गाईघाट– नेपालको एकमात्र सरकारी स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योगले एक वर्षमा झन्डै सवा २ अर्ब रुपैयाँ मूल्यको सिमेन्ट बिक्री गर्न सफल भएको छ।
प्रशासनका अनुसार २०७४ को साउन महिनादेखि २०७५ को असारको पहिलो हप्तासम्ममा उद्योगले २ अर्ब २२ करोड २७ लाख ९६ हजार रुपैयाँ मूल्यको सिमेन्ट बिक्री गरेको हो।
विद्युत भार कटौतीको मार ब्योहोर्दै आइरहेको भएपनि उद्योगले यस वर्ष १ लाख २९ हजार ५ सय मेट्रिक टन अर्थात् २४ लाख ६ हजार ९ सय बोरा सिमेन्ट उत्पादन गरेर नयाँ रेकर्ड राखेको उद्योगका महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले बताए। उत्पादित सिमेन्टको मूल्य २ अर्ब २३ करोड रुपैयाँ बराबरको रहेको पनि महाप्रबन्धक पौडेलले जानकारी दिए।
उदयपुर जिल्लाको जलजलेमा अवस्थित उद्योग २०४४ बाट सञ्चालनमा आएको र उद्योगले यसअघि २०५८ सालमा पहिलो पटक ठूलो परिमाणमा सिमेन्ट उत्पादन गरेर बिक्री गर्न सफल भएको थियो।
‘२०५८ पछि यस वर्षमात्र सिमेन्ट उद्योगले सबैभन्दा बढी सिमेन्ट उत्पादन गरी बिक्री गरेको छ। यो नयाँ रेकर्ड कायम भएको छ।’, महाप्रबन्धक पौडेलले दावी गरे।
पाँच महिना यतादेखि विद्युत् भार कटौतीको समस्या हल हुन थालेपछि अहिले सिमेन्ट उद्योगले दैनिक ७ सय ५० मेट्रिक टनभन्दा बढी सिमेन्ट उत्पादन गर्दै आएको छ। विगतमा उद्योगले मुश्किलले ५ सय ५० मेट्रिक टन मात्र सिमेन्ट उत्पादन गर्ने गरेको थियो।
देशकै सबैभन्दा ठूलो उदयपुर सिमेन्ट उद्योगको दैनिक ८ सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने क्षमता छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।