काठमाडौं– गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्द्वारा प्रत्येक वर्ष गैरआवासीय नेपाली लेखकद्वारा लेखिएको सर्वोत्कृष्ट कृतिलाई प्रदान गरिने २ लाख राशिको ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’का लागि ५ कृतिहरु मूल्यांकन समितिले सिफारिस गरेको छ। जसमा चेतनाथ आचार्यको ‘रूइबा’ उपन्यास, नगेन्द्र न्यौपानेको ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’ नियात्रा सङ्ग्रह, अजित उत्सवको ‘आकाश गंगाको किनार’ कविता सङ्ग्रह, दीपा मेवाहाङ राईको ‘यादको सन्दुक’ कविता सङ्ग्रह र काङमाङ नरेश राईको ‘तेप्लायु’ कविता सङ्ग्रह परेका छन्।
उत्कृष्ट पाँचमध्ये चेतनाथ आचार्यको उपन्यास ‘रूइबा’ले तामाङ संस्कृतिमा गहिरो पहुँच राखेको आभास हुन्छ। उपन्यासमा ‘न्याउली’ नामक महिला पात्रको जीवनपर्यन्तको संघर्षलाई मिहिन किसिमले प्रस्तुत गरिएको छ। सोझा व्यक्तिहरूलाई वैदेशिक रोजगारीको नाममा कसरी तस्करीमा समेत प्रयोग गरिन्छ भन्ने कथा ‘रूइबा’मा उल्लेख छ।
सरल, कलात्मक र मिठासपूर्ण भाषामा लेखिएको नगेन्द्र न्यौपानेको नियात्राहरूको संग्रह हो, ‘बर्मा र थाइल्यान्डभित्र नेपाल’। यसमा कतिपय ठाउँमा वैचारिक निबन्धको बान्की समेत भेटिन्छ। यस संग्रह भित्रका नियात्राहरू छिचोल्दै गर्दा पाठकलाई आफूले नदेखेको, तर आफूजस्तै नेपालीहरूको अर्को समाजको भित्री तहमा पसेको रोचक अनुभूति हुन्छ। समाजभित्र पसेर त्यहाँको सुख, दुःख, प्राप्ति र छट्पटीलाई पर्गेल्ने कलामा लेखकको क्षमता विलक्षण लाग्छ।
वर्तमान समयमा लेखिँदै गरेका कवितामा आक्रोश बढी मुखर भएर कलात्मक ओज घट्दै गएको हो कि भन्ने आभास भैरहेका बेला काङमाङ नरेश राईको कविता-कृति ‘तेप्लायु’का सजिला, तर कलात्मक कविताले निकै आशा जगाउँछन्। विभिन्न उपशीर्षक संग्रहित यी कवितामा कविको सामाजिक, राजनीतिक चेतसंगै वृहत्तर मानवीय चेत पनि बलियो गरी प्रकट भएको छ।
दीपा मेवाहाङ राईको कविता संग्रह ‘यादको सन्दुक’मा जीवन, प्रेम र समाजसित जोडिएका स्मृतिजन्य सुकोमल भावहरूलाई कुशलतापूर्वक काव्यिक धरातलमा उभ्याइएका छन्। यस संग्रहका कविताहरू सरल भैकन पनि दार्शनिक चेतले भरिएका छन्।
अजित उत्सवको ‘आकाशगंगाको किनार’का कविताहरूमा युगौंदेखि नेपाली समाजमा गुजुल्टिएर रहेका विभेद, तिरस्कार अनि अन्यायको विरोध र पहिचानको खोजीमा संघर्षरत् आवाजहरू कतै गुनासा र कतै आक्रोश भएर अभिव्यक्त भएका छन्।
अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिको बैठकले थप अध्ययन गरेर सर्वोत्कृष्ट कृति छनोट गरी ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।