काठमाडौं– काठमाडौं उपत्यकामा केही समय अघिदेखि फोहोर व्यवस्थापन नहुँदा समस्या उत्पन्न भएको छ। काठमाडौंका चोकचोक, गल्लीगल्लीमा फोहोर थुप्रिएको छ। सहर दुर्गन्धित बनेको छ।
यसअघि फोहोर व्यवस्थापन गर्दै आएको नुवाकोटको सिसडोलदेखि दीर्घकालीन फोहर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म जाने झण्डै दुई किलोमिटर बाटो मर्मतको काम भइरहेका थियो। गाडी आवतजावत गर्दा बाटो मर्मतको काममा समस्या आएको भन्दै एक हप्ता फोहोर व्यवस्थापनको काम नहुने बताइएको थियो। सहरी विकास मन्त्रालयले महानगरलाई केही दिन फोहोरको गाडी नपठाउन आग्रह गरेको थियो।
तर, १५ दिन बितिसक्दा पनि फोहोर नउठ्दा सहरबासी आफूहरु मारमा परेको बताउँछन्। १५ वर्षदेखि कालिमाटीमा मिठाई पसल सञ्चालन गर्दै आएका कालीमाटी नालन्द स्वीट्सका सञ्चालक जयानेन्द्र प्रसाद चौरासिया समयमा फोहोर नउठ्दा निकै समस्या परेको बताउँछन्।
‘यहाँ टोलभरीका मान्छेले रातिको समयमा ल्याएर यहीँ अगाडि फोहोर फाल्छन्। मेरो पसल अगाडि फोहोरको थुप्रो लागेको छ। १५ दिन भइसक्यो। अहिलेसम्म फोहोर उठेन। पुरै दुर्गन्ध फैलिएको छ। दुर्गन्धले गर्दा कोही ग्राहक भित्र पस्दैन’, उनी भन्छन्, ‘कहिले के कहिले के सँधै व्यापारमा घाटा छ। यस्तै हो भने कसरी गरेर खाने?कसरी भाडा तिर्ने?’
उनले आफ्नो पसल र घरको फोहोर कुहिने र नकुहिनेगरि छुट्याएर राखेका छन्। तर, लामो समयसम्म फोहोर लिन गाडी नआउँदा घरभित्रै पनि कुहिएर दुर्गन्धित भएको उनी बताउँछन्।
‘मैले पसलको फोहोरको मात्र १५ सय रुपैयाँ बुझाएको छु’, बिल देखाउँदै उनले भने। त्यस्तै, कालीमाटी एभरेष्ट मःम पसलका सञ्चालक राजकुमार श्रेष्ठ पनि समयमा फोहोर नउठ्दा समस्या भएको बताउँछन्।
‘महानगरको गाडी समयमा फोहोर लिन नआउँदा फोहोर धेरै जम्मा हुन्छ। दुर्गन्धित हुन्छ। होटल हो, यहाँ कुहिने फोहोर बढी जम्मा हुन्छ। पैसा उठाउन आउनेलाई भनेर एकपटक त आफू एक्लैले कान्तिपुरको गाडा बोलाएर फोहोर पठाएँ। अहिले फोहोर १५ बोरा जति जम्मा भएको छ। लिन आएको छैन’, उनले भने।
कालीमाटी बस्दै आएकी प्युठानकी सुविना क्षेत्री पनि फोहोर नउठ्दा निकै समस्या भएको बताउँछिन्। ‘एउटा डेरा छ। चार जनाको परिवार छौँ। फोहोर कुहिने, नकुहिने अलग गरेर राखेकी छु। धेरै जम्मा भइसकेको छ। कुहिएर कोठा दुर्गन्धित भइसकेको छ। लिन नै अउँदैन। न कोठाम राख्नु न रोडमा ल्याएर फाल्नु भएको छ’, सुविनाले दुःखेसो पोखिन्।
धादिङकी चन्द्रिका श्रेष्ठ काठमाडौं आएको १० वर्ष बित्यो। उनी पहिला यस्तो लामो समयसम्म फोहोर नउठ्ने समस्या खासै नभएको बताउँछिन्। उनी भन्छिन्, ‘मेरो त झनै ठूलो समस्या छ। कोठामा फोहोर कुहिएर औंसा परिसक्यो। कोठा बाहिर राखे घरबेटीले राति चोकमा लगेर फ्याँक। त्यहाँ नराख भनेर गाली गर्छन्। एक्लै छु। काखमा सानो छोरो छ। त्यही फोहोरले हैजा लाग्छ होला अब त’, श्रेष्ठले भनिन्।
