काठमाडौं– सरकारले तोकिएकै समयभित्र परियोजनाको काम सम्पन्न गर्न एसियाली विकास बैंक (एडिबी) लाई आग्रह गरेको छ।
अर्थसचिव डा राजन खनालले तोकिएकै समयभित्र परियोजनाको कामलाई सम्पन्न गर्न एसियाली विकास बैंकलाई सचेत गराएका हुन्। उनले समयमै परियोजनाको काम सम्पन्न नहुँदा लगानी बढ्न जानेतर्फ पनि बैंकको गम्भीर ध्यानाकर्षण गराएका हुन्।
बिहीबार काठमाडौंमा आयोजित ‘एडीबीको रिभ्यू मिटिङ’ लाई सम्बोधन गर्दै अर्थसचिव खनालले सरकारले नेपालमा सञ्चालित एडिबीका सबै परियोजनालाई प्रभावकारी बनाउन आवश्यक सहजीकरण गरिरहेको दावी पनि गरे।
कार्यक्रममा बोल्दै एडिबीका देशीय निर्देशक मुख्तोर खमुदखानोभले मेलम्ची खानेपानी आयोजनालगायतका कामलाई सम्पन्न गर्न तिव्रता दिइएको बताए। उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नतिको काममा पनि ढिलाई नहुने जानकारी गराए।
एडीबीले नेपालको पूर्वाधार, खानेपानी, विमानस्थल निर्माणमा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।