काठमाडौं– बिद्युत खरिद लगायतका विषयमा छलफल गर्न बंगलादेशका उर्जा राज्यमन्त्री नसरुल हमिद नेपाल आएका छन्। शुक्रबार नेपाल र बंगलादेशबीच विद्युत् सम्बन्धि सम्झौता हुँदैछ।
उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका प्रवक्ता सहसचिव दिनेश कुमार घिमिरेका अनुसार बंगलादेशले नेपालबाट विद्युत खरिद, नेपालको विद्युत क्षेत्रमा लगानी लगायतका विषयमा समझदारी हुने छ। यसका लागि दुई देशबीच सचिव स्तरको संयन्त्र समेत बनाउन लागिएको छ। राज्यमन्त्री हमिदसहितको टोली सझदारीका लागि बिहीबार नेपाल आइपुगेको हो।
बंगलादेशमा विद्युतको माग बढ्दै गएको र नेपालमा केही वर्षपछि मागभन्दा धेरै विद्युत उत्पादन हुने भएकाले नेपालले बंगलादेशलाई विद्युत बेच्नेबारे केही वर्षयता छलफल हुँदै आएको छ।
बंगलादेशले भारत तथा भुटानसँग विद्युत खरिद गर्दै आएको छ।
नेपालले निर्यात गर्न सके देशको अर्थतन्त्रमा यसले ठूलो टेवा पुग्ने अपेक्षा गरिएको छ। विद्युत विक्रिका लागि आवश्यक प्रसारण लाइनको निर्माणबारे समेत दुईदेशबीच शनिबार छलफल हुनेछ।
४५६ मेगावाटको माथिल्लो तामाकोशी लगायत निर्माणाधिन आयोजना छिट्टै सम्पन्न हुँदैछन्। त्यो अवस्थामा धेरै विद्युत खेर जाने भएकाले सरकारले छिमेकी देशहरुसँग विद्युत बिक्रि गर्ने बारे छलफल थालेको छ।
चीनसँग समेत यस विषयमा छलफल भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।