काठमाडौं- कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले धानको न्यूनतम समर्थन मूल्य सिफारिस गरेको छ। मन्त्रालयले अहिले रोपिएको धान बालीका लागि प्रतिक्विन्टिल मोटो धानको २ हजार ३ सय ३१ रुपैयाँ २२ पैसा र मध्यम धानका लागि प्रतिक्विन्टिल २ हजार ४ सय ६० रुपैयाँ ५७ पैसा तोकेको छ।
गत १८ जेठमा कृषि र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच बसेको बैठकले एक साताभित्र धानको न्यूनतम समर्थन मूल्यका सम्बन्धमा सिफारिस गर्न समिति गठन गरेको थियो।
धानको उत्पादन, बजार व्यवस्था, प्रचलित मूल्य लगायतको विश्लेषण गरी उक्त समितिले पेस गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले नयाँ मूल्य सिफारिस गरेको हो।
बाली लगाउनुभन्दा ६ महिनाअघि नै न्यूनतम समर्थन मूल्य तोक्ने अभ्यास छ।
न्यूनतम समर्थन मूल्यको अन्तिम निर्णय भने मन्त्रिपरिषद्बाट हुनेछ।
यसैबीच, कृषि मन्त्रालयले मंगलबार नै न्यूनतम समर्थन मूल्य कार्यान्वयनका सम्बन्धमा अध्ययन गरी समष्टिगत योजना बनाउन कार्यदल बनाउने निर्णय गरेको छ।
किसानले उत्पादन गरेको धानको लागत अनुसारको मूल्यको सुनिश्चितता गर्न समर्थन मूल्य तोक्ने अभ्यास छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।