काठमाडौं– नेपाल राष्ट्र बैंकले हालै आर्थिक वर्ष २०७८/०७९ को तथ्यांक सार्वजनिक गर्यो। असार समान्तसम्मको देशको आर्थिक अवस्थाको तथ्यांकले वैशाखयता देशमा विदेशी मुलुकबाट भित्रिने रेमिट्यान्स केही प्रतिशत बढेको र देशको ढुकुटी पनि वैशाखकोभन्दा केही सुधार भएको देखाएको छ।
यही सुधारलाई व्याख्या गर्दै कतिपयले देशको अर्थतन्त्रमा सुधार आएको बुझेको अर्थशास्त्री तथा पूर्वगभर्नर दीपेन्द्र बहादुर क्षत्री बताउँछन्। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको असार समान्तसम्मको तथ्यांकमा विप्रेषण आप्रवाह ४.८ प्रतिशतले वृद्धि भई १० खर्ब ७ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.२ प्रतिशतले वृद्धि भई ८ अर्ब ३३ करोड पुगेको राष्ट्र बैंकले जानकारी दिएको छ। अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा विप्रेषण आप्रवाह ९.८ प्रतिशतले वृद्धि भई ९ खर्ब ६१ अर्ब ५ करोड रुपैयाँ थियो।
राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाखदेखि असारमसान्तसम्म दुई महिनाको अवधिमा रेमिट्यान्स एक खर्ब ९५ अर्ब ६१ करोड रुपैयाँले बढेको छ। वैशाखमा ८ खर्ब ११ अर्ब ६९ करोड रुपैयाँ बराबर रेमिट्यान्स नेपालमा भित्रिएको थियो। दुई महिनाकोे अवधिमै रेमिट्यान्स आउने क्रम ठूलो मात्रामा बढेका कारण अहिले देशमा देखिएको आर्थिक समस्या केही हदसम्म सुधारको बाटोमा रहेको जानकारहरू बताउँछन्।
पूर्वगभर्नर क्षत्री भन्छन्, ‘जुन बेला नेपालको अर्थतन्त्र बिग्रियो भनेर हामीले भनेका थियौं। त्यो बेला पनि नेपालको अर्थतन्त्र बिग्रिसकेको थिएन। अर्थतन्त्रका केही सूचकमा समस्या देखिएको थियो। जस्तै, विदेशी मुद्रा सञ्चितिमा दबाब देखिएको थियो। त्यसले गर्दा सचेतनाका लागि हामीले नेपाललाई श्रीलंका हुन नदिउँ मात्र भनेका थियौं।’
त्यो अवस्था अहिले पनि नहटेको उनी बताउँछन्। ‘हाम्रो आउने श्रोत केही बढेको होला। जस्तै, रेमिट्यान्स बढेको छ। तर, रेमिट्यान्स अर्को महिना पनि बढ्छ वा बढ्दैन त्यो त हामी भन्न सक्दैनौं। अर्को महिना घटेर आयो भने फेरि अर्थतन्त्र संकटमा भन्ने अवस्था आउँछ। त्यसकारण अहिले पनि हाम्रो अर्थतन्त्र दबाबमै छ’, उनी भन्छन्।
यसलाई सुधार गर्न नीति, निर्माण गर्ने र निर्णय गर्नेहरूले ध्यान दिनुपर्ने आवश्यकता रहेको उनी बताउँछन्। ‘राष्ट्र बैंकले सार्वजनिक गरेको केही सूचकहरूमा सुधार पनि भएको छ। असार मसान्तसम्म हाम्रो रेमिट्यान्स ४.८ प्रतिशतले बढ्यो। पहिले १२/१५, मानौं १६ ले बढ्दा पनि त्यसको चर्चा हुँदैन थियो’, उनी भन्छन्, ‘अहिले सामान्य बढ्दा पनि सुधारको अवस्थामा छौं भन्नुपर्ने अवस्था छ। आशावादी छौं भनिएको छ। त्यो भनेको हामीले सापेक्षिक रुपमा विश्लेषण गर्दा त्यस्तो देखिएको छ। नेगेटिभ हुनुभन्दा सामान्य नै भएपनि बढेको राम्रो हो।’
अहिलेको अन्य सूचक हेर्ने हो भने गत आर्थिक वर्षको ११ महिनासम्म प्रत्यक्ष विदेशी लगानी केही बढेको उनको बुझाई छ। ‘१२औं महिनामा त्यो केही घटेको छ। अहिले हामीले केही ऋण अन्तर्राष्ट्रिय दाताहरूबाट प्राप्त गरेका छौं। विश्व बैंक तगायतका संगठनहरूले हामीलाई केही ऋण प्रदान गरेका छन्। यस्ता पैसा देखिँदा हाम्रो रिजर्भमा केही सुधार देखिएको छ’, क्षत्रीले भने।
तर, अहिलेको अवस्था हेर्ने हो भने व्यापार घाटा उस्तै छ। १७ खर्ब रुपैयाँ बराबर व्यापार घाटा छ। २ खर्ब ६६ अर्ब रुपैयाँ शोधनान्तर घाटा रहेको छ। सवा ६ खर्ब भन्दा धेरै चालु खाता घाटामा छ। यी सबै कुरा हेर्दा अर्थतन्त्र सुधार भएको मान्न नसकिने उनी बताउँछन्।
व्यापार घाटा, चालु खाता घाटालाई सुधार गर्न सके मात्र अर्थतन्त्र सुध्रिएको संकेत हो भन्न सकिने उनको भनाइ छ। मुख्यतया चालु खाता घाटा कम हुनु नै देशको अर्थतन्त्र सुधारतर्फ जानु भएको उनको बुझाइ छ।
नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ भन्छन्, ‘अर्थतन्त्रमा देखिएको केही सीमान्त कुराहरू सुधार हुँदै गएको हो। तर, अहिले पनि हामी ढुक्क हुन सक्ने अवस्था छैन। अझै पनि हाम्रो अर्थतन्त्र लक्ष्य भन्दा तल छ। अहिले हाम्रो अर्थतन्त्र धान्न सक्ने क्षमता ९ महिनाको छ। वैशाखको तुलनामा सुधार भएको छ।’
तर, आर्थिक सुधार पर्याप्त भइनसकेको उनको दाबी छ। उनी भन्छन्, ‘हाम्रो अर्थतन्त्र सुधारको पाटो अझै पर्याप्त छैन। अहिले नै नेपालको अर्थतन्त्र पूरा रुपमा कहिलेसम्म सुधार हुन्छ भन्ने अनुमान लगाउन सकिने अवस्था पनि छैन। अब आर्थिक गतिविधि कुन रुपमा चलायमान हुन्छन्। त्यो अनुसार सुधार हुन्छ।’
अघिल्लो आर्थिक वर्षकै तुलनामा आयात भयो र देशको आर्थिक गतिविधि अघिल्लो आर्थिक वर्षको तुलनामा चलायमान हुन सकेन भने अझै पनि देशको अर्थतन्त्रको अवस्था उस्तै रहने उनको चेतावनी छ।
व्यापार घाटा र चालु घाटामा सुधार आयो भने देशको अर्थतन्त्र पनि सुधारतर्फको बाटोमा जाने उनी बताउँछन्। ‘यसमा पनि रेमिट्यान्ट बढ्यो, सरकारले विदेशीबाट ल्याउने सहयोग बढाउन सक्यो भने पनि विस्तारै देशको अर्थतन्त्र सुधारको बाटोमा जान्छ। यस्तो भयो भने अर्थतन्त्र सुधार हुन समय लाग्दैन। तर, हाम्रो देशको अर्थतन्त्र आयातमुखी भएका कारण यसमा पनि भर पर्छ’, श्रेष्ठले भने।
आर्थिक अवस्था सुधार नभएको देखाउने सूचकहरू
व्यापार घाटा
आर्थिक वर्ष २०७८/०८९ को असारम सान्तसम्म नेपालको कूल वस्तु व्यापार घाटा १७ खर्ब २० अर्ब ४२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्ष २०७७/०७८ को भन्दा व्यापार घाटा २३.० प्रतिशतले वृद्धि भएको हो।
आर्थिक वर्ष २०७७/७८ मा कूल वस्तु व्यापार घाटा २७.३ प्रतिशतले वृद्धि भई १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ थियो। एक वर्षको अवधिमा व्यापार घाटा रकममा ३ खर्ब २१ अर्ब ७१ करोड रुपैयाँले बढेको छ।
वैशादेखि असार मसान्तसम्मको कूल वस्तु व्यापार घाटाको तथ्यांक हेर्ने हो भने दुई महिनाको अवधिमा व्यापार घाटा दुई खर्ब ८९ अर्ब १२ करोड रुपैयाँले घटेको छ। कूल व्यापार घाटाले देशको आर्थिक अवस्था सुधारोन्मुख तर्फभन्दा नकारात्मक दिशातिर लगिरहेको अर्थ विज्ञहरूको दाबी छ। उनीहरूका अनुसार देशको आर्थिक अवस्था सुधार गर्नका लागि व्यापार घाटा घटाउनु महत्त्वपूर्ण हुन्छ।
शोधनान्तर घाटा
देशमा देखिएको आर्थिक समस्या समाधान गर्नका लागि शोधनान्तर घाटा बढ्नु हुँदैन। तर, अहिले नेपालको शोधनान्तर स्थिति दुई खर्ब ५५ अर्ब २६ करोड रुपैयाँ घाटामा रहेको छ।
यस्तो घाटा आर्थिक वर्ष २०७७/०७८ को असार मसान्तसम्म एक अर्ब २३ करोड रुपैयाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा नेपालको शोधनान्तर घाटा २ अर्ब १४ करोड रुपैयाँ रहेको छ।
वैशाखदेखि असार मसान्तसम्मको तथ्यांक हेर्ने हो भने दुई महिनाको अवधिमा यस्तो शोधनान्तर स्थिति ३३ अर्ब २४ करोड रुपैयाँले घटेको छ। वैशाखमा शोधनान्तर घाटा २ खर्ब ८८ अर्ब ५० करोड थियो।
चालु खाता घाटा
आर्थिक वर्ष २०७८/७९ मा चालु खाता ६ खर्ब २३ अर्ब ३३ करोड रुपैयाँले घाटामा रहेको छ। अघिल्लो वर्ष चालु खाता ३ खर्ब ३३ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्ष २ अर्ब ८४ करोडले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा ५ अर्ब १७ करोडले घाटामा रहेको छ।
वैशाखदेखि असार मसान्तसम्म आउँदा दुई महिनाको अवधिमा चालु खाता घाटा ७६ अर्ब ९७ करोड रुपैयाँले घाटामा छ। वैशाखमा यस्तो घाटा ५ खर्ब ४७ अर्ब ३६ करोड रुपैयाँ थियो। जसले नेपालको आर्थिक अवस्था सुधारको बाटोमा नदेखिएको विज्ञहरूको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।