काठमाडौं– गत आर्थिक वर्ष (आव) २०७४/०७५ मा २९ अर्ब रुपैयाँ मूल्य बराबरको धानजन्य वस्तुको आयात भएको छ। कृषि तथा सहकारी मन्त्रालयका अनुसार गत आवमा आयात भएको धानजन्य वस्तुहरु(धान, चामल, कनिका)का लागि तिरिएको मूल्य हेर्दा यो हालसम्मकै सर्वाधिक हो।
पछिल्ला वर्षहरूमा धानको उत्पादन बढ्दै गएको देखिन्छ। उत्पादनको वृद्धिले आयातलाई प्रतिस्थापन गर्नुपर्ने भए पनि तथ्याङ्कमा भने त्यस्तो देखिँदैन। गत आवमा ५१ लाख ५१ हजार ९ सय २५ मेट्रिक टन धान उत्पादन भएपनि ७ लाख ३७ हजार ४ सय ५९ मेट्रिक टन धानजन्य वस्तुहरुको आयात भएको छ। तर आर्थिक वर्ष २०७३/०७४ को भन्दा गत वर्ष धानजन्य वस्तुहरुको आयात भने घटेको छ।
उत्पादन बढेको वर्ष आयात पनि बढ्यो
मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७३/०७४ मा इतिहासमै सबैभन्दा धेरै धान उत्पादन भएको थियो। मन्त्रालयका अनुसार ५२ लाख ३० हजार मेट्रिक टन धान उत्पादन भएकोमा यस वर्ष १० लाख ८६ हजार मेट्रिक टन धानजन्य वस्तु आयात भएको देखिन्छ। मूल्यको हिसाबमा यो २३ अर्ब ८७ करोड रुपैयाँ बराबरको हो। चामल खपतका हिसाबले पनि यो वर्ष सबैभन्दा माथि छ।
आव २०७२/०७३ मा ४२ लाख ९९ हजार मेट्रिक टन धान फल्दा ७ लाख ४४ हजार मेट्रिक टन धानजन्य वस्तु आयात भएको थियो। त्यसको अघिल्लो वर्ष आव २०७१/०७२ मा ४७ लाख ८८ हजार मेट्रिक टन धान फल्दा ११ लाख ८९ हजार मेट्रिक टन आयात भएको थियो।
धान आयात नै झन्डै ६ अर्बको
मन्त्रालयका अनुसार गत आवमा धान आयात नै करिब ६ अर्ब रुपैयाँ मूल्य बराबरको छ। गत आवमा ५ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बराबरको धान आयात भएको छ। यो कुल धानजन्य वस्तु आयातको १९ दशमलव ९३ प्रतिशत हिस्सा हो।
यस्तै गएको एक वर्षमा २२ अर्ब ७७ करोड रुपैयाँ मूल्य बराबरको प्रशोधन गरिएको चामल (मिल्ड राइस) आयात भएको छ। यो कुल धानजन्य वस्तु आयातको ७७ दशमलव ५७ प्रतिशत हिस्सा हुन आउँछ।
२ दशमलव ५० प्रतिशत भने कनिका (ब्रोकन राइस) का रुपमा आयात भएको छ। यसको मूल्य ७३ करोड ४९ लाख रुपैयाँ छ।
सरकारले भन्सार बिन्दुमा लगाउने कर चामलमा भन्दा धानमा कम छ। सरकारले चामलमा ८ प्रतिशत र धानमा ५ प्रतिशत कर लगाउँछ।
आधा आयात भारतबाटै
मन्त्रालयका अनुसार नेपालमा आयात हुनेमध्येमा आधा हिस्सा चामल भारतबाटै आउँछ। बाँकी चामल भने जापान, थाइल्यान्ड लगायतका मुलुकबाट भित्रिने गरेको छ। भारतसँगको खुला सिमाना, नेपालको समग्र व्यापार प्रवृत्ति भारतसँगै रहेको लगायतका कारण भारतबाट हुने चामलको आयात पनि बढेको देखिन्छ।
भन्सार दर बढ्दा आयात मूल्य बढ्यो
गत आवमा मूल्यका हिसाबले हालसम्मकै उच्च आयात भएको देखिन्छ। प्रति मेट्रिक टनमा भन्सार महशुल (एकाइ मूल्य) बढ्दा आयातका लागि धेरै मूल्य परेको मन्त्रालयले तयार गरेको प्रतिवेदनमा उल्लेख छ।
गत आवमा प्रति मेट्रिक टन एकाइ मूल्य ३९ रुपैयाँ ८२ पैसा थियो। यो प्रति मेट्रिक टनको एकाइ मूल्य हालसम्मकै उच्च हो।
आव २०७३/०७४ मा यस्तो मूल्य २१ रुपैयाँ ८२ पैसा थियो भने आव २०७२/०७३ मा ३० रुपैयाँ ६२ पैसा थियो। यसअघि आव २०७१/०७२ मा २१ दशमलव २३, आव २०७०/०७१ मा १९ दशमलब ६६ रुपैयाँ र आव २०६९/०७० मा यस्तो भन्सार महशुल २० दशमलव १५ रुपैयाँ थियो।
मन्त्रालयको दावी–नेपालको धान भारत जाँदैन
नेपालमा उत्पादित धान अनौपचारिक माध्यमबाट भारत जाने र त्यसको आधिकारीक आँकडा नरहने तर, भारतबाट आयात हुने चामलको परिमाण भन्सारमा अभिलेख रहने हुँदा चामलको आयात बढेको विज्ञहरुले दावी गर्दै आएका छन्। मन्त्रालयले भने यसलाई खण्डन गरेको छ। तर, नेपाल र भारतबीचमा त्यस्तो व्यापार नभएको ठहर मन्त्रालयको छ।
मूल्य अन्तरका कारण नेपालतिर अनौपचारिक ढंगले चामलको आयात हुने विषयमा मन्त्रालयले भनेको छ, ‘सीमा क्षेत्रमै नेपालमा भन्दा भारतमा प्रतिकिलो २ रुपैयाँ सस्तोमा चामल पाइन्छ।’
यस्तो छ विगत ६ आवको धानको उत्पादन र धानजन्य वस्तुको आयातको तथ्याङ्क:

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।