राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को एसईईको नतिजा अघिल्लो हप्ता सार्वजनिक गर्यो। नतिजा सार्वजनिक भएसँगै अघिल्ला वर्षमा जस्तै यस वर्ष पनि गुणस्तर खस्किएको चिन्ता र गुणस्तर बढाउन अपनाउनुपर्ने उपायहरूबारे चर्चा भइरहेको छ। जस्तो नतिजा सार्वजनिक भएको छ, त्यसको कारण के हो? अब विद्यार्थीले कस्ता विषय रोजेर आफ्नो अध्ययन अगाडि बढाउने? कस्ता शैक्षिक संस्था छान्ने? अभिभावकको भूमिका के हुने? जस्ता विषयमा नेपाल लाइभका लागि भूपेन्द्र शाहठकुरीले शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइरालासँग गरेको कुराकानी:
एसईईको नतिजा अपेक्षा गरिएजस्तो नआएको चर्चा भइरहेको छ। यसलाई कसरी नियाल्नुभएको छ?
एसईईमा भनेजस्तो नतिजा नआउनुको सिधा कारण हो, शिक्षकले पढाएनन्। विद्यार्थीले पढेनन्। दुईवर्ष नपढे पनि पास हुन्छन् भन्ने सोच थियो। शिक्षकले पनि नपढाए हुन्छ भन्ने सोचे। विद्यार्थीहरुले पनि नपढे हुन्छ भन्ने मनसाय राखे। त्यसैकारण यसपटकको एसईई नतिजाले लक्ष्य हासिल गर्न सकेन।
विद्यार्थीहरुलाई ग्रेडिङ प्रणालीले पनि अलमल्याएको हो?
एसईईको ग्रेडिङ प्रणालीमा विद्यार्थीहरु अलमलिनुपर्ने कुनै कारण छैन। यो कुनै हाउगुजी होइन। ग्रेडिङ प्रणाली भनेको सामान्य खेतीवालाले गरिरहेको प्रणाली हो। जस्तै, खेतीवालाले फर्सीलाई फर्सीतिर र काक्रोलाई काँक्रोतिर राख्छ। साना-साना फर्सी एक ठाउँमा राख्छ। कुहिएका फर्सी अर्को ठाउँमा राख्छ। साना फर्सी र ठूला फर्सीको मूल्य फरक ढंगले राखेर बेच्छ। कुहिन थालेको फर्सी भैंसीलाई कुँडो बनाएर खुवाउँछ। ग्रेडिङ प्रणाली भनेको यस्तै हो।
ग्रेडिङले के फरक पार्यो त? यसलाई शिक्षकले उपयोग गर्न जानेनन् अर्थात चाहेनन्। राम्रो ग्रेडिङ भन्दियो भने टन्टै साफ भने जस्तो भयो। ग्रेडिङ गरेपछि त त्यही अनुसारको औषधि गर्नुपर्छ। जस्तो, स्याउकै उदाहरण लिऔँ। ठूला-ठूला स्याउ छन् भने त्यसलाई बंगलादेश पठाउनुपर्ला। अलि बिग्रेको स्याउ कालिकोटमै राख्नुपर्ला। त्योभन्दा अलि राम्रो स्याउलाई बर्दिया वा नेपालगञ्ज झार्नुपर्ला। किसानले गर्ने यही काम नै ग्रेडिङ हो। ग्रेडिङ अनुसार उपचारको व्यवस्था भएन होला। तर ग्रेडिङले असर पर्यो भन्नुचाहिँ शिक्षकलाई एउटा गतिलो बहाना मात्रै हो भन्ने लाग्छ। नत्र, ग्रेडिङ प्रणालीले विद्यार्थी र शिक्षकलाई असर पार्ने होइन।
