नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाले प्यानल नै बनाएर प्रतिश्पर्धा गरेका थिए। अन्य प्रतिश्पर्धीभन्दा बढी मत पाएपछि यी दुईले दोस्रो चरणमा भिडेका थिए। देउवाले कोइरालालाई पराजित गरे, तर महाधिवेशनपछि पनि यी समूह कायम रहे। अहिले संस्थापन पक्षसँग असन्तुष्ट कोइराला समूह निरन्तर छलफलमा छ। पार्टी सभापति तथा प्रधानमन्त्री देउवाको कार्यशैलीमा सुधार नदेखिएको भन्दै दबाब बढाउन उक्त समूहले छुट्टै भेला र बैठक गरिरहेको छ। कोइराला समूहको भेलाको अर्थ, कांग्रेसको वर्तमान अवस्था र गठबन्धनका विषयमा उपसभापति धनराज गुरुङसँग नेपाल लाइभका लागि पुष्पा केसीले गरेको संवाद:
अचेल तपाईंहरुको समूह (सभापति शेरबहादुर देउवाइतर)को बसाइ खुब बाक्लिएको छ। के विषयमा छलफल भइरहेको छ?
चिया बसाइ मात्रै हुन सक्छ नि, यसलाई अनौठो मान्नुहुँदैन। बसौं, कुरा गरौं, पार्टीका विषयमा चासो र चिन्तनका विषयमा छलफल गरौं भनेर बस्ने काम भइरहेको छ। यसलाई एकदमै आश्चार्यको विषय बनाउनुहुँदैन।
पार्टी सभापति देउवाको कार्यशैलीप्रति असन्तुष्टि देखिन्छ नि?
सभापति मात्रै होइन, पार्टीलाई नेतृत्व गरिरहेका कांग्रेस नेताहरुको कार्यशैली परिवर्तन हुनैपर्छ। सिद्धान्त र पार्टी मात्रै होइन, नेतालाई हेरेर पनि जनताले मतदान गर्छन्। त्यसकारण नेता कस्तो छ भन्ने कुराले पनि अर्थ राख्छ। नेतृत्वको व्यवहार, कार्यशैली र जिम्मेवारी आदि जनताले हेरिरहेका हुन्छन्। मूल नेतृत्वले आफ्नो कार्यशैलीमाथि ध्यान दिनुपर्छ, किनकि हाम्रो कार्यशैलीमाथि कसैले प्रश्न नउठाओस्।
महाधिवेशनमा कांग्रेसको रुपान्तरण मूल अजेन्डा थियो र कार्यकर्ताले अनुमोदन गरे। रुपान्तरण चाहिँ कहिले देख्न पाइने हो?
रुपान्तरण भनेको आफैंबाट सुरु गर्ने हो। आफैं बदलिने हो। हामी बदलिएर काम गरिरहेका छौं। मैले निर्वाचित हुनेबित्तिकै अन्य कार्यक्रम नपर्दा लगातार केन्द्रीय कार्यालयमा हुनेछु भनिरहेको छु। कार्यक्रम परेकोबाहेक भ्यालीमा हुँदा केन्द्रीय कार्यालय गइरहेकको छु। म हुँदा अरु पदाधिकारी साथीहरु पनि त्यहाँ पुगेको देख्छु। आफैं रुपान्तरित भएपछि पार्टी रुपान्तरित हुन्छ। आफैं रुपान्तरित नभएपछि पार्टी रुपान्तरण गर्न सकिँदैन।
अहिले दबाब बढाउन खोजेजस्तो देखिन्छ। सभापतिप्रति तपाईंहरुको आशंका के हो?
सभापतिप्रति आशंकाभन्दा पनि पार्टीप्रतिको चिन्ता हो। पार्टीलाई अझ राम्रो सवल र सशक्त बनाउन सकिन्छ। वैचारिक र सैद्धान्तिक रुपमा सबल बनाउन सकिन्छ। त्यो भएन कि भन्ने हो? २०१५ सालमा पनि पार्टीले लोकप्रिय मत ३७ प्रतिशत ल्याएको थियो। अहिले २०६९ सालमा लोकप्रिय मत हेर्दा झन्डैझन्डै ३४ प्रतिशत छ। हामीले यसबीचमा के गर्यौं? किन हाम्रो मत बढेन? के यसैमा रमाउने हो वा ५१ प्रतिशत लोकप्रिय मत बनाउने हो? नेताप्रतिको आशंकाभन्दा पनि चिन्ता त्यहाँनेर छ।
पार्टी सभापति देउवा विधानविपरीत अघि बढेको आरोप छ। सशक्त हस्तक्षेप भनिरहनुभएको छ। कस्तो हस्तक्षेप हो?
सशक्त हस्तक्षेप भनेर केही साथीहरुले भन्नुभयो होला। हाम्रो कुरा पार्टीलाई ट्र्याकमा ल्याउने हो। यही ढर्राबाट पार्टी चल्दैन। पार्टी ठीकै रुपमा चलिरहेको भए त किन भेटघाट छलफल गर्नुपर्थ्यो? हामीले यही पार्टीलाई सबलीकरण गर्दै जाने हो। अर्को खोल्ने होइन। पाखुरामा चिल्लो दलेर रेस्लिङ गर्न जाने हैन। पार्टी सभापतिलाई सहयोग नै पुर्याउने हो। हामीले उठाएका कुराले पार्टी र पार्टी सभापतिलाई सहयोग नै पुग्छ।
तपाईं सहयोग भन्नुहुन्छ। देउवा पक्षका मान्छेहरु विपक्षलाई कांग्रेसमा पनि किचलो छ भन्ने सन्देश दिन खोजेको आरोप लगाउँछन् नि?
मैले सुशील कोइराला पार्टी सभापति र प्रधानमन्त्री हुँदा संसद्मा भनेको थिएँ- यो देश नेताहरुले चलाइरहेका छैनन्, माफिया र विचौलियाले चलाइरहेका छन्। म बोल्नका लागि कसैले अनुहार हेर्दिनँ। हामी देशलाई बिग्रिन नदिन बोल्ने हो। कसैले नेतृत्वको चाकडी गर्ने भनेको मन्त्री बन्न होला। मेरै पार्टीबाट पनि मभन्दा असक्षम मन्त्री भएको देखिरहेको छौं। चाकडी गरेर मन्त्री बनेर झन्डा हल्लाउनका लागि मात्रै राजनीति हो? वा रुपान्तरणका लागि हो? रुपान्तरणकका लागि पार्टी हो। रुपान्तरणकका लागि योजना र नीति निर्माण गरौं भनेर हामी छलफल गरिरहेका छौं। हामी र उनीहरुबीच फरक यहीँनेर छ।
पहिले ओलीजी आए र गए। फेरि देउवा पनि आए र गए मात्रै भनेपछि राजनीतिको के अर्थ छ र? हिजो ठूला-ठूला भ्रष्टाचारका कान्ड आए। