काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी ५ वर्षभित्रमा वार्षिक २५ लाखभन्दा बढी पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सार्वजनिक गरेको छ। पर्यटन विकासका लागि ५ वर्षे कार्यदिशा सार्वजनिक गर्दै मन्त्रालयले आगामी ५ वर्षभित्र मुलुकको कुल गार्हस्थ्य उत्पादन (जिडिपी) मा पर्यटन क्षेत्रको योगदान १० प्रतिशत पुर्याउने लक्ष्य तय गरेको छ।
मन्त्रालयका अनुसार हाल वार्षिक १० लाखको हाराहारीमा पर्यटक नेपाल भित्रन्छन्।
त्यस्तै, मन्त्रालयले पर्यटकका लागि सबै जिल्लालाई समेट्नेगरी १ सय वटा प्रमुख गन्तव्य विकास गर्ने लक्ष्य पनि लिएको छ।
आगामी ५ वर्षमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार र सुधार गर्ने मन्त्रालयले जनाएको छ। उक्त अवधिमा नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडानमा ‘न्यारो बडी’ र ‘वाइड बडी’ गरी १० वटा जहाज सञ्चालनमा ल्याउने योजना मन्त्रालयको छ। निगमलाई नेपालको अन्तर्राष्ट्रिय हवाइ व्यापारको ६० प्रतिशत हिस्सासहित प्रमुख बाहक बनाउने कार्यदिशामा उल्लेख छ।
५ वर्षभित्रमै गौतमवुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण कार्य सम्पन्न गरी सञ्चालनमा ल्याइसक्ने योजना पनि मन्त्रालयको छ। त्यसमा पनि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भने आगामी १ वर्षभित्रमै सञ्चालनमा ल्याउने तयारी छ।
भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरूको पुनर्निर्माण सम्पन्न गर्ने, नारायणहिटी संग्राहलयको गुरुयोजना कार्यान्वयन गर्ने तथा राष्ट्रिय जातीय संग्राहलयलाई राष्ट्रिय सांस्कृतिक संग्राहलयमा रुपान्तर गर्ने लगायतका लक्ष्य आगामी ३ वर्षभित्र सम्पन्न गर्ने मन्त्रालयको कार्यदिशामा उल्लेख छ। उक्त अवधिमा लुम्बिनीको केन्जोटांगेको योजना, पशुपतिनाथको बृहत् गुरुयोजना, मुक्तिनाथ, रारा, खप्तड, स्वर्गद्धारी र जनकपुरको गुरुयोजना कार्यान्वयन गर्ने योजना मन्त्रालयको छ।
कार्यदिशा कार्यान्वयनका लागि संघीय सरकारले राष्ट्रिय स्तरका नीति, कानुन, मापदण्ड तथा गुरुयोजना तर्जुमा गर्ने, प्रदेश सरकारले प्रादेशिक स्तरका पर्यटकीय स्थलको गुरुयोजना, पूर्वाधार विकास तथा पर्यटन सेवा प्रवाह गर्ने र स्थानीय तहले पर्यटकीय क्षेत्रको व्यवस्थापन र दीगो सञ्चालन गर्ने कार्यदिशा मन्त्रालयको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।