काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक उपलब्धीहरुमा आफ्नो सामर्थ्यले भ्याएसम्म प्राप्त गरेको बताएका छन्।
बिहीबार संघीयता कार्यान्वयन र जातीय पहिचानको सवाल नामको अन्तर्क्रिया कार्यक्रममा प्रचण्डले बाँकी उपलब्धीको लागि संघर्ष गर्दै जाने बताए।
'मैले जे गरें, त्यो गर्नुपर्ने थियो', प्रचण्डले भने, 'कैयौं आफ्ना मुद्दाहरुलाई थाती राखेर, स्थगित गरेर प्राप्त हुनसक्नेजति लिने काम गरेको छु मैले। र, मैले अब यति हो, बाँकी पाइँदैन र सकिँदैन भनेको छैन।'
प्रचण्डले लडाइँ नटुंगिएको हेर्दै गर्न आग्रह गरे।
प्रचण्डले नेपाली जनतामा सबैभन्दा ठूलो जागरण र ऐतिहासिक परिवर्तनको निम्ति सबैभन्दा ठूलो संघर्ष र बलिदानको नेतृत्व आफैंले गरेको बताए। 'साथीहरुले फेरि बाहुन नै बाहुन भन्ने तर्क पनि राख्नुभयो', उनले भने, 'सबाल बाहुन क्षेत्री र जाति–जनजातिको होइन। सवाल दृष्टिकोण र विचारकै हो। त्यसैले म सधैं भन्ने गर्छु– मलाई पुष्पकमल दाहाल भन्दा पनि प्रचण्ड मन पर्छ। तर यहाँको उपल्लो वर्गले मलाई सधैं पुष्पकमल दाहाल नै बनाउन मरिहत्ते गरेको छ।'
उनले १७ हजारको बलिदानमा सबै भाषाभाषी जातजातिले योगदान दिएको बताए। 'ममाथि ऋण सबै जातजाति भाषाभाषी वर्ग समूदायको ऋण छ भन्ने बोध छ। पीडा पनि छ', प्रचण्डले भने, 'त्यसैले प्रचण्ड मन पर्छ भनेको नामको कुरामात्रै होइन। नामभित्र विचार, दृष्टिकोण, वर्ग र समूदाय छ।'
उनले आफू प्रचण्ड हुन्छु भनेर नभएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।