काठमाडौं– टिप्पर चालकलाई अनुशासित बनाउने ट्राफिक प्रहरीको अभियान असफल देखिएको छ। टिप्परको कारण फेरि उपत्यकामा एक महिलाले ज्यान गुमाएकी छिन्।
थसिखेलमा मंगलबार नम्बर नखुलेको टिप्परको ठक्करबाट नुवाकोट मुलाबारी–३ घर भई हाल थसिखेल बस्ने ३६ वर्षीया शलिनाकुमारी विश्वकर्माको मृत्यु भएको हो। ठक्करबाट पैदलयात्री सिन्धुली कुशेश्वर दुम्जा घर भई हाल ललितपुर कुसुन्ती बस्ने ३६ वर्षीया लेखराज रम्तेल घाइते भएका छन्।
मंगलबार बेलुका बाटो काट्ने क्रममा उनीहरुलाई तिव्र गतिमा आएको टिप्परले ठक्कर दिएको थियो।
गम्भीर घाइते भएकी शालिनाकुमारीको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। घाइते रम्तेलको अवस्था सामान्य छ।
पानी परिरहेको बेला अध्यारो सडकमा दुर्घटना भएको प्रहरीले जनाएको छ।
ठक्कर दिएको आशंकामा सातदोबाटो प्रहरीले ४ वटा टिप्पर नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ।
भैंसेपाटीमा मोटरसाइकलको ठक्करबाट एकको मृत्यु
बुधबार बिहान भैंसेपाटीमा बा.९६ प २८१३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल गाउँपालिका–६ घर भई हाल भैंसेपाटी नयाँबजार बस्ने ६६ वर्षीय रामहरि पौडेलको मृत्यु भएको छ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।