नेकपा एमालेका युवा नेता महेशकुमार बर्तौला मंसिर ४ मा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित भए। अनेरास्ववियुको राजनीति गर्दै आएका बर्तौलाले २०४८ सालदेखि यही क्षेत्रबाट ४ पटक संसद् चुनिएका एकीकृत समाजावदीका नेता विरोध खतिवडालाई पराजित गरेका हुन्।
नवनिर्वाचित सांसद बर्तौला आफैंले पराजित गरेका खतिवडाको अनुभवलाई सँगै लिएर काम गर्ने बताउँछन्। निर्वाचन जित्नुका आधार, संसदमा उठाउने मुद्दा र अबको राजनीतिक यात्राबारे बर्तौलासँग नेपाल लाइभका भूपेन्द्र शाह ठकुरीले गरेको कुराकानी:
तपाईं पहिलो पटक संसदमा निर्वाचित हुनुभएको छ। तपाईंकै पूर्वनेता विरोध खतिवडासँग के थिएन, जुन तपाईंसँग थियो र निर्वाचन जित्नुभयो?
पहिलो कुरा, म लोकतान्त्रिक गणतन्त्रका लागि लडेको एउटा युवा हुँ। म एउटा भविष्य हुँ भने उहाँहरु इतिहास हुनुहुन्छ। इतिहासमा उहाँहरु २०औं वर्ष पटक/पटक जिम्मेवारीमा रहनुभयो। देशका लागि योगदान गर्नुभयो। अब उहाँ करिब करिब ७० को हाराहारीमा पुग्दा आराम गर्नुपर्ने बेला भएको स्वभाविक रुपमा जनताले महसुस गर्नुभयो। मकवानपुर जिल्लाबाट एउटा युवालाई देशको केन्द्रीय राजनीतिमा जन्माउने संकल्प मेरो निर्वाचन क्षेत्रका आदरणीय मतदाताले निर्णय गर्नुभयो।
मेरो निर्वाचन क्षेत्रको शिक्षा, स्वास्थ्य, खानेपानी, पूर्वाधारको विकास सँगसँगै मकवानपुरका जनताको मुद्दा, सरोकार, अजेण्डाहरुलाई केन्द्रीय संसदमा बेजोड ढंगले उठान गर्नका लागि म जनताको रोजाइमा परें। मप्रति विश्वास गरेर उहाँहरुले जिताउनुभयो।
विरोध खतिवडा हिजो हाम्रै नेता हुनुहुन्थ्यो। उहाँ पार्टी विभाजन गरेर जानुभयो। पार्टीका आम कार्यकर्ता उहाँको भूमिकाबाट खुसी थिएनन्। उहाँले गलत गरेको अनुभूति परेको थियो जनतामा पनि। त्यसैले भविष्यका लागि एउटा युवालाई देशको राजनीतिमा जोड्नुपर्छ भन्ने ठानेर यो महत्वपूर्ण जिम्मेवारी मलाई सुम्पिएको हो भन्ने ठान्छु।
तपाईं यसअघि पार्टीको भ्रातृ संगठनमा रहेर प्रश्न गरिरहनुभएको थियो। अब जवाफ दिनुपर्ने ठाउँमा पुग्नुभएको छ। कस्तो महसुस भएको छ?
