काठमाडौं– निक्षेप तथा कर्जा सुरक्षण कोषले सुरक्षण शुल्क रकम लक्ष्यभन्दा बढी संकलन भएको जनाएको छ।
निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रले कोषले अनुमानित लक्ष्यको तुलनामा सुरक्षण रकम र सुरक्षण शुल्क दुवै बढेको बताए। उनले भने, ‘कोषले यसपटक वार्षिक लक्ष्यभन्दा सुरक्षण रकममा १०७ दशमलब ६८ प्रतिशत र सुरक्षण शुल्कमा १०१ दशमलब ६१ प्रतिशत प्रगति गरेको छ।’
कोषले आर्थिक वर्ष २०७४/७५ मा ८१ करोड २८ लाख ५६ हजार ४ सय ५७ रुपैयाँ संकलन गरेको छ। अघिल्लो आर्थिक वर्षमा निक्षेप सुरक्षण शुल्कबापत १ अर्ब ७ करोड रुपैयाँ संकलन भएको थियो। यो रकम अघिल्लो आवको तुलनामा २६ प्रतिशतले कम हो।
मिश्र भन्छन्, ‘गत वर्षको १२ महिने तथ्यांकलाई अघिल्लो वर्षको १८ महिने तथ्यांकसँग तुलना गरेकाले नकारात्मक देखिए पनि समग्रमा तथ्यांक सकारात्मक छ।’
बैंक तथा वित्तीय संस्थाले कोषमा आफ्ना निक्षेपकर्ताको २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्नुपर्छ। यसरी निक्षेप सुरक्षण गरेबापत कोषले निश्चित शुल्क लिँदै आएको छ।
गत आवमा कोषले वाणिज्य बैंकमा रहेको निक्षेपको सुरक्षण गरेबापत ६७ करोड ७८ लाख ९५ हजार रुपैयाँ शुल्क संकलन गरेको छ। त्यस्तै, विकास बैंकका निक्षेपकर्ताको निक्षेप सुरक्षण गरेबापत कोषले ११ करोड ७६ लाख १५ हजार रुपैयाँ शुल्क संकलन गरेको छ।
वित्त कम्पनीबाट भने कोषले १ करोड ५८ लाख ६७ हजार रुपैयाँ संकलन गरेको छ। यता लघुवित्त विकास बैंकमा जम्मा भएको निक्षेपको सुरक्षण गरेबापत कोषले १४ लाख ७९ हजार रुपैयाँ शुल्क संकलन गरेको छ।
निक्षेप तथा कर्जा सुरक्षण कोष ऐन, २०७३ को दफा १९ अनुसार कोषले प्रत्येक सुरक्षित सदस्य संस्थामा खोलिएका प्रत्येक प्राकृतिक व्यक्तिको निक्षेप खातामा रहेको २ लाख रुपैयाँसम्मको निक्षेप सुरक्षण गर्नेछ। कोषमा निक्षेप सुरक्षण गराएबापत बैंक तथा वित्तीय संस्थाको सुरक्षण हुने निक्षेपको शून्य दशमलव २ प्रतिशत अर्थात् प्रतिसय रुपैयाँमा २० पैसाका दरले वार्षिक सुरक्षण शुल्क तोकिएको छ।
कुन कार्यक्रमबाट कति कर्जा सुरक्षण?
कोषले गत वर्ष कर्जा सुरक्षण बापत १ करोड ३० लाख १९ हजार १ सय ३४ रुपैयाँ संकलन गरेको मिश्रले जनाए। कोषले यस अवधिमा १ लाख ९५ हजार ७ सय ८३ वटा कर्जा सुरक्षण गरेको छ।
कोषले सबैभन्दा बढी लघुवित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण बापत रकम असुली गरेको छ। यस अवधिमा १ करोड १ लाख २६ हजार २ सय २० रुपैयाँ कर्जा सुरक्षण रकम असुली गरेको छ।
त्यस्तै, कृषि कर्जा अन्तर्गत १४ लाख ४४ हजार ८ सय १९ रुपैयाँ सुरक्षण गरेको छ। साना तथा मझौला उद्यम कर्जा अन्तर्गत ८ लाख ९ हजार ५ सय ५७ रुपैयाँ कर्जा सुरक्षण रकम संकलन गरेको छ। त्यस्तै, पशुधन अन्तर्गत ४१ हजार ९ सय ११ रुपैयाँ कर्जा सुरक्षण रकम प्राप्त गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।