काठमाडौं– प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको सोमबार बसेको पहिलो बैठकले उक्त समिति मातहत रहेका मन्त्रालय, विभाग र अन्य तहमा कार्यरत सरकारी र गैरसरकारी निकायहरुको कामको छानबिन गर्ने निर्णय गरेको छ।
सोमबार सिंहदरबारमा जेष्ठ सदस्य मानबहादुर विकको नेतृत्वमा बसेको बैठकले उक्त निर्णय गरेको हो। प्रतिनिधिसभाबाट पठाइएको चिकित्सा शिक्षा विधेयकलाई स्वीकार गर्ने निर्णय पनि समितिको बैठकले गरेको छ।
बैठकले समिति मातहत रहेका तीन वटा मन्त्रालय र त्यहाँका अन्य निकायहरुमा काम गरिरहेका एनजिओ र आइएनजिओको विवरण माग गर्ने निर्णय गरेको जेष्ठ सदस्य विकले बताए। उक्त समितिमा शिक्षा, विज्ञान तथा प्रविधि, स्वास्थ्य तथा जनसंख्या र युवा तथा खेलकुद मन्त्रालयको क्षेत्राधिकार पर्छ।
सरकारी बजेट खर्च गर्दा यी मन्त्रालयहरुमा हुने विकृतिहरुको पनि समितिले अध्ययन गर्ने निर्णय गरेको उनले जानकारी दिए। समितिका सदस्य विकका अनुसार १० दिनभित्र सबै निकायलाई उनीहरुसँग रहेका यस्ता संस्थाहरुको विवरण माग गर्ने निर्णय भएको छ।
मन्त्रालय र मातहतका निकायमा एनजिओ ,आइएनजियोबीचको सम्बन्ध र नीतिका बारेमा तथा हालसम्म गरेका कामहरुको विवरण माग्ने निर्णय समितिको पहिलो बैठकले गरेको सचिव जीवराज बुढाथोकीले बताए। यसअघि शिक्षा र स्वास्थ्य, महिला बालबालिका समितिको कार्यक्षेत्र परेकाले विगतका निर्णय माग्ने र अध्ययन गर्ने निर्णय समेत गरेको उनले बताए।
यसैबीच चिकित्सा शिक्षा विधेयक संसदको शिक्षा तथा स्वास्थ्य समितिमा पुगेको छ।
बैठकले विधेयक माथिको छलफलबारे भने हाल कुनै निर्णय नगरेको सभापति विकले बताए। ‘भर्खर विधेयक प्राप्त भएकाले स्वीकार गरियो तर कहिले देखि छलफल थाल्ने कुनै निर्णय भएन।,’ जेष्ठ सदस्य विकले भने, ‘अर्को बैठकले यसबारे निर्णय लिनेछ।’
समितिको सभापति चयनको प्रक्रिया सुरु भएमा विधेयकमाथिको छलफल ढिलो हुने नत्र अर्को बैठकबाट सुरु हुने समितिका सचिव बुढाथोकीले बताए। सोमबार पहिलो बैठक बसेर औपचारीक रुपमा समितिको काम मात्र सुरु गरेको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।