काठमाडौं– अर्थमन्त्री डा युवराज खतिवडाले आतंककारी गतिविधिबाट आर्जित सम्पत्तिलाई नेपालमा भित्रन नदिन सरकारले कडाइ गरिरहेको दावी गरे।
अर्थमन्त्री खतिवडाले एसिया प्यासिफिक क्षेत्रका सबै राष्ट्रहरु मिलेर सम्पत्ति शुद्धिकरण अभियानलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।
मंगलबार काठमाडौंमा आयोजित एसिया प्यासिफिक क्षेत्रको सम्पत्ति शुद्धिकरणसम्बन्धि २१ राष्ट्रको वार्षिक बैठकलाई सम्बोधन गर्दै मन्त्री खतिवडाले सम्पत्ति शुद्धिकरणको अभियानलाई प्रभावकारी बनाउन नेपाल सरकारले विद्युतीय प्रणालीबाट आर्थिक कारोबार गर्न जोड दिएको स्पष्ट पारे। उनले नेपाल सरकारले सम्पत्ति शुद्धिकरणकै लागि सुशासनमा जोड दिएको पनि स्मरण गराए।
अर्थमन्त्री खतिवडाले नयाँ–नयाँ प्रविधिको उपयोग गरेर सम्पत्ति सुद्धिकरण अभियानलाई सफल बनाउने प्रतिवद्धता पनि व्यक्त गरे।
एसिया प्यासिफिक क्षेत्रका सम्पत्ति शुद्धिकरणका क्षेत्रमा कार्यरत विज्ञहरु सहभागी भएको सम्मेलनले अवैधानिक ढंगले हुने आर्थिक कारोबारलाई निस्तेज पार्न ठोस धारणा तय गर्ने दावी गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।