काठमाडौं- सरकारले मेनपावर कम्पनीको धरौटी रकम बढाए ३ महिनासम्म कामदारको अन्तिम र पूर्व श्रम स्वीकृति नलिने रोजगार व्यवसायीहरुले चेतावनी दिएका छन्।
बुधबार गौशालस्थित अनुपम पार्टी प्यालेसमा भएको वैदेशिक रोजगार व्यवसायी संघको भेलाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले धरौटी बढाए श्रम स्वीकृति ३ महिनासम्म रोकेर कामदार पठाउन ठप्प पार्ने निर्णय गरेको हो।
सरकारले मेनपावर कम्पनीहरुको हाल कायम रहेको धरौटी रकम बढाएर ५ करोड रुपैयाँ पुर्या्उने तयारी थालेपछि व्यवसायीहरु आन्दोलित बनेका हुन्।
रोजगार व्यवसायीहरुको भेलाले धरौटीका विषयमा श्रममन्त्री गोर्कण विष्टसँग छलफल गर्न कार्यसमितिसमेत गठन गरेको संघले जनाएको छ।
रोजगार व्यवसायीको हितका लागि जस्तोसुकै परिस्थित आइपरेर पनि अन्तिमसम्म लड्ने संघका अध्यक्ष रोहन गुरुङले बताएका छन्।
भेलालाई सम्बोधन गर्दै अध्यक्ष गुरुङले श्रममन्त्री विष्टसँग छलफल गर्ने नभए आन्दोलन गर्न पनि पछि नहट्ने बताएका थिए।
सरकारले वैदेशिक रोजगारीका विषयमा व्यवसायीसँग कुनै छलफल र परामर्श नगरी धरौटीको रकम बढाए मन्त्रालयमा लाइसेन्स बुझाएर कामदार पठाउन ठप्प पार्ने व्यवसायीहरुले जनाएका छन्।
उनीहरुले सरकारले अघि सार्न खोजेको मेनपावर कम्पनीलाई मर्ज गर्ने विषयको पनि विरोध गरेका छन्।
व्यवसायीले अहिले ७ लाख नगद र २३ लाख रुपैयाँको बैंक ग्यारेन्टी धरौटीका रुपमा राखेपछि मेनपावर व्यवसाय सञ्चालन गर्न पाउँछन्। तर, सरकारले बैंक ग्यारेन्टीसहित ५ करोड रुपैयाँ बराबरको धरौटी लिने व्यवस्था लागू गर्न खोजेको छ।
धरौटी रकम कम हुँदा ठगी गर्ने मेनपावरबाट कामदारलाई क्षतिपूर्ति दिलाउन समस्या भएको श्रम मन्त्रालयको बुझाइ छ।
भेलामा १२ सयभन्दा बढी रोजगार व्यवसायी सहभागी भएको संघले जानकारी दिएको छ। संघको भेलाकै क्रममा नेपाली कांग्रेस निकट मानिने व्यवसायीहरुले संघले सरकारसँग आफ्ना कुरा स्पष्ट राख्न नसकेको भन्दै अध्यक्ष गुरुङ विरुद्ध नाराबाजीसमेत गरेका थिए। संघमा नेकपा निकट मानिने व्यवसायीहरुको बाहुल्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।