काठमाडौं– मुगाली समुदायबाट पहिलोपटक सांसद बन्न सफल भएकी छिन्, छिरिङ ल्हामु लामा (मुगाली)। उनलाई नेकपा माओवादी केन्द्रले जुम्लाबाट समानुपातिकतर्फ सांसद चुनेको हो।
भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा माओवादीले समानुपातिकतर्फ प्राप्त गरेको १४ सिटमध्येबाट उनलाई जनजाति र पिछडिएको कोटाबाट सांसद बनाएको छ। उनी मुगली समुदायबाट उपल्लो निकायमा पुग्ने पहिलो व्यक्ति समेत बनेकी छिन्।
‘मुगाली समुदायको इतिहासमा पहिलोपटक सांसद बन्न पाउँदा गौरव महसुस भएको छ,’ ३० वर्षीया छिरिङले भनिन्।
०००
मुगुको सदरमुकाम गमगढीको उत्तर-पूर्वमा पर्ने सबैभन्दा ठूलो स्थानीय तह हो, मुगूम कार्मारोङ गाउँपालिका। पूर्वमा डोल्पाको से-फोक्सुन्डो गाउँपालिका र उत्तरमा चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको यो पालिकामा मुगाल (मुगुम) समुदायको बसोबास रहेको छ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ ले मुगाली समुदायलाई आदिवासी जनजाति भनेर परिभाषित गरेको छ।
मुगाली समुदायको उद्गमथलो मुगुको मुगुम भन्ने ठाउँ हो। बौद्ध धर्मलाई अनुशरण गर्दै आएका यहाँका मुगालीको पेसा भने भेडा पालन र जडीबुटी व्यवसाय नै हो।
छिरिङको परिवारको पनि जडिबुटी व्यवसाय र भेडापालन पेसा थियो। पहिला-पहिला यहाँका बासिन्दा भोटको नुनको व्यवसाय गर्थे। राडीपाखी बुन्थे। हिमालको दाल पहाडतिर चामलसँग साट्न आउँथे।
यातायातको पहुँच बढ्न थाल्यो। उनीहरुको पेसा विस्तारै विस्थापित हुन पुग्यो। जसका कारण छिरिङको परिवार भारत भासियो। उसो त उच्च हिमालमा बस्ने जनजातिहरु अहिले पनि मौसम अनुसार बसोबास गर्छन्। गर्मीमा लेक उक्लिन्छन् भने हिउँदमा बेसी झर्छन्। कोही नुन, तेल र लत्ताकपडाका लागि भारतसम्म जान्छन्।
०००
छिरिङको परिवार भारत बसेको १२ वर्ष भएको थियो। २०४८ सालमा भारतको हिमाञ्चल प्रदेशको मनाली भन्ने ठाउँमा जन्म भएको हो उनको। बाल्यकाल भारतमै बित्यो। प्रारम्भिक शिक्षा पनि भारतमा सुरु गरिन्। परिवारमा एक दाइ र एक भाइ छन्।
पाँच कक्षासम्म मनालीमा अध्ययन गरिन्। पछि उनको परिवार जुम्ला फर्कियो। पुर्ख्यौली घर भने मुगु हो। बुबाको पुस्ता बेसी झर्ने सिलसिलामा जुम्ला आयो। पछि जुम्ला बजारमा नै स्थायी बसोबास भयो।
छिरिङले जुम्ला बजारमा रहेको चन्दननाथ हाइस्कुलमा १२ कक्षासम्म अध्ययन गरिन्। बुबाको निधन भयो। आमाले हुकाइन्, बढाइन्। पारिवारिक बोझ थपिन थाल्यो। घरको कामसँगसँगै पढाइलाई पनि निरन्तरता दिइन्। उनका श्रीमान् दावा तामाङ पनि मुगाली समुदायका हुन्। अहिले भने अमेरिकामा छन्। अहिले उनको बसोवास काठमाडौंको बौद्धमा छ।
छिरिङ राजनीतिभन्दा पहिला सामाजिक कार्यमा संलग्न थिइन्। एनआईसी लाईफ ईन्सुरेन्समा जागिरे पनि भइन्। जुम्लामा रहेर सामाजिक कार्य काम गर्दै आएकी थिइन्।
मुगाल समुदायबाट राजनीतिमा कोही थिएन। जुम्लामा छिरिङ परिचित थिइन्। विभिन्न कार्यक्रममा सहभागी हुन्थिन्। राजनीतिमा आउन सबैले आग्रह गरे। उनी माओवादीमा आवद्ध भइन्। महिला अझ मुगाली समुदायको व्यक्ति भएकोले राजनीति गरेर अगाडि बढ्न सजिलो भयो।
‘राजनीति पनि सेवा नै हो,’ उनी भन्छिन्, ‘समाजिक हितका काम गर्न राजनीति एउटा अवसर भएकोले यता आएको हुँ।’ उनी माओवादी महिला संगठनको प्रदेश सदस्यका साथै चन्दननाथ नगरपालिकाको सहइन्चार्ज पनि हुन्।
जुम्लामा पार्टीबाट जनजाति समुदायको राजनीति गर्ने महिला थिएनन्। केन्द्रमा महिला जनजाति चाहिएको थियो। जिल्लाले उनलाई सजिलै समानुपातिकमा सिफारिस गर्यो। अन्ततः पार्टी नेतृत्वले मुगाली समुदायलाई संसद्मा पुर्याएको उनी बताउँछिन्।
दुई पुस्तादेखि मुगाली समुदाय जुम्लामा बस्दै आएका छन्। जहिले पनि दलहरुले उत्पीडित समुदायलाई भोट बैंक मात्र बनाउँदै आएको उनको गुनासो थियो। यो व्यवस्था एकल जाति, वर्ग र लिङ्गले मात्र उपयोग गरेकोमा चित्त बुझेको थिएन। 'यो पटक भने पार्टी पंक्तिले मुगालीलाई सांसद बनाएको छ,’ उनी भन्छिन्।
पहिलो पटक मुगाली समुदायबाट संसदमा प्रतिनिधित्व गर्न पाउँदा उत्साहितसँगै चुनौती पनि थपिएको उनी बताउँछिन्। उनी संसदमा नयाँ अनुहार हुन्। कतिपय संसदीय व्यवस्थासँग अभ्यस्त छैनन्। तर पनि चुनौतीलाई चिर्दै संसदमा बलियो उपस्थिति जनाउने उनको भनाइ छ।
जुम्ला जिल्लाका साझा समस्याका रुपमा रहेका स्वास्थ्य, शिक्षा र गरिबीलाई प्राथमिकता दिने उनले बताएकी छन्। आफ्नो समुदायको पेसा भेडापालन हो। यो पेसालाई थप व्यावसायीकरण गर्न पहल गर्ने बताउँदै छिरिङ भन्छिन्, ‘पुर्ख्यौली पेसा ओझेल पर्दैछन्। नागरिकले आर्थिक उपार्जनका लागि वैदेशिक रोजगारी मात्र देख्न थाले। त्यसैले पुर्ख्यौली पेसालाई पनि महत्व दिनेछु।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।