रसुवा– चालु आर्थिक वर्ष २०७५/०७६ का लागि रसुवामा कामदारको ज्याला, ढुवानी एवम् निर्माण सामाग्रीहरुको दररेट निर्धारण गरिएको छ। जिल्ला प्रशासन कार्यालय रसुवामा दररेट निर्धारण समितिको बैठक बसी जिल्लामा कामदारको ज्याला, ढुवानी एवम् निर्माण सामाग्रीको दररेट निर्धारण गरिएको हो।
समितिका अनुसार गतवर्षको दररेटमा यो वर्ष ५ देखि १५ प्रतिशत बढाई कामदारको ज्याला, ढुवानी एवम् निर्माण सामाग्रीहरुको दररेट निर्धारण गरिएको बताइएको छ।
जिल्लाको दररेटमा एकरुपता ल्याउन सार्वजनिक खरिद नियमावली २०६४ को नियम १४८ बमोजिम दररेट निर्धारण गरिएको समितिले जनाएको छ।
जिल्लाको कालिका उत्तरगया नौकुण्ड गाउँपालिकाको साविकको यार्सा बाहेकका डकर्मी, सिकर्मी, वज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन चित्रकार आदि दक्ष कामदारका लागि दैनिक ९ सय १० रुपैयाँ पारिश्रमिक कायम गरिएको छ। त्यस्तै ज्यामीका लागि ६ सय १० रुपैयाँ र अर्धदक्ष कामदारका लागि ७ सय ८५ रुपैयाँ तोकिएको छ। यो दर गत वर्षको दाँजोमा दक्ष कामदारको ८२ रुपैयाँ, ज्यामीको ४८ रुपैयाँ र अर्धदक्षका हकमा ७२ रुपैयाँले बढी हो।
त्यस्तै धुन्चेभन्दा उत्तरी क्षेत्र साविकको धुन्चे, यार्सा, स्याफ्रु, वृद्धिम, टिमुरे, थुमन, गोल्जुङ, चिलिमे, गतलाङ र हाकु गाविसका डकर्मी, सिकर्मी, वज्रकर्मी, लोहाकर्मी, नकर्मी, प्लम्बर, वेल्डर, इलेक्ट्रिसियन, चित्रकार आदि दक्ष कामदारको १ हजार ५० रुपैयाँ कायम गरिएको छ। त्यस्तै ज्यामीका लागि ७ सय ३५ र अर्धदक्ष कामदारका लागि ७ सय ८५ रुपैयाँ तोकिएको दररेट निर्धारण समितिले जनाएको छ। यी स्थानहरुमा गएको वर्ष दक्ष कामदारका लागि ९ सय २०, ज्यामीको ६ सय ६७ र अर्धदक्ष कामदारको ७ सय १३ रुपैयाँ कायम गरिएको थियो।
त्यस्तै साविकको लाङटाङ गाविस र स्याफ्रु गाविसको गोसाईकुण्ड क्षेत्रका दक्ष कामदारका लागि १ हजार ६ सय ८६ रुपैयाँ, ज्यामीका लागि १ हजार २ सय ७७ र अर्धदक्ष कामदारका लागि १ हजार ४ सय ७४ रुपैयाँ कायम गरिएको छ।
जिल्लाको दररेटमा उल्लेख भएका निर्माण सामाग्रीहरु बाहेक अन्य निर्माण सामाग्रीको हकमा काठमाडौंको दररेटलाई आधार मानी ढुवानी भाडा जोडी मूल्य कायम गर्ने निर्णय गरिएको छ।
त्यस्तै वर्षाद अवधिमा काम गर्दा ज्याला तथा ढुवानीमा २० प्रतिशत र जटिल र जोखिमपूर्ण कार्य गराउँदा बढीमा ५० प्रतिशत बढाउन सकिने निर्णय गरिएको छ। त्यस्तै विभिन्न कार्यालयका लागि जिप तथा कार चाहिएमा ५ दिनका लागि सवारी इन्धन र जनशक्तिसहित ८ हजार रुपैयाँ भाडामा लिन सकिने गरी निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।