काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले पदबाट राजीनामा दिएका छन्। उनले मंगलबार मन्त्रालयमा पत्रकार सम्मेलन गरी पदबाट राजीनामा दिएका हुन्।
केही दिनअघि एउटा कार्यक्रममा बंगलादेशमा मेडिकल शिक्षा पढ्न गएका छात्राबारे दिएको अभिव्यक्तिका कारण मन्त्री तामाङ विवादमा तानिएका थिए। सामाजिक सञ्जालमा आलोचना बढ्दै गएपछि उनले विज्ञप्ति जारी गर्दै 'छात्राहरुलाई पर्न गएको चोटप्रति क्षमा' मागेका थिए।
मन्त्री तामाङले गत चैत २ गते पद तथा गोपनीयताको सपथ लिएका थिए।
राजीनामा दिन आयोजित पत्रकार सम्मेलनमा मन्त्री तामाङले आँशु झारेका थिए। उनले आफू गरिब पृष्ठभूमिबाट आएको बताए।
उनले आफ्नो विरुद्धमा कतिपय लागेको आरोप लगाए। कतिपय कमजोरीलाई मूल विषय बनाएर प्रचारित गरिएको बताए। उनले आफू नारी अस्मिताको विषयमा गम्भीर भएको बताए।
उनले पत्रकार सम्मेलनलाई दुई चरणमा विभाजन गरेका थिए। पहिलो चरणमा उनले आफूले मन्त्री भएर गरेको कामको चर्चा गरेका थिए। दोस्रो चरणमा उनले राजीनामा घोषणा गरेका थिए।
उनले बंगलादेशमा पढ्ने छात्राबारे दिएको अभिव्यक्ति स्तम्भ भई बोल्ने क्रममा बोलेको बताए। 'बोलेका कुराको पूर्ण पृष्ठलाई टाउको र खुट्टा काटेर बीचको भागमात्रै पोस्ट गर्दै अझ बढाइचढाइ र अतिरञ्जित पार्दै मेरा बारेमा गलत र षडयन्त्रमूलक समाचारहरु आएको पाउँदा अति दुखित छु', तामाङले भने, 'मेरा पार्टीका मित्रहरुको नामबाट उहाँहरुको अनुमति बिनै सामाजिक सञ्जालमा राजीनामा माग भएको समाचार गलत ढंगले आएको र सामाजिक सञ्जालमा खण्डन गरेको पनि देखें।'
तामाङले आफू पदभन्दा पनि प्रतिष्ठाको खातिर व्यक्ति भएकाले मन्त्री पदबाट राजीनामा दिनुपर्छ भन्ने ठानी नैतिकताको आधारमा राजीनामा दिएको बताए।
यो पनि पढ्नोस्:
कानुनमन्त्रीलाई सरकारबाट फिर्ता हुन नेकपाको निर्देशन, मन्त्री भन्छन्- २ बजे पत्रकार सम्मेलन छ, उतै आउनुस्
बंगलादेश पढ्ने नेपाली छात्रामाथिको लाञ्छनामा कानुनमन्त्रीको विज्ञप्तिः तथ्य ठीक, चोट पुगेकोमा मात्रै माफी
बंगलादेशमा अध्ययनरत मेडिकल छात्रामाथि कानुनमन्त्रीको अभिव्यत्ति विवादमा, राप्रपाले माग्यो राजिनामा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।