काठमाडौं- सरकारी निकायको लेखापरीक्षण गर्ने संवैधानिक आयोग महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष (आव) २०७४/७५ को लेखा परीक्षण सुरु गरेको छ।
महालेखा परीक्षक टंकमणि शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मंगलबार भेटी गत आवको लेखापरीक्षणको काम आजैबाट सुरु गरिएको जानकारी गराएका हुन्।
मंगलबार सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजना गरिएको बैठकमा महालेखा परीक्षकको कार्यालयले गत आवको लेखा परीक्षण कार्ययोजना सार्वजनिक गरेको थियो।
माघ मसान्तभित्र सम्पन्न हुनेगरी लेखापरीक्षणको काम सुरु गरिएको महालेखा परीक्षक शर्माले जानकारी दिए।
चैत्र मसान्तभित्र राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस हुनेगरी महालेखा परीक्षकको कार्यालयले लेखा परीक्षणको काम सुरु गरेको कार्ययोजनामा उल्लेख छ।
महालेखाले लेखासम्बन्धी सबै विवरण दुरुस्त राख्न उत्तरदायी लेखा अधिकृतका रुपमा रहेका सबै मन्त्रालयका सचिव र सम्बन्धित सबै निकायलाई निर्देशन दिएको छ। महालेखा परीक्षक शर्माले लेखा अन्तर्गत भौतिक परीक्षणको काममा सघाउ पुर्याउन पनि सम्बन्धित निकायलाई सचेत गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।