काठमाडौं– वरिष्ठ गायक आनन्द कार्कीले थाइ नेपाली संघ संस्कृति विभागको आयोजनमा च्यारिटी शो गर्ने भएका छन्।
थाइल्यान्डमा बसोबास गर्दै आएका नेपाली मूलका नागरिकहरुले सेवा गर्ने उद्देश्यले उक्त च्यारिट गर्न लागेका हुन्। ‘भदौ ११ गते विजया दशमी’ साँझ नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रममा कार्कीले आफ्ना चर्चित गीतहरु सुनाउने छन्।
उनले ‘भाकेर बर पिपलु, लाग्छ मन हेरी रहूँ, जनम जनम जिउँला सँगै, फेरि तिम्रो याद आयो, तिम्रो रुपको’ जस्ता थुप्रै गीत सुनाउने छन्। यसरी च्यारिटीबाट उठेको पैसाले बर्मा र थाइल्यान्डमा बसोबास गरिरहेका व्यक्तिहरुको सहयोगमा खर्च गरिने थाइ–नेपाल संघका पूर्व अध्यक्ष कुमार कार्कीले बताए।
कार्यक्रममा नेपाली मूलका बर्मेलीहरुले सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गर्नेछन्। थाइ–नेपाल संघले सामाजिक क्षेत्रमा यसअघिदेखि विभिन्न कार्यक्रम गर्दै आएको छ।
नेपालमा २०७२ सालको भूकम्पको समयमा पनि संघले सहयोग गरेको थियो। सिन्धुपाल्चोकको माझी गाउँमा एकीकृत बस्ती निर्माणदेखि अन्य काम गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।