काठमाडौं– सिटिजन्स बैंक इन्टरनेशनलले साउन १५ गतेदेखि एफपिओ निष्काशन गर्ने भएको छ। बैंकले १ सय रुपैयाँ प्रिमियम थप गरि प्रतिकित्ता २ सय रुपैयाँको दरमा एफपिओ निष्काशन गर्न लागेको हो।
बैंकले जारी गर्न लागेको ४ लाख ६३ हजार ८ सय २६ कित्ता एफपिओमा छिटोमा साउन १८ गते र यसै अवधिमा बिक्री नभएमा ढिलोमा भदौ १४ गतेसम्म आवदेन खुला गर्ने एफपिओ निष्काशन तथा बिक्री प्रवन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएको छ। एफपिओमा न्युनतम ५० र अधिकतम २ हजार ३ सय कित्तासम्मको आवेदन दिन पाइने छ।
बैंकले एफपिओ निष्काशनको लागि इक्रा रेटिङ ‘इक्रा एनपि आइपिओ ग्रेड ३’ पाएको छ। यो ग्रेडले बैंकको आधारभूत आधारहरु औषत रहेको जनाउँछ। बैंकले जारी गर्न लागेको एफपिओमा धितोपत्र बोर्डबाट अनुमति पाएका आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सकिने छ।
बैंकले एफपिओ जारी गरेसँगै संस्थापकतर्फ ५१ प्रतिशत अर्थात ४ अर्ब १२ करोड रुपैयाँ र सर्वसाधारणतर्फ ४९ प्रतिशत अर्थात् तीन अर्ब ९५ करोड रुपैयाँ पुग्ने छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।