काठमाडौं– निसान खड्काको अपहरणपछि हत्या र उनलाई अपहरण गर्ने अपहरणकारीहरुको ‘इन्काउन्टर’ घटनाप्रती राष्ट्रिय मानवअधिकार आयोगले चासो देखाएको छ। घटनाको विषयमा बुझ्न आयोगले प्रहरीले बोलाएको छ।
मंगलबार आयोगमा पदाधिकारीहरुबीच भएको छलफलपछि प्रहरीलाई बोलाइएको हो। आयोगका सदस्य सुदीप पाठकका अनुसार बुधबारका लागि महानगरीय प्रहरी आयुक्त डिआइजी मनोज नेउपानेलाई आयोगमा बोलाइएको छ।
‘बलात्कार तथा हत्याका घटनाहरु बढीरहेका छन्, सुरक्षा अवस्था खस्किएको जस्तो देखिएको छ,’ पाठकले नेपाल लाइभसँग भने,‘शान्ति सुरक्षा खस्किनु भएको मानव अधिकारसँग सम्बन्धित विषय भएकाले हामीले यसमा चासो राखेका हौं।’
काँडाघारीबाट अपहरणमा परेका ११ वर्षिय खड्का आइतबार बेलुका नै अपहरणकारीले हत्या गरेका थिए। यो घटनामा प्रहरीको सूचना संयन्त्र निकै कमजोर देखिएको आयोगका सदस्य पाठक बताउँछन्।
अपहरणमा संलग्न सिन्धुपाल्चोकका अजय तामाङ र नुवाकोटका गोपाल तामाङ सोमबार प्रहरी ‘इन्काउन्टर’मा मारिएका छन्।
दुवै विषयमा यथार्थ बुझ्न आयोगले प्रहरीलाई बोलाएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।