काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा एमाले र माओवादी बीचको एकता २१ औं शताब्दीमा घटेको असाधारण परिघटना भएको बताएका छन्।
बिहीबार कम्युनिस्ट नेता तुलसीलाल अमात्यको २१ औं स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले दुई पार्टीबीच एकता गरेर आफूहरुले ००६ सालमा गठन भएको पार्टीलाई नयाँ स्तरबाट अगाडि बढाउने संकल्प हामीले गरेको बताए।
'२०१९ सालबाट विभाजनको पीडा भोगेको कम्युनिस्ट आन्दोलनलाई निषेधको निषेध तरिकाद्वारा फेरि एकतावद्ध गर्ने र नयाँ आधारमा पुनर्संगठित गर्ने महाअभियानको सुरुवात भएको छ। यो राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा निकै ठूलो प्रभाव पार्ने परिघटना हो। यो नेपालमा पार्टी एकता २१ औं शताब्दीमा घटेको असाधारण परिघटना हो', कार्यक्रममा उनले भने।
'तपाईं हामी जीवित मान्छेहरुलाई त लाग्न सक्छ– यो सामान्य कुरा त हो, पार्टी फुटे फेरि मिले। यस्तो त हुँदै गर्छ। तर यो त्यस्तो किसिमको मात्रै छैन। हाम्रो अहिलेको पार्टी एकता र कोष्ठकमा नाम राखेर पुच्छर झुन्ड्याउने प्रक्रियाको अन्त्य गर्छ', उनले भने।
क्रान्तिको यात्रामा यतिबेला कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको प्रचण्डले बताए। 'तर वैचारिक र सैद्धान्तिक हिसाबले हामी आक्रमक स्थितिमै छौं', प्रचण्डले भने, 'यतिबेला हाम्रा अग्रजहरुलाई सम्झिँदा हामीले ध्यान दिनुपर्ने कुरा वैचारिक स्पष्टता नै हो।'
आजभोलि सिद्धान्तको अध्ययन गर्ने कुरा, विचारमा बहस गर्ने कुरा, चिन्तन मनन गर्ने कुरामा कमि आएको भन्दै प्रचण्डले चिन्ता व्यक्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।