अर्को कुरा, नपढ्दा पनि नम्बर हालिदिने स्थितिचाहिँ घातक हो। त्यो शिक्षकले गर्यौं। विद्यार्थीले पनि नपढ्दा हुन्छ भन्ने सन्देश बोक्यो। त्यो पनि घातक हो। अभिभावकमा नपढाए पनि हुने रहेछ भन्ने कुराको असर देखापर्यो। अहिले देखियो नि, ३५ नम्बर नल्याए पनि विद्यार्थीहरु खुरुखुरु पास भए। ३५ भनेको ३० नम्बर हो। ३० भनेको ५ नम्बर हो। यसको अर्थ, ३५ नम्बर आएन, ३० ले पास हुने भयो। ५ नम्बर भनेको शिक्षकले २५ नम्बर हालिदिएको छ। त्यो भनेको पनि ५ नम्बर हो। ५ नम्बर ल्याउन नसक्ने मान्छे भनेको त फेलै हो नि त, होइन र? त्यसैले नतिजाचाहिँ एकदमै कमजोर भएको हो।
विद्यार्थीले मेरो क्षमता यो छ, म यसमा अगाडि बढ्न चाहन्छु भन्ने हो। क्षमता छैन भने, मचाहिँ पढिखान्न, गरिखान्छु भन्ने हो। गरिखाने कुरामा अघि बढ्ने हो
यसपटक एसईईको नतिजा राम्रो नआउनुमा कोरोना महामारीलाई दोष लगाउने गरिएको छ नि?
शिक्षकहरुले कोरोनालाई दोष लगाए। सरकारले पनि कोरोनाकै कुराकानी गर्यो। त्यो फट्याइँ हो। फट्याइँ किन भन्छु भने जागिर खाइसकेपछि कोरोनाले यस्तो र उस्तो रिजल्ट भयो भन्न पाइन्छ र? जागिर खाइसकेपछि के कसरी समाधान गर्ने भन्ने पो बुद्धि चाहिन्छ। हलो जोत्न गइसकेपछि तपाईंको बारीमा घाँस रहेछ, बारी सम्म परेको रहेछ, जोत्न सक्दिँन भनेर पन्छिन मिलेन नि त। ढुंगा वा घाँसपात भएको बारी छ भने कसरी जोत्ने, सानसाना फोगटा छ भने कसरी जोत्ने भन्ने कुरा त हली भइसकेपछि मैले जान्नुपर्यो नि त। त्यस किसिमले शिक्षकलाई तयार पार्न सकिएन। शिक्षकलाई त्यो कुरा न राजनीतिक दलले जिम्मा लगाउन जान्यो। न सरकारका कर्मचारीहरुले गरे। न शिक्षक महासंघहरुले गरे। त्यो समस्या हो। विद्यार्थी कमजोर भएको भनेको शिक्षकले काम गर्न नसकेर हो। मैले बुझ्ने त्यसरी नै हो।
गुणस्तर बढाउन कसले के गर्नु पर्ला?
विद्यार्थी ग्रेडिङ भए, विद्यार्थीको हालत थाहा भयो। अघि मैले किसानले गर्ने ग्रेडिङको कुरा गरेँ नि। कुनचाहिँ ग्रेडको आलुलाई के गर्ने? कुनचाहिँ ग्रेडको स्याउलाई के गर्ने? कुनचाहिँ ग्रेडको फर्सीलाई के गर्ने? उसले ग्रेडिङ गरेपछि त्यही अनुसारको व्यवहार गर्छ। शिक्षकले पनि त्यही गर्नुपर्छ। त्यो भनेको राम्रो विद्यार्थीलाई 'स्याबास! तिमीहरु अब्बल भयौ' भन्नुपर्यो। अलिकति कमजोर विद्यार्थीलाई 'ल, त्यसलाई सघाइदेऊ' भन्नुपर्यो । त्योभन्दा पनि कमजोर विद्यार्थीलाई अतिरिक्त कक्षा दिएर हुन्छ कि, ट्युसन पढाएर हुन्छ कि, के गरेर हुन्छ, उसको स्तर बढाउनुपर्छ। त्योभन्दा पनि कमजोर विद्यार्थी छ भने उसलाई 'गरिखाने बाटो' मा लगाउने हो। उसको विशेष सिप केही छ कि? त्यो पालिकासँग समन्वय गरेर काममा लगाउन पनि सकिन्छ।
अभिभावकको भूमिका के हुनु पर्छ?
