काठमाडौं– भोटाहिटीबाट असन छिर्ने बाटोको छेउ। हरेक दिनजसो एक वृद्धा नाङ्लो थापेर बसेकी हुन्छिन्। नाङ्लोभरी कहिले अमला हुन्छ, कहिले तितौरा। कहिले बदाम (मूंगफली) त कहिले कागती हुन्छ। नाङ्लोसँगै छेउमा गुट्खादेखि, चुरोट, नमकिन, कुरकुरे, चिजबल बच्चाहरुले खाने ‘ललिपप’ पनि राखेकी छन्।
बाटो भएर ओहोर–दोहोर गर्ने मानिसतिर आशा भरिएका नजर डुलाउँदै हेर्छिन्। कसैका पाइला रोकिए भने सोधिहाल्छिन्– हेर्नोस् नानी, के लानुहुन्छ?
उमेरले ८० कटिसकेकी हरिमाया शाही खड्की हुन् उनी। भोटाहिटीकी स्थायी बासिन्दा हरिमायाले सोही क्षेत्रमा नाङ्लो थापेर सामान बेच्न थालेको ६० वर्ष भइसक्यो।
हरेक साँझ ५ बजेपछि छोरासँगै घरबाट निस्किन्छिन्। उनका सामान छोरा श्यामले बोकेर सडक छेउ (फुटपाथ)सम्म पुर्याइदिन्छन्। उनी नाङ्लोमा मिलाएर राख्छिन्। आँखाले उज्यालो देखुञ्जेलसम्म सडकमा सामान बेच्छिन्। गर्मीको समयमा ८ बजेसम्म र हिउँदमा ७ नबज्दै सामान प्याक गर्छिन्। छोरा श्याम आउँछन्, बिक्री नभएर बचेका सामान बोकेर घर लान्छन्।
बाध्यताबाट सुरु भएको फुटपाथ व्यापार, अहिले त बानी भइसक्यो!
कीर्तिपुरमा जन्मिएकी हरिमायाको विवाह भने भक्तपुर भयो। विवाह पछिको २/४ वर्ष भक्तपुरमै बसिन्। खेतीकिसानी गरेर गुजारा चलाउनुपर्ने।
खानलाई ठिक्कै हुने खेतीकिसानीले लाउनका लागि भने धौ–धौ पर्ने। खानलाउनलाई राम्रैगरी पुगोस् भनेर श्रीमान्ले व्यापार गर्ने सोच बनाए। श्रीमान्को व्यापार गर्ने सोचसँगै उनको परिवार भक्तपुरबाट काठमाडौंको भोटाहिटी सर्यो। श्रीमान्ले व्यापार पनि सुरु गरे। तर, भनेको जस्तो भएन।
हरिमायाले १० सन्तानलाई जन्म दिइन्। तर ६ जना छोराछोरी शिशु अवस्थामै मरे। कोही निमोनिया भएर मरे। कोही सामान्य बिरामी भएरै मरे। बल्लतल्ल बाँचेका ४ जना छोराछोरीको लालनपालन गर्नुपर्ने। श्रीमान्को व्यापार राम्रो नचलेपछि उनले फुटपाथमा सामान बेच्न सुरु गरिसकेकी थिइन्।
उमेरले २० वर्षको हुँदा फुटपाथको व्यापार थालेकी हरिमायाले बेच्ने धेरै सामान फेरिए। पहिला उनी नाङ्लोमा राखेर बिँडी बेच्थिन्। पछि बिँडी पिउनेको स्वाद फेरिएर चुरोटमा सर्यो, उनको नाङ्लोमा पनि चुरोटको संख्या बढ्न थाल्यो।
सूर्तिजन्य पदार्थ खुला रुपमा बेच्न नपाइने नियम आयो। उनले नाङ्लोबाट चुरोट हटाएर छेउमा राखिन्। नाङ्लोमा भने सिजनअनुसारका उत्पादनहरु अटाउन थाले, कहिले अमला, कहिले लिची। कहिले स्ट्रबेरी, कहिले तितौरा, उनको नाङ्लोमा अटाउन थाले। हिउँदमा चना र बदाम पनि बेचिन्।
‘पहिले त परिवार पाल्न यसरी सामान नबेची हुँदैन थियो। बाध्यता थियो नि नानी!’ हरिमायाले सुनाइन्।
श्रीमान् गम्भीर रोगले थलिए। उपचारका लागि धेरै ठाउँ धाइयो, तर बचाउन सकिनन् हरिमायाले। श्रीमान् नभएपछि एक्लैले छोराछोरी हुर्काउनु पर्यो। फुटपाथमा सामान बेचेर जोडेको ‘२/४ पैसा’ले नै ३ छोरा र १ छोरी हुर्काइन्। घरखर्चदेखि छोराछोरीको पढाइखर्च, सबै फुटपाथकै व्यापारले धानेकी थिइन् उनले।
अहिले छोरा–छोरी आ–आफ्नो इलममा छन्। परिवारिक खर्च छोराछोरीकै कमाइले चलिहाल्छ। तर, हरिमायाको मन मान्दैन।
‘जीवनभरी काम गरेर खाएको बानी। त्यत्तिकै घरमा त कसरी बस्नु नानी!’ उमेरले ८० कट्दा पनि फुटपाथमा बस्नुपर्ने ‘बाध्यता’बारे सुनाउँछिन् हरिमाया।
अहिले उनका छोरा श्यामले पनि फुटपाथमै व्यापार थालेका छन्। सडक छेउमै कपडा र भगवानका फोटोहरु बेच्छन् श्याम। आमाछोरा दुवै जना नै फुटपाथमा व्यापार गरेर घर चलाइरहेका छन्।
हरिमाया भन्छिन्, ‘काठमाडौंमा घर छ भन्दैमा काम नगरेर खान पुग्दैन। घर खोस्रेर खान मिल्दैन। आफूले सकुञ्जेल काम गरेर खाने हो। मरेपछि त सक्किगो नि!’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।