काठमाडौं– नवलपरासी प्रतापपुर गाउँपालिका-४ की तिलेसरादेवी राजभर २०५८ सालमा कमाउनका लागि साउदी उडिन्। भारतको मुम्बई हुँदै साउदी पुगेकी उनको कमाइ मासिक ३ सय साउदी रियाल (त्यतिबेला करिब ९ हजार नेपाली रुपैयाँ) थियो।
श्रीमान् काम गर्न नसक्ने भएपछि गाउँमा एक लाख ऋण लिएर विदेशिएकी थिइन् उनी। ‘छोरा बालखै थियो। घरमा श्रीमान बिमार, साहुसँग एक लाख कर्जा लिएँ,’ उनले भनिन्। सुरुमा त उनलाई कर्जा लिनुपर्ने अवस्था थिएन। न त कमाउन विदेश नै जानुपर्थ्यो। तिलेसरा घरमै बस्थिन्। घरको काम गर्थिन्। उनका श्रीमान मजदुरी गर्थे।
‘तर उहाँ (श्रीमान) घरको छतबाट खस्नु भयो। त्यसपछि मानसिक अवस्था नै ठीक छैन।’ तिलेसराले सुनाइन्। श्रीमान काम गर्न नसक्ने अवस्थामा पुगेपछि साहुसँग ऋण काढेर साउदी उडेकी उनी ८ वर्ष ८ महिना काम गरेर घर फर्किएकी थिइन्। तिलेसराले छोरालाई पठाउने पैसा पनि कमाएर ल्याउन सकेकी थिइनन्।
‘त्यतिबेला कमाइ थिएन। साहुको ऋण त तिरेँ। तर घर खर्च पुगेन,’ उनी भन्छिन्, ‘फर्किएपछि छोराले आमा तिमी नजाउ म जान्छु अब भन्यो।’ २०६५ सालमा उनले छोरालाई बिदेश पठाउन फेरि एक लाख ऋण मागिन्।
‘सयकडा पाँचमा एक लाख ऋण
‘सयकडा पाँचमा गाउँकै साहु जगदिश बानियाँसँग एक लाख ऋण लिएर छोरा मुम्बइ गयो। उमेर सानै भएकाले छोरो विदेश जान पाएन त्यहिँबाट फर्कियो,’ तिलेसरादेवी सम्झिन्छिन्। त्यसपछि फेरि आफैँ विदेश गएको उनी बताउँछिन्।
साउदीमा उनलाई घरभित्रकै काम थियो। घर सफा गर्ने भाँडा माझ्ने, लुगा धुने जस्ता काम गर्नुपर्थ्याे। दोस्रोपटक साउदी पुगेकी उनको त्यतिबेला महिनामा ८ सय रियाल (२० हजारभन्दा बढी नेपाली रुपैयाँ) कमाइ थियो। साउदी पुगेको ८ महिनामा उनले घरमा एक लाख २५ हजार रुपैयाँ बचाएर पठाइदिएकी थिइन्। त्यसबाट साहुलाई ८० हजार तिरेको उनी बताउँछिन्। ‘बाँकी श्रीमानको औषधी र खरखर्चमा सकियो,’उनले भनिन्।
ऋण एक वर्षमा चुक्ता गर्ने गरी घरजग्गा दृष्टिबन्धकमा राखिएको थियो। ८० हजार बुझाएपछि २० हजार साँवा र त्यसको ब्याज बुझाउन बाँकी थियो। तर तिलेसराले लामो समयसम्म ऋण बुझाउन सकिनन्। घर खर्च चलाउन र छोरालाई विदेश पठाउन पैसा जम्मा गर्न थालिन्। उनी ६ वर्ष ६ महिना साउदी बसेर फर्किइन्।
‘त्यतिबेला साहुसँग घरजग्गा दृष्टिबन्धकमा थियो। साहुले सात लाख तिर, अनि मात्र घरजग्गा फिर्ता गर्छु भने। मैले सात लाख तिरेँ तर फिर्ता गरेनन्,’ उनले भनिन्।
तिलेसरा दुई महिनाका लागि बिदामा आएकी थिइन्। बिदा सकिएपछि फेरि साउदी उडिन्। त्यतिबेलासम्म उनका छोराको पनि उमेर पुगिसकेको थियो। छोरा पनि कमाउन मलेसिया गए।
