काठमाडौं– प्रधानन्यायधीशमा अस्वीकृत भएका सर्वोच्च अदालतका कामु प्रधानन्याधीश दीपकराज जोशी आजदेखि बिदामा बस्ने भएका छन्। १५ दिनको बिदाका लागि निवेदन दिएका जाोशीको बिदा राष्ट्रपति कार्यालयबाट स्वीकृत भइसकेको छ।
संवैधानिक परिषद्ले नयाँ प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस नगरेसम्मका लागि भनेर उनी बिदामा बस्न लागेका हुन्।
संवैधानिक परिषद्ले प्रधानन्याधीशमा सिफारिस गरेका जोशीलाई शुक्रबार संसदीय सुनुवाइ विशेष समितिको बैठकले अस्वीकृत गरेको थियो। उनको शैक्षिक प्रमाणपत्रको विवाद रहेको, विवादास्पद फैसला गरेको तथा सुनुवाईका क्रममा चित्तबुझ्दो जवाफ दिन नसकेको भन्दै उनलाई अस्वीकृत गर्ने निर्णय भएको हो। उनलाई सरकारले राजीनामा दिन समेत अप्रत्यक्ष रुपमा दबाब दिएको छ।
उनी बिदामा बसेपछि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश ओमप्रकाश मिश्रले पेशी तोक्नेछन्। मिश्र नै भावी प्रधानन्याधीश हुने सम्भावना छ। यद्यपी उनले पनि जोशीले जस्तै कतिपय विवादास्पद फैसलाहरु गरेका छन्।
संवैधानिक परिषद्ले नयाँ प्रधानन्याधीशको टुंगो लगाएपछि मात्र जोशीले राजीनामाबारे निर्णय गर्ने योजना बनाएको स्रोत बताउँछ।
यसैबीच जोशीले आफ्ना शैक्षिक प्रमाणपत्रबारे स्वतन्त्र रुपमा छानिबन गर्न माग गरेका छन्। निर्धारित योजनाकै आधारमा आधिकारीक अध्ययन बिना नै आफुलाई अस्वीकृत गरेको उनको दाबी छ।
शनिबार एक प्रेस विज्ञप्ति निकाल्दै उनले यो घटनालाई ‘स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरी न्यायालयलाई बिस्तारै कमजोर बनाई आफ्नो अभिष्ट पूरा गर्ने तत्वहरु सक्रिय भएको चरम अवस्थाको रुपमा समेत बुझेको’ उल्लेख गरेका छन्।
विज्ञप्तिमा उनले प्रमाणपत्रबारे प्रस्ष्टिकरण दिएपनि आफ्ना विवादास्पद फैसलाहरुबारे भने केही बोलेका छैनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।