काठमाडौं- नेपाली कांग्रेस निकट कानुन व्यवसायीले संसदीय सुनुवाइ विशेष समितीले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गरेको घटनाले गलत नजिर स्थापित भएको टिप्पणी गरेका छन्।
डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) का नवनिर्वाचित अध्यक्ष योगेन्द्र अधिकारीले जोशीको सुनुवाइमा समितीले षड्यन्त्रपूर्ण रुपमा निर्णय लिएको आरोप लगाए।
उनले साउन १० देखि शुरु भएको सुनुवाइ प्रक्रियालाई लम्ब्याउने कामलाई गलत प्रणालीको संज्ञा दिए। राजनीतिबाट प्रेरित भएर जोशीको अनुमोदन अस्वीकृत गरिएको अधिकारीको टिप्पणी छ।
सुनुवाइ प्रक्रियाप्रति रुष्ट डिएलएका पूर्व अध्यक्ष यदुनाथ खनालले शुक्रबारको दिनलाई न्यायपालिकाका लागि 'कालो दिन' भएको बताए। ‘न्यायपालिकामाथि निर्मम प्रहार भएको छ। बुढी मरीभन्दा पनि काल पल्क्यो भन्ने हो,’ उनले भने। खनालले शैक्षिक प्रमाणपत्र नक्कली भएको भए छानबिन हुनसक्ने बताउँदै भने, ‘छानबिन गर्ने अधिकार प्राप्त निकाय संसदीय समिती होइन।’ प्रक्रिया मिचेर संसदीय समिती सञ्चालित भएको उनको आरोप छ।
व्यक्ति जोसुकै भए पनि आपत्ती नभएको तर पद्धति मिचिएकोप्रति चिन्ता लागेको उनको भनाइ थियो। उनले सुनुवाइका क्रममा विकसित घटनाले न्यायपालिकामाथि गम्भीर प्रहार भएको बताए।
उनले भने, 'बहुमत प्राप्त सरकारलाई ‘ज्यु हजुर’ भन्ने न्यायाधीशहरु नै प्रधानन्यायाशीश बन्ने गलत नजिर स्थापित भएको छ।' उनले न्यायपालिकामा अबका दिनमा कार्यपालिकाको हस्तक्षेप बढेर जाने भन्दै चिन्ता व्यक्त गरे।
कानुनी शासनको उपहास भन्न मिल्दैनः पूर्व महान्यायधिवक्ता श्रेष्ठ
पूर्व महान्यायधिवक्ता रमणकुमार श्रेष्ठले प्रधानन्यायाधीशमा दीपकराज जोशीलाई अस्वीकृत गर्नुका कारणहरु भएकाले कानुनी शासनको उपहास भन्न नसकिने तर्क गरेका छन्।
संसदीय सुनुवाइ विशेष समितिले आधारसहित नै जोशीलाई अस्वीकृत गरेको हो। न्याय परिषद्ले तीन जनाको नाम पठाउने, संवैधानिक परिषदले एक जनाको नाम सिफारिस गरेपछि संसदीय सुनुवाई गर्ने कानुनी व्यवस्था छ,’ नेकपा निकट रहेका श्रेष्ठले भने, 'संसदीय सुनुवाई समितीले अस्वीकृत गर्न नसक्ने हो भने त्यसको औचित्य हुँदैन।'
सुनुवाइका क्रममा समितीका सदस्यलाई चित्त नबुझेपछि हटाउन सक्ने प्रावधान रहेको उनले बताए। संवैधानिक दायरामा रहेर हटाइएकाले न्यायपालिकामा कार्यपालिकाको हस्तक्षेप भन्न नमिल्ने उनको बुझाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।