घरको काम गर्दागर्दै तिलेसराले साउदीस्थित एक विद्यालयको क्यान्टिनमा काम गर्दा राम्रो कमाइ हुने सुनिन्। घरको काम छाडेर उनी त्यहाँ क्यान्टिनको भाँडा माझ्ने र विद्यालयको सरसफाइको काम गर्न थालिन्।
‘त्यहाँ त महिनामा कहिले १२ सय रियाल कहिले १५ सय रियाल हुन्थ्यो। साहु खुुसी भए टिप्स पनि आउँथ्यो,’ उनले सुनाइन्। त्यतिबेला उनको महिनामा ४० देखि ४५ हजार रुपैयाँसम्म कमाइ हुनुथ्याे। उनका छोराले पनि मलेसियामा तीन वर्ष कमाइ गरे।
तेस्रो पटक तिलेसरा ३ वर्ष ८ महिना काम गरेर फर्किएको बताउँछिन्। उनका छोराले पनि मलेसियामा तीन वर्ष कमाइ गरेर फर्किए। उनीहरु फर्किएपछि साहुले थप १० लाख मागेको तिलेसरा बताउँछिन्।
‘मेरो श्रीमानलाई घरमा एक्लै भएको बेला तेरो श्रीमती त मेरा लागि कमाउन गएको हो भन्थ्यो रे। छोरा र म फर्किएपछि साहुले फेरि १० लाख तिर्यो भने मात्रै घरजग्गा फुकुवा गर्छु भन्यो। अनि हामीले फेरि १० लाख बुझायौँ। प्रमाण भने केही दिएको छैन,’उनले भनिन्।
पैसा बुझाएको प्रमाण छैन
उनले हालसम्म पैसा बुझाएको कुनैपनि प्रमाण नभएको तिलेसरा बताउँछिन्। पटकपटक गरेर आफूले र छोराले कमाएको र आफन्तबाट दुई लाख ५० हजार ऋण लिएर १८ लाख रुपैयाँ जगदिश बानियाँलाई बुझाएको उनको भनाई छ।
‘घर खर्च चलाउन र श्रीमानको उपचार पनि गर्न सकिन्छ भनेर विदेश पसेँ,’ उनी भन्छिन्, ‘तर ऋण तिर्दातिर्दै रित्तो भएँ। उमेर सकियो अझै दुई लाख ५० हजार तिर्न बाँकी छ। फेरि साउदी जाउँ भने बुढी भइसकेँ। कसरी तिर्नु।’
उनका अनुसार १८ लाख बुझाइसकेपछि जगदिश बानियाँले घरजग्गा फुकुवा गरिदिएका छन्। तर पनि अझै दुई लाख ५० हजार तिर्न बाँकी रहेकाे भन्दै बारम्बार तनाव दिइरहेकाे उनले बताइन्। साेही कारण उनी थप चिन्तामा छिन्।
‘आफू बिमार हुँदा पनि काममा खटेँ। रातदिन नभनी काम गरेँ। सबै पैसा साहुलाई बुझाएर सकियो, अझै ऋण बाँकी छ भन्छन्। न त श्रीमानको उपचार गर्न सकेँ?,’ माइतीघर मण्डलामा भेटिएकी उनले रुँदै भनिन्।
उनीहरुको घर पनि पुरानो भइसकेकाे छ। घरमा ६२ वर्षीया तिलेसरा र उनका श्रीमान बस्छन्। छोरा रिसाएर छुट्टिएको उनले बताइन्।
भन्छिन्, ‘आफू बुढी भइगएँ। कमाइ भएको सबै पैसा साहुलाई बुझाउँदा पनि ऋण नसकिएपछि छोरो रिसाएर छुट्टै बसेको छ।' छोराकाे बिहे भइसकेकाे छ। अहिले बुहारी, नातिनातिनी र छोरा छुट्टिएका छन्।
ऋण तिर्दातिर्दै रित्तिएकी तिलेसरा न्यायका लागि काठमाडौं आएकी छन्। उनी दिनभर माइतीघर मण्डलामा धर्ना बस्छिन्। रात परेपछि तीनथाना पुग्छिन्। उनीजस्तै मिटरब्याज पीडितहरु धेरै छन्। यतिबेला नवलपरासीका ८० जनाभन्दा बढी पीडितहरू सिंहदरबारसँग गुनासो पोख्न काठमाडौंमा छन्। सरकारले आफूहरुकाे समस्या नसुनेसम्म आफूहरू जिल्ला नफर्किने अडान उनीहरुको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।