म विद्यार्थी राजनीतिबाट अघि बढेको कार्यकर्ता। आज संघीय सांसदको प्रतिनिधित्व गर्ने जिम्मेवारीमा पुगेको छु। त्यो जिम्मेवारी पूरा गर्न संसद्को रोष्ट्रमबाट ३ करोड नेपालीको आवाज बुलन्द गर्नु पर्नेछ। मेरो जिल्लाको विकास र समृद्धिका लागि मात्र होइन, देशको सार्वभौमिकता, स्वाभिमान, राष्ट्रिय अखण्डता, राष्ट्रियता, लोकतन्त्र र गणतन्त्रलाई मजबुत बनाउन भूमिका खेल्नु पर्नेछ।
जनताको जीवनमा राज्यको उपस्थिति, राज्यको स्रोत साधनको परिचालन, युवाहरुको श्रमलाई उत्पादनसँग जोड्दै रोजगारी सिर्जनाको अभियान र कार्यक्रमलाई अघि बढाउनुपर्ने अभिभारा पूरा गर्नु पर्नेछ। त्यसका लागि म तयार छु।
मलाई मतदाताले जुन भरोसा गर्नुभएको छ, त्यसबाट कहीँ कतै विचलित नभई इमान, जमानका साथ काम गर्नेछु। देश र जनतालाई शिरमा राखेर जतनाको चाहनालाई सम्बोधन गर्न लागिपर्ने प्रण गरेको छु।
युवाको प्रमुख मुद्दा बेरोजगारीको हो। आज थुप्रै युवा बेरोजगार हुनुहुन्छ। कतिपय कुलतमा फस्नु भएको छ। उहाँहरुलाई सत्मार्गमा ल्याउनु पर्नेछ। यी सबै समस्याको समाधान गर्ने संकल्पका साथ यो ५ वर्षे कार्यकालमा अगाडि बढ्नेछु। जनतालाई लगाएको ऋण ५ वर्ष सेवा गरेर चुक्ता गर्नेछु।
पहिलो पटक प्रतिनिधि सभामा जाँदै गर्दा तपाईंको उत्सुकता कस्तो छ?, संसद् सञ्चालनबारे कत्तिको जानकार हुनुहुन्छ?
म नयाँ विश्वविद्यालयमा भर्ना भएको छु। जनताको विश्वविद्यालयबाट उत्तीर्ण भएर संसदीय विश्वविद्यालयमा पुगेको छु। हिजोका अनुभवी विज्ञ सांसदहरुसँग अन्तर्क्रिया र छलफल गर्नेछु। उहाँहरुका ज्ञान, अनुभवहरुलाई लिँदै नयाँ ढंगबाट अगाडि बढ्नेबारे निर्क्योल गर्नेछु। एउटा विद्यार्थीलाई जहिले पनि उत्कृष्ट नम्बर ल्याउने हुटहुटी हुन्छ। त्यसैमा मेरो मिहिनेत रहन्छ।
यो ५ वर्ष जनताले नै मेरो परीक्षा लिनुहुन्छ। उहाँहरुले नै नम्बर दिनुहुन्छ। विशिष्ट श्रेणी दिनुहुन्छ कि, सेकेण्ड वा थर्ड डिभिजन त्यो उहाँहरुकै हातमा छोडौं। म भने सकभर विशिष्ट श्रेणीमै पास हुने प्रयास गर्नेछु।
यसका साथै जिम्मेवारी बोधका साथ मसँगै पराजित हुनुभएका विरोध खतिवडाको अनुभवलाई पनि साथमा लिएर अघि बढ्नेछु। अब म उहाँको पनि जनप्रतिनिधि हुँ। त्यसैले देश र जनतालाई केन्द्रमा राखेर जिल्लाका मुद्दा समेट्दै आफ्नो दायित्व पूरा गर्नेछु।
संसदमा पहिलो पटक सम्बोधन गर्दै गर्दा के कस्ता मुद्दा उठाउनुहुन्छ?
