनमा तुरुन्तै जानू पर्छ।
त्यस्तै, युवाहरुको प्रतिनिधित्व गर्दै नेता गगन थापाले बैठकमा पेश गरेको ५१ पेजको अवधारणामा ‘कांग्रेसको विचारलाई बलियो र स्पष्ट बनाउनको लागि महासमितिको बैठकको आवश्यकता’ औंल्याइएको थियो।
निर्वाचन समीक्षाका लागि चैत र बैशाखमा केन्द्रीय कार्यसमितिको बैठक बस्यो। बैठकमा पौडेल र सिटौला पक्षले जिल्ला सभापतिको भेला, महासमिति बैठक हुँदै शिघ्र विशेष महाधिवेशनको माग गरेका थिए। पार्टीलाई पुनर्जीवन दिनका लागि महासमिति बैठक अत्यावश्यक रहेको सो पक्षको दाबी थियो।
बैठकमा प्राथमिकता साथ उठाइएको मागमध्ये जिल्ला सभापतिहरुको भेला भइसकेको छ। गत असार ५ देखि ८ गतेसम्म हेटौंडामा भेला सम्पन्न भएको थियो। तर केन्द्रीय कार्यसमितिले महासमिति बैठक डाक्ने निर्णय गरे पनि मिति तय हुन भने सकेको छैन।
विधान मस्यौदा समिति बन्न नसक्दा महासमिती बैठक ढिलाइ
संस्थापन पक्षइतरको विशेष जोडबलमा निर्णय गरिएको महासमितिको बैठक हाल आएर पार्टी भित्रकै अन्तरद्वन्द्वका कारण अनिश्चित बन्दै गएको छ।
प्रादेशिक संरचना अनुसार संगठन निर्माण हुन नसकेको कांग्रेसमा विधान संसोधन गर्नुपर्ने छ।
'विधान मस्यौदा समिति'बाट पारित विधान महासमितिको बैठकले अनुमोदन गर्नुपर्ने हुन्छ। सोही अनुसार नै संघीय संरचना अनुसारको संगठन बन्नेछ। विधान नभएकै कारण अभावमा नेपाली कांग्रेसको तल्लो निकायको संगठन बन्न सकेको छैन।
विधानका लागि मस्यौदा समिति गठनका लागि पार्टीमा पहल भए पनि मूर्त रुप भने पाइसेकेको छैन।
हेटौंडामा सकिएको जिल्ला सभापतिहरुको भेलापछि पार्टी सभापतिले शिर्ष तहका नेताहरुको दुई पटक भेला बोलाएका थिए। शिर्ष नेताहरुको बैठकको साथै गत मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट पनि मस्यौदा समितिको नामावलीले अन्तिम रुप पाउन सकेन।
विधान मस्यौदा समितिमा पौडेल समूहले नामावली नदिएको भन्दै संस्थापन पक्षले आरोप लगाउँदै आएको छ। तर, पौडेल/सिटौला पक्षले मस्यौदा समितिका लागि नाम दिइसकेको छ। पौडेल पक्षीय केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले नाम नदिएर मस्यौदा समितिमा बन्न ढिलाइ भएको संस्थापन पक्षको अभिव्यक्तिको खण्डन गरे।
संस्थापनइतर समूहबाट केन्द्रीय सदस्यहरु मीनेन्द्र रिजाल, दिलेन्द्र बडु, नविन्दराज जोशी र प्रदीप पौडेलले विधान मस्यौदा समितिमा प्रतिनिधित्व गर्ने भएका छन्।
मस्यौदा समितिलाई नटुंग्याइ देउवा उपचारका लागि बुधबार सिंगापुर लागेका छन्। सभापति फर्केपछि मात्रै मस्यौदा समितिका सदस्यहरुको नाम र महासमितिको बैठकको मिति सार्वजनिक हुने प्रवक्ता शर्माले जानकारी गराए।
संस्थापन पक्षले मनोनित महामन्त्री तथा देउवा पक्षीय नेता पूर्ण बहादुर खड्कालाई मस्यौदा समितिको संयोजक दिने तयारी रहेको सो पक्षका नेताहरु बताउँछन्। संस्थापन पक्षका अन्यको नाम भने बाहिर ल्याइएको छैन।
विधान मस्यौदा समितिको अन्तिम टुंगो लागेसँगै महासमितिको बैठकको मिति तय हुने शर्माले बताए। भने, ‘विधान मस्यौदा समितिको कार्यअवधि बढीमा डेढ महिनाको हुन्छ। असोजको पहिलो साता महासमिति बैठक हुनेछ।’
मस्यौदा समितिले पेश गरेको विधानलाई आवश्यक छलफलका लागि तल्लो तहमा लैजानुपर्ने हुन्छ। विधानका लागि आवश्यक सुझाब संकलनका लागि एक महिनाभन्दा बढि लाग्ने छ। मस्यौदा समितिले तयार गरेको विधानमा सुझाबको दिन समय लाग्ने तथा चाडपर्वका कारण महासमितिको बैठक छठपछि पुग्न सक्ने संकेत देखिएको छ।
तर महामन्त्री पूर्ण बहादुर खड्का भन्छन्– पार्टीको औपचारिक निर्णय नहुज्जेल भदौबाट बैठक सर्यो भन्न मिल्दैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।