काठमाडौं– नेकपाकी सांसद निरुदेवी पाललाई पेस्तोल देखाएर धम्काएको घटनाको अनुसन्धानका लागि प्रहरीले १६ जनालाई हिरासतमा राखी सोधपुछ अघि बढाएको छ। बिहीबार प्रहरीले ७० भन्दा धेरैलाई पक्राउ गरेकोमा १६ जना नियन्त्रणमा छन्।
घटनाको छानबिनका लागि काठमाडौं परिसरका एसपी रामदत्त जोशीको अध्यक्षताका समिति गठन भएको छ। समितिमा बानेश्वर वृत्तका डिएसपी गोविन्द काफ्ले र परिसरका इन्सपेक्टर सुरेन्द्र बिसी सदस्य छन्।
मंगलबार साँझ बानेश्वरस्थित निवासबाट पसलमा निस्किएको बेला आफुलाई पेस्तोल देखाएर संसदीय सुनुवाई समितिको बैठकमा नजान भनिएको र मोबाइल समेत लुटिएकी बताएकी थिइन्। धम्काउनेहरु मोबाइल लुटेर भागेको उनको भनाई थियो। त्यसबारेमा उनले संसद सचिवालयमा लिखित जानकारी समेत दिएकी छिन्। तर, यस्तो गम्भीर विषयमा उनले प्रहरीमा भने जाहेरी भने दिएकी छैनन्।
सांसद पालबाट धम्काएको सम्बन्धी जाहेरी नआएको तर पनि आफुहरुले घटनाको अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताए।
घटनाको अनुसन्धानमा सांसद पालले नै चासो दिएकी छैनन्। जसकारण सो घटना व्यक्तिगत विवादसम्बन्धि हुनसक्ने प्रहरीको आंकलन छ। उनले जाहेरी नदिनु र अनुसन्धानमा चाँसो नराख्दा घटना शंकास्पद बन्न पुगेको छ।
सांसद पाल संसदीय सुनुवाई समितिकी सदस्य हुन्। समितिको बैठकमा नजान आफुलाई धम्काएको बताएपछि प्रहरीले उनीसहितका केही सांसदहरुलाई पिएसओ खटाएको छ।
पेस्तोल देखाउनेहरुले मोबाइल समेत लुटेको उनले बताएकी छिन्। त्यो मोबाइल पहिलेदेखि नै स्वीच अफ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।