काठमाडौं- हातमा फलामको चिम्टा, मुखमा मास्क, निधारभरि पसिना लिएर काटुले धुवाँ पत्ताउँदै ठेला लिएर सडकमा आइपुग्छिन् पार्वती साउद। दिउँसो २ बजेदेखि मकै पोल्न थाल्छिन्। साँझसम्म सडक छेउमा मकै पोलेर बेच्नु उनको दैनिकी बनेको छ।
मकै लिन बजार जान उनलाई बिहानै उठ्नुपर्छ । ‘बिहान ४ बजे नै उठेर तिनकुने जान्छु। डेढ सय घोगा जति मकै लिन्छु। मकैको बोरा काँधमा हाल्छु। डेरातिर लाग्छु’, उनले भनिन्।
पार्वतीको पुर्ख्यौली घर कैलाली हो। उनी विगत १५ वर्षदेखि काठमाडौंमा बस्दै आएकी छन्। उमेरले ३६ वर्ष पुगेकी साउद सधैंजसो बाग्मती करिडोरको चोकमा बसेर मकै पोल्छिन्। मकै पोलेर नै उनले पाँच जनाको परिवार पाल्दै आएकी छन्।
‘श्रीमानले केही काम गर्नुभएको छैन। छोरा, छोरी र म गरेर चार जनाको परिवार छ। छोराछोरी दिउँसो विद्यालय जान्छन्,’ उनले भनिन्, ‘उहाँले घरको काममा मलाई सघाउनुहुन्छ। साँझ-बिहान छोराछोरी विद्यालय पुर्याउने र ल्याउने गर्नुहुन्छ। म दिनभरि मकै पोल्छु।’
पहिला पार्वतीले सिंहदरबारभित्र सरसफाइको काम गर्थिन्। त्यहाँ काम गरेवापत मासिक १२ हजार पाउँथिन्। उनका श्रीमान् क्यासिनोमा काम गर्थे। श्रीमानको कमाइ पनि राम्रै थियो। तर क्यासिनो बन्द भएपछि श्रीमान् बेरोजगार भए।
सिंहदरबारमा पार्वतीले काम गरेको दुई वर्ष मात्र भएको थियो। उनको मात्र कमाइले परिवार धान्न मुश्किल हुँदै गयो । विकल्प सोचिन् र सिंहदरबारको काम छाडेर मकै पोल्न सुरू गरिन्।
घर-परिवार कसरी चलाउने?
‘मेरो कमाइ १२ हजार मात्र थियो। त्यतिले कति पुग्थ्यो र? पैसाजति गाडी भाडामै सकिन्थ्यो। घर-परिवार कसरी चलाउने भन्ने भयो। अनि मकै पोल्न सुरू गरेँ,’ उनले भनिन्।
पार्वतीले आजभन्दा ठिक ७ वर्षअघि यही ठाउँबाट मकै पोल्ने काम थालेकी हुन्। उनले पहिलो दिन त भुइँमा नै आगो बालेर मकै पोलेर बेचिन्। सुरुमा २० घोगा बेचेको प्रष्टै याद छ पार्वतीलाई।
उनले त्यो दिन तीनकुनेको होलसेल पसलबाट हरियो मकै सस्तो छानेर प्रतिघोगा १० रुपैयाँका दरले किनेर ६० घोगा ल्याएकी थिइन्। उनले बेच्दा प्रतिघोगा २० रुपैयाँ लिइन्। तर त्यस दिन ४० घोगा बाँकी रह्यो। किन खेर फाल्ने भनेर उनले बाँकी रहेको मकै भोलिपल्ट बेच्न थालिन् ।
तर, व्यापारमा दाग लाग्ने अवस्था उत्पन्न भयो । ‘बासी मकै बेच्दा कस्तो खल्लो मकै? भनेर ग्राहकले नाक खुम्च्याए। कतिले त गाली गरे,’ उनले भनिन्, ‘भोलि पल्टदेखि ताजा मात्र बेच्न थालेँ।’
होलसेलमा पनि बासी मकै सस्तो हुने र ताजा महँगो हुने पनि उनलाई थाहा हुँदै गयो। मूल्य अलिक बढी परे पनि ताजा ल्याउन सक्दा ग्राहक बिच्किदैनन् भन्ने कुरा पनि उनले पत्तो पाइन्।
भोलिपल्टदेखि ताजा मकै किनेर ल्याएर बेच्न थालिन्। ताजा रसिला हुने हुँदा ग्राहकहरू नियमित आउन थाले। दिनमा ६० घोगा मकै ल्याउँथिन्। ४० घोगा जति बिक्री हुन्थे। केही हरियो नै बेच्थिन्। केही घरमा लगेर आफ्नो छाक टार्थिन्। चार वर्षसम्म उनले भुइँमा नै पोलेर गुजारा चलाइन्। ‘मकै बेचेको पैसाले नै घर खर्च चलाएँ। खान-लाउन र छोराछोरी पढाउन पुगेको थियो,’ उनले भनिन्।