अभिभावकले मेरो छोराछोरीले यो गर्नसक्छ भनेर त्यतैतिर लैजानुपर्छ। त्योभन्दा बढी अभिभावकले गर्न सक्दैन।
विद्यार्थीले के गर्ने?
विद्यार्थीले मेरो क्षमता यो छ, म यसमा अगाडि बढ्न चाहन्छु भन्ने हो। क्षमता छैन भने, मचाहिँ पढिखान्न, गरिखान्छु भन्ने हो। गरिखाने कुरामा अघि बढ्ने हो। सरकारले चाहिँ गरिखाने जुन तरिका छ, त्यसलाई कसरी अगाडि बढाउने भन्ने हो। त्यो सरकार भनेको स्थानीय सरकार हो। माध्यमिक तहसम्मको स्कुल उसको मातहतमा हो भने त्यही सरकार अग्रसर हुन जरुरी छ।
कक्षा ११ मा भर्ना हुँदा दुई वटा कोर्षमा मानविकी लिन्छौं, तीन वटा कोर्षमा विज्ञानको लिन्छु र एउटा कोर्ष अरु नै लिन्छु भनेर विद्यार्थीले भन्छ भने खुरुक्क पढ्न दिनुपर्छ
एसईईलाई किन यति धेरै महत्त्वले हेरिन्छ?
एसईईका बारेमा हामीले १० कक्षालाई १२ कक्षा बनाएको र स्कुल माथि लगेको हो कि? क्याम्पसको आईए लेबललाई तल झारेको हो? भन्नेबारेमा सोच्नपर्ने हुन्छ। सरकारको भाषामा स्कुल माथि लगेको हो। स्कुल माथि लगेको हो भने ११ र १२ कक्षा स्कुल लेभल नै हो। उच्च माध्यमिक शिक्षामा यहाँ भर्ना हुन पाइन्छ भनेर लेख्न पाइँदैन। यहाँ व्यवस्थापनको पढाइ हुन्छ, यहाँ मानविकी पढाइ हुन्छ, विज्ञानको पढाइ हुन्छ भनेर भन्न मिल्दैन। विद्यार्थी मानविकीमा भर्ना होस् कि व्यवस्थापनमा भर्ना होस्, ऊ कक्षा ११ मै भर्ना हुने हो।
त्यसले गर्दा कक्षा ११ मा भर्ना हुँदा दुई वटा कोर्षमा मानविकी लिन्छौं, तीन वटा कोर्षमा विज्ञानको लिन्छु र एउटा कोर्ष अरु नै लिन्छु भनेर विद्यार्थीले भन्छ भने खुरुक्क पढ्न दिनुपर्छ। त्यो दिने किसिमको बुद्धि हाम्रो बजारमा भएका स्कुलहरुमा, उच्च माध्यमिक चलाउनेहरुमा , ११-१२ कक्षा चलाउनेहरुमा छैन। किनभने उनीहरुले क्याम्पस तल आएको बुझेका छन्। त्यसैले विशिष्टीकृत चाहिन्छ। स्कुल माथि गएपछि सामान्यीकरण हुन्छ। क्याम्पस तल आएपछि विशिष्टीकृत हुन्छ। हाम्रो बजारले कक्षा ११-१२ पढ्ने हिसाबले माध्यमिक चलाएको हो भन्ने बुझिन्छ। सरकारले चाहिँ स्कुल माथि गएको हो भन्ने बुझ्यो। अब यी दुई वटाको बुझाइलाई जोड्न सकिन्न।
यदि स्कुल माथि गएको हो भने, जे पढे पनि हुन्छ। जता पढे पनि हुन्छ। त्यसैले विज्ञानमा भर्ना भएँ भनेर पनि भन्न पाइँदैन। विज्ञानमा गयो तर उसलाई 'म्यानेजमेन्ट' को चार वटा विषय पढ्छुभन्दा पढाउनुपर्छ। नपढाएर सुख पाइँदैन। किनभने पैसा लिएको हुन्छ। स्कुलमा त्यो व्यवस्था छैन भने उसले खुलामा पढ्ने कि? अर्को स्कुलमा पढ्ने कि? त्यसको पैसाचाहिँ जुन स्कुलमा भर्ना भयो, त्यही स्कुलले तिर्नुपर्छ। त्यो हिसाब मान्ने हो भने ११ कक्षालाई मान्ने हो। अहिलेको पाठ्यक्रमले खोज्ने भनेको त्यहि हो।
एसईई उत्तीर्ण भएका विद्यार्थीलाई के पढ्न सुझाव दिनुहुन्छ?
