भैरहवा– आन्तरिक राजश्व कार्यालय भैरहवाले आर्थिक वर्ष २०७४/०७५ मा लक्ष्यभन्दा कम राजस्व असुली गरेको छ। आर्थिक वर्ष २०७४/०७५ मा कुल ९ अर्ब ६२ करोड रुपैयाँ लक्ष्य लिएको कार्यालयले ९ अर्ब ५ करोड ११ लाख असुली गरेको आन्तरिक राजश्व कार्यालय भैरहवाले जनाएको छ।
गत अर्थिक वर्षमा लक्ष्यभन्दा झन्डै ६ प्रतिशत अर्थात ५६ करोड ८९ लाख रुपैयाँ कम राजस्व असुली गरेको आन्तरिक राजश्व कार्यालय भैरहवाका कर अधिकृत टिकाराम गैरेले बताए। आर्थिक वर्ष २०७३/०७४ मा कार्यालयले ७ अर्ब ५३ करोड ५३ लाख ४६ हजार रुपैयाँ राजस्व असुली गर्न सफल भएको थियो।
२०७४/०७५ मा सङ्कलित राजस्वमा आयकरतर्फ १ अर्ब २१ करोड रुपैयाँ, बहालकर ४ करोड ९८ लाख, ब्याजकर ४ करोड ६७ लाख, मूल्य अभिवृद्धि कर ९१ करोड, अन्तःशुल्कतर्फ ६ अर्ब ८१ करोड ४४ लाख, स्वास्थ्य सेवा कर ६८ लाख तथा शिक्षा सेवा कर ९५ लाख रुपैयाँ रहेको छ।
लक्ष्यभन्दा कम असुल गर्नुको प्रमुख कारण जेठ १५ गते भएको बजेट भाषणपछि उद्योगबाट उत्पादित सामान निकासा नभएकोले अन्तःशुल्क कम उठेको कर अधिकृत गैरेले जानकारी दिए। गत आर्थिक वर्षको अन्तिम महिना असारमा अन्तःशुल्कको लक्ष्य १ अर्ब १४ करोड लिएकोमा २४ करोड रुपैयाँ मात्र उठेको थियो। अन्तःशूल्क विशेषगरी रक्सी, चुरोट, सुर्तीजन्य पदार्थ तथा छड र सिमेन्टबाट उठ्ने गर्दछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।