कोरोना महामारीले विश्व नै आक्रान्त बन्दै जाँदा उनको दैनिकीमा गडबढी आउनु नसोचिएको विषय थिएन। महामारीको चाप यति धेरै पर्यो कि नेपाल पनि केही समयपछि लकडाउन भयो। लकडाउन अवधिमा छाक टार्न समस्या पर्ने अवस्था आयो उनलाई। केही बचत गरेको पैसाले खर्च धान्दै थिइन्। बचत सकिएपछि के खाने? अवस्थाले उनलाई घाँटीमै च्याप्यो। त्यसपछि श्रीमानसँग सल्लाह गरिन् र एउटा ठेला किनेर तरकारी बेच्ने निष्कर्षमा पुगिन्। त्यसपछि ठेला किनिन्। ठेलामा राखेर तरकारी बेचिन्।
‘त्यही तरकारी बेचेर कमाएको पैसाले लकडाउनको समयमा समस्या टारेँ। पछि लकडाउन खुल्यो र मकै पोल्ने काम फेरि सुरु गरेँ,’ उनले भनिन्। दिन प्रतिदिन मकै राम्रै बिक्री हुन थाल्यो। पहिला जस्तै मकै व्यापार बढ्दै गयो। तर हिजोआज बिक्रीमा केही मन्दी आएको अनुभूत उनलाई भएको छ।
'छोराछोरीको पढाइ शुल्क तिर्छु'
‘अहिले दिनमा पोलेको मकै एक सयदेखि डेढ सय घोगासम्म नै बेच्छु। नपोलेको ५० घोगासम्म बिक्री गर्छु। धेरै नभए नि दिनमा एक हजार चोखो कमाउँछु। त्यही पैसाले छोराछोरीको पढाइ शुल्क तिर्छौं,’ उनले भनिन्, '१० हजार रुपैयाँ कोठा भाडा तिर्छु।’
उनले पोलेको मकै धेरै मान्छेले मन पराउँछन्। तीनकुने, कोटेश्वर र शंखमूलतिरबाट मकै खानकै लागि ग्राहक आइपुग्छन्। पाँच-सात मिनेट पालो कुरेर बस्छन्। पार्वतीले पोलेको मकै एक पटक चाखेका ग्राहक फेरि पनि फर्केर आउने गरेको उनी बताउँछिन्।
तर, प्याकेट फुडको प्रभावले गर्दा मकै खानेको संख्या घट्दै गएको पार्वती बताउँछिन्। मःम, चाउचाउ, चाउमिन, चटपटे, पानीपुरी जस्ता तयारी खानेकुराको स्वाद परेको जिब्रोले मकैको स्वादलाई खोसेको उनको अनुभव छ।
‘तर पनि यहाँ पोलेको मकै मन पराउने पनि थुप्रै ग्राहक हुनुहुन्छ। मलाई माया गरेर मेरामा आएर मकै किनिदिनु भाको छ। मेरो व्यापारमा थोरै भए पनि राहत मिलेको छ,’ उनले भनिन्।
तैपनि. सडक किनारको व्यापार पनि सुरक्षित छैन। कहिलेकाहीं महानगर प्रहरी पनि पार्वतीको ठेला भएसम्म पुग्छन्। पार्वतीलाई ठेला हटाउन निर्देशन गर्छन्। उनी महानगर प्रहरी छउञ्जेल ठेला हटाएजस्तो गर्छिन्। महानगर प्रहरी गएपछि फेरि राख्छिन्।
‘महानगर प्रहरीले ठेला हटा भन्छ। म हस् सर भन्छु र यसोउसो ठेला हल्लाएजस्तो गर्छु अनि उनीहरू गइसकेपछि फेरि मकै पोलिरहन्छु। कहिले त आँखा झिम्काएरै पठाउँछु,’ उनले हाँस्दै भनिन्।
पार्वतीले अहिलेसम्म कति जनालाई कति घोगा मकै बेचिन् भन्ने कुनै यकिन छैन। उनका ग्राहकहरु भने विभिन्न प्रकारका छन्। कोही सरर गाडीमा आउँछन्। घरमा लगेर परिवारसँग बसेर खानका लागि मकै लिएर जान्छन्।
कोही दिनभरिको ज्याला मजदूरी सकाएर त्यहीं ठेलाको छेउमा बसेर पार्वतीसँग गफ गर्दै पोलेको मकै खान्छन्। कसैले काँचै नै किनेर घर लैजान्छन्। पार्वतीको ठेला कहिलेकाहीं मानिसहरुकाे गफ गर्ने चौतारीझैं बन्ने गरेको छ।
करिडोर क्षेत्रमा निकै ठूलाठूला रेस्टुराँहरु खुलेका छन्। तैपनि, कार चढेका मान्छेहरू रेस्टुराँ नगएर ठेलामा पोलेको मकै खान आउने गरेको पार्वती बताउँछिन्।
पार्वती आफ्नो काममा निरन्तर लागिरहेकी छन्। उनले आफ्नो मिहिनेतले नै कमाएर दैनिकी चलाएकी छन्। काम कुनै पनि ठूलो-सानो हुँदैन भन्ने मान्यता राख्ने उनी मकै पोलेर नै मासिक ३० हजारभन्दा बढी कमाउँछिन्।
‘कतिपय मान्छे कामै गर्न लाखौं खर्च गरेर विदेश जान्छन्, तर मलाई चाहिँ नेपालमा बसेर थोरै खर्चमा धेरै कमाइ गर्न सकिने रहेछ भन्ने लाग्छ। यसमा मेरो लगानी भनेको ठेलालाई १० हजार लाग्यो। अरू त खासै महँगो पर्दैन,’ उनले भनिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।