कैलाली– प्रदेश ७ सरकारले आर्थिक वर्ष २०७४/०७५ को अल्पकालीन बजेटको ५४ प्रतिशत मात्र खर्च गर्न सकेको छ।
प्रदेश सरकारले गत आर्थिक वर्षको अन्तिम तीन महिनाका लागि १ अर्ब २ करोड ५ लाख रुपैयाँको अल्पकालीन बजेट ल्याएको थियो।
मंगलबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित एक कार्यक्रममा अल्पकालीन बजेटमध्ये अर्थ विविध शिर्षकको रकम घटाउँदा पूँजीगत र चालू खर्च गरी ५४ दशमलब ०३ प्रतिशत खर्च भएको जानकारी दिइएको छ।
सरकारले अर्थ विविध शिर्षकको रकमबाहेक ४८ करोड ८ लाख ६८ हजार रुपैयाँमध्ये २५ करोड ९८ लाख १७ हजार रुपैयाँ मात्र खर्च गर्न सकेको छ। अर्थ विविधमा ५३ करोड ८५ लाख ३८ हजार रुपैयाँ विनियोजन गरिएको थियो।
प्रदेश ७ का सबै मन्त्रालयद्धारा आर्थिक वर्ष २०७४/०७५ मा सञ्चालित कार्यक्रम, तर्जुमा भएका नीति तथा कानून र भौतिक पूर्वाधार तथा कर्मचारी व्यवस्थापन समेतको सम्वन्धमा मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा बसेको प्रदेश स्तरीय समिक्षा बैठकले प्रदेश गठनको प्रारम्भिक समयको उपलब्धिको रुपमा लिएको जनाएको छ।
सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा काननमन्त्री प्रकाशबहादुर शाहले बजेटको समिक्षा गर्दै ‘हेलो सिएम’ कार्यक्रममार्फत गुनासो व्यवस्थापनलाई प्रदेशभर सघनरुपमा प्रचार गरी चालु आर्थिक वर्षमा कार्ययोजना बनाई कार्यान्वयन गरिने बताए।
उनले गत आर्थिक वर्ष तथा चालु आर्थिक वर्षको पहिलो महिनाको हालसम्म प्रदेश सरकारले २१ वटा कानुन जारी गरेको, १२ वटा कानुन अग्रीम कार्यान्वयनको चरणमा रहेको र करिब दुई दर्जन नीति एवम् कानुनहरु तत्काल तर्जूमा गर्न सम्वद्ध विषयगत मन्त्रालयहरुबाट मन्त्रिपरिषद् समक्ष सैद्धान्तिक सहमति लिन अवधारणा पत्र तयार भइरहेको जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।