रविभवनमा बेकरी क्याफे सञ्चालन गर्दै आएका केशव श्रेष्ठ पनि फोहोर लिन महानगरको गाडी नआउँदा समस्यामा परेका छन्। उनले आफ्नो फोहोर कुहिने नकुहिने छुट्टाछुट्टै जम्मा गरेर राखेको लामो समय भइसक्यो। तर, महानगरको त्यो फोहोर नउठाउँदा दुर्गन्ध फैलिन थालिसकेको छ। तर, फोहोर नउठ्नुमा काठमाडौं महानगरका प्रमुख बालेन शाहलाई फेल गराउने षडयन्त्र हुन सक्ने उनको शंका छ।
‘अहिले फोहोर नउठ्नु सबैको समस्या बनेको छ। सिसडोलमा फोहोर फाल्दा विवाद आउनुमा बालेनलाई फेल गर्नका लागि यहाँ ठूला पार्टीका भरौटेहरुको ठूलो चलखेल हुन सक्छ। किनकी बालेनले स्वतन्त्र तर्फबाट चुनाव जितेको छ’, उनी थप्छन्, ‘बालेनले फोहोर उठाएन भनेर दोष दिन मिल्दैन।’ सडकमा जथाभावि फोहोर फाल्दा देशकै बेइज्जत भएको केशव बताउँछन्।
‘घरमा राखे फोहोर कुहिएर दुर्गन्धित हुन्छ। डेरा गरेर बस्दै आएकालाई त झन् समस्या छ। कसैको एउटै मात्र कोठा हुन्छ। त्यहीँ खाना पकाउने ठाउँ, त्यहीँ सुत्ने खाट। फोहोर भित्रै राखे गन्हाउँछ। अनि रोडमा नफालेर कहाँ फाल्नु त?’ उनको प्रश्न छ।

महानगरका प्रमुख शाहले गत बिहीबारको कार्यपालिका बैठकमा बोल्दै फोहोर उठ्न नसकेको समस्याबारे बताएका थिए। फोहारका गाडी रोकिएको, जेसीबी बुलडोजर तोडफोड भएका कारण फोेहोर व्वयवस्थापनमा समस्या भएको बताएका थिए।
तर, अब आज आइतबारदेखि नियमित फोहोर उठ्ने उनको भनाइ छ। कुनै अवरोध नभए आइतबारदेखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्ने उनको भनाइ छ। शनिबार बेलुकी १५२ वटा गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगेको मेयर शाहले जानकारी दिएका छन्।
‘कुनै अवरोध नभएमा दैनिक २५० देखि ३५० गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुग्नेछन्। शनिबार एक सय ५२ गाडी फोहोर बोकेर बञ्चरेडाँडा पुगे’, मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।
आफूहरूको अन्तिम लक्ष्य कसैले फोहोरले आक्रन्त हुनु नपर्ने, कसैले ज्यान नगुमाउने र सबैको साझा जित हुने गरेर फोहोर व्यवस्थापन गर्नु रहेको शाहले बताएका छन्।
‘नियमित अवस्थामा फोहोर उठाउने र बञ्चरेडाँडासम्म पुर्याउन केही समय लाग्न सक्छ। अवरोध नगर्ने स्थानीय, फोहोर संकलक, कर्मचारी र चालकहरूलाई तथा सुरक्षाकर्मीलाई धेरै धन्यवाद छ’, मेयर शाहले भनेका छन्, ‘थुप्रिएका फोहोरको व्यवस्थापन नभई अन्य विकल्पहरुमा जानु व्यवहारिक रुपमा कठिनाइ भएकाले मात्रै बाध्य भएर अहिलेको व्यवस्थापनको तरिका अपनाइ रहेका हौँ। फोहोरको दीर्घकालिन व्यवस्थापनका लागि योजनाहरु छन् र हदैसम्म प्रयास गरिनेछ।’
एक अध्ययनले काठमाडौं उपत्यकामा दैनिक ५१३ मेटिक टन फोहोर उत्पादन हुने देखाएको छ। महानगरमा उत्पादन हुने फोहोरमा ७५.५ प्रतिशत फोहोर कुहिने प्रकृतिका छन्। १०.३५ प्रतिशत चाहिँ प्लाष्टिकजन्य छन्। जसमा ६.५५ प्रतिशत अन्य प्रकारका र ३.८० प्रतिशत प्लास्टिकका झोला हुने उक्त अध्ययनमा पाइएको थियो।