पाठ्यक्रम अनुसार शिक्षक र बजार चलेको छैन। उच्च माध्यमिकका जति पनि छन्, ती निजीका छन्। निजीका मान्छेहरुले सरकारलाई टेर्दैनन्। क्याम्पस चलाएको भने विशिष्टीकृतको रुपमा बुझ्नुपर्छ। १२ कक्षा पास भएपछि विश्वविद्यालयले तपाईंले व्यवस्थापन, मानविकी पढेको रहेछ नि, निजीमा पढेको रहेछ नि भन्न पाइँदैन। विश्वविद्यालयले भन्ने भनेको तपाईंले जे पढ्ने हो, पढ्नुहोस्। तपाईंको यो कोर्ष पास गर्न सक्नुभयो भने राम्रो भयो, नत्र तपाईंले यो विषयलाई प्राथमिकता दिएर यो कोर्ष पढ्नुपर्छ भन्नुपर्छ। ऊ विज्ञान पढेर गएको भए पनि व्यवस्थापनमा भर्ना हुन पाउनुपर्छ। व्यवस्थापन पढेर गएको हो भने पनि विज्ञानतर्फ भर्ना हुन पाउनुपर्छ। सामाजिक पढेको भए पनि भर्ना हुन पाउनुपर्छ। नपुगेको कोर्ष उसले कहीँबाट पढ्छ। विद्यार्थीहरुले जुन क्षेत्र पनि पढ्न सक्छन्। पढेकै क्षेत्रमा जागिर पाइन्छ भन्ने जरुरी पनि छैन।
विद्यार्थीलाई मेरो सुझाव छ, जे विषय रहर लाग्छ, पढ। साइन्सका सबै कोर्ष पढ्न मन लागेको छ भने पनि अभिभावकसँग सल्लाह गर। किनभने पैसा त बाबुआमाले नै तिर्नपर्छ। बाबुआमासँग पैसा छैन भने निहुँ खोज्न पनि पाइएन। कि आफूले कमाउनुपर्यो। कि छात्रवृत्ति पाउनुपर्यो। त्यसैले आफूले चाहेको र रहर लागेको विषय पढ्न पाइएन भने अभिभावकसँग विकल्पसहित भन्नुपर्छ। यही पढ्नुपर्छ भन्ने केही छैन। किनभने बजारको भाषामा विषय हुन्छ। विद्यार्थीको भाषामा उसलाई रहर लागेको विषय पढ्न पाउनु उसको अधिकार हो। अब विद्यार्थीको रहरलाई प्राथमिकता दिने कि? साहुजीहरुले खोलेको स्कुललाई प्राथमिकता दिने? यत्ति हो लडाइँ। साहुजीले खोलेको स्कुल भनेको ११-१२ कक्षामा पढाइ हुने व्यवस्थापन, मानविकी, विज्ञान पढाइ हुन्छ। त्यो भनेको सरकारको भाषामा गल्ती कुराकानी हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।