पहिलो कुरा, म शिक्षाको विषयलाई दृढताका साथ संसदमा उठाउनेछु। किनभने, हामी हाम्रो देशमा शिक्षालाई जबसम्म पहिलो प्राथमिकतामा राखिँदैन तबसम्म देश विकासको गति ठिक ढंगबाट अगाडि बढ्न सक्दैन। त्यस कारण राज्यले शिक्षालाई प्राथमिकता दिनुपर्छ।
यसका लागि सबैभन्दा पहिले सार्वजनिक शिक्षाको सवलीकरण गर्नुपर्छ। आज माध्यमिक तहको विद्यालयमा विषयगत शिक्षकको दरबन्दी अभाव छ। विषयगत शिक्षकको दरबन्दी बिना नै आज देशका धेरै वटा माविहरु सञ्चालनमा छन्। त्यहाँबाट गुणस्तरीय शिक्षा प्राप्त गर्न सकिएको छैन। त्यस कारण राज्यको पहिलो दायित्व गुणस्तरीय शिक्षा प्रदान गर्ने हुनुपर्छ।
सार्वजनिक शिक्षाको सबलीकरण र गुणस्तरीयताका लागि राज्यले देशका ७५३ वटा पालिकामध्ये न्यूनतम एक पालिका भित्र एक आवासीय विद्यालयको व्यवस्था गर्नुपर्छ। सदरमुकाममा गएर कोठा भाडामा तिरेर पढ्ने पैसा हुँदैन। आफ्नै पालिकामा पढौं भने भौगोलिक विकटता र असहजता छ। १२ कक्षासम्मको अध्ययन गर्नका लागि २ सयभन्दा बढी विद्यार्थी अट्ने गरी एक पालिका एक आवासीय विद्यालय हुनुपर्छ। माध्यमिक तहमा विषयगत दरबन्दी वृद्धि गरिनुपर्छ।
शिक्षामा राज्यले बजेट वृद्धि गर्नुपर्छ। अहिले भइरहेको भन्दा २० प्रतिशत लगानी वृद्धि गर्नुपर्छ। उच्च शिक्षाका विश्वविद्यालयहरुलाई अनुसन्धान केन्द्रका रुपमा लैजानुपर्छ।
राज्यको लगानीमा आज पनि एमफिल र पिएचडीका कार्यक्रमहरु नेपाल सरकारको लगानीमा छैनन्। सरकारकै लगानीमै एमफिल र पिएचडीका कार्यक्रमहरु राखिनुपर्छ। त्रिभुवन विश्वविद्यालयमा पढाइ हुने एमफिल र पिइएचडी पनि नीजि क्षेत्रबाट पढाइएको छ। राज्य यस्ता ठाउँहरुबाट सच्चिनुपर्छ।
जब शिक्षा बलियो हुन्छ, त्यति बेला विकासको गति नयाँ ढंगबाट अघि लैजान सकिन्छ। आज हाम्रो राज्यको रेकर्डमा ९५ प्रतिशत साक्षार भन्छौं। यो केबल रेकर्डमा मात्र छ। विद्यालयमा विद्यार्थी छैनन्। विद्यालयमा विदयार्थी ल्याउने, ल्याएको विद्यार्थी टिकाउने। टिकेको विदयार्थीलाई भोलि समाजमा टिक्न सक्ने बनाउने। यस प्रकारको शिक्षामा राज्यको नीति आवश्यक छ।
आज पनि नेपालमा २०२८ सालको शिक्षा ऐन नै कार्यान्वयनमा रहेको अवस्था छ। हामी गणतन्त्रमा छौं। संविधान ल्याएको पनि ७/ ८ वर्ष भइसक्यो। तर शैली पुरानै भयो।
अर्का कुरा, नेपालमा धेरै बालबालिका अनाथ छन्। बुबाआमाविहीन भएर बस्नु परेको छ। राज्यले एसइईसम्म पढाउँछ। एसइई गरेको भोलिपल्ट ती विद्यार्थी कहाँ जान्छन्? न राज्यले खोजी गरेको छैन। न रेकर्डमा नै छन्। ती बालबालिकालाई कम्तीमा पनि ११/१२ कक्षासम्म पढ्नका लागि कानुन बनाउनतिर मेरो पहल हुनेछ।
तपाईंले कस्ता कानुन आवश्यक देख्नुभएको छ?
म जननिर्वाचित भएको छु। मैले अध्ययन गर्नुपर्ने हुन्छ। कुनकुन कानुन कसरी निर्माण गर्ने भन्ने विषयमा अध्ययन गर्नुपर्छ। मैले अघि पनि भनें, नेपालमा संघीय शिक्षा ऐन अबिलम्व जारी हुनुपर्छ।
अभिभावकविहीन बालबालिकाको पढ्न पाउने अधिकारलाई ग्यारेन्टी गर्नुपर्छ। कुलतमा फसेका बालबालिका लागि कक्षा १२ सम्म नि:शुल्क पढ्न पाउने ऐन ल्याउने कुरामा पहल गर्नेछु। अन्य नागरिक सरोकारसँग जोडिएका कयौं मुद्दा छन्। ती विषयहरुसँग सम्बन्धित ऐन निर्माणका लागि मेरो पहलकदमी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।