यस्तै, महानगरमा ३.८५ प्रतिशत कागजजन्य फोहोर उत्पादन हुन्छ। यस्तै १.९४ प्रतिशत सिसा फोहोरको रूपमा फालिने गरिएको छ। १.६१ प्रतिशत टेक्सटाइल, ०.४७ प्रतिशत मार्बल, ०.२६ प्रतिशत रबर, ०.२२ प्रतिशत इलेक्ट्रोनिक वेस्ट र ५.८१ प्रतिशत अन्य प्रकारका फोहोर उत्पादन हुने गरेको छ।
हुन त यो समस्या अहिलेको मात्र होइन। एक सय तीन वर्ष पहिलेदेखि फोहोरको व्यवस्थापनको काम सुरु भएको थियो। तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरले आफूहरू हिंड्ने बाटो फोहोर भएको महसुस गरेपछि १९७६ पुस २ मा ‘सफाइ अड्डा’ स्थापना गरे। उक्त सफाइ अड्डाको काम थियो ‘सहरलाई व्यवस्थित गर्नु, सडक सफा राख्नु।’
१९७६ मा स्थापना भएको उक्त सफाइ अड्डा विकास तथा विस्तार हुँदै अहिले काठमाडौं महानगरपालिका बनेको छ। २००३ सालमा राणा प्रधानमन्त्री पद्मशमशेरले सफाइ अड्डालाई ‘म्युनिसिपालिटी’ घोषणा गरे। जसलाई २०१० सालमा १८ वडासहितको काठमाडौं नगरपालिका बनाइयो। पञ्चायती व्यवस्था सुरु भएको २ वर्ष पछि अर्थात २०१९ सालमा काठमाडौं नगर पञ्चायतमा परिणत भयो।
तर, २०४७ मा काठमाडौं नगर पञ्चायत पुरानै नाम फर्कियो। १२ मंसिर २०५२ मा यसले पहिलो महानगरपालिका बन्ने अवसर पायो। त्यति बेला नै महानगरबासीले पहिलोपटक नगरप्रमुख चुन्ने अवसर पाए। तर, स्थानीयले नै आफ्नो नगरको समस्या समाधानका लागि आफ्नो प्रतिधिनी चुन्ने अवसर पाएको २८ वर्ष हँुदासम्म समस्या समाधान हुन सकेको छैन।
६ वर्ष पहिले मेयरका लागि उम्मेदवारी दिने क्रममा विद्यासुन्दर शाक्यले फोहोर व्यावस्थापन आफ्नो मुख्य अजेण्डा भएको बताएका थिए। शाक्यले चुनावी नारामा काठमाडौंको सरसफाइलाई प्रमुख मुद्दा बनाएका थिए।
मेयर भएको एक सय दिनमा १०१ काम गर्ने भनी बनाएको घोषणा पत्रमा ‘ग्रिन एन्ड क्लिन काठमाडौं’ अभियान चलाउने उल्लेख थियो। उनको चुनावी घोषणापत्रको तेस्रो बुँदामा आफू मेयरको पदभार ग्रहण गर्नुअगावै महानगरपालिकाको कार्यालय परिसरभित्रै नवनिर्वाचित जनप्रतिनिधिहरूले मूल्यवान फलफूलका रुख रोपी ‘ग्रिन एन्ड क्लिन काठमाडौं’ अभियान शुभारम्भ गर्ने उल्लेख गरेका थिए।
उनको कामको सूचीको ५९औं नम्बरमा पनि ‘क्लिन द सिटी’ अभियान सुरु गर्ने उल्लेख गरेका थिए। उक्त अभियान धुँवाधुलो न्यूनीकरण गरी काठमाडौंलाई ‘नो मास्क सिटी’को रूपमा अगाडि बढाउने कदम हुने पनि उल्लेख गरेका थिए। तर, केही काम नगर्दै शाक्यको कार्यकाल सकियो।
अहिलेका मेयर शाहले पनि फोहोरलाई आफ्नो चुनावी नारा बनाए। फोहोर व्यवस्थापन नहुन्जेल माला, खादा नलगाउने घोषणा गरे। उनी निर्वाचित भएको तीन महिना भइसक्दा पनि फोहोरको समस्या प्रमुख चुनौतीका रूपमा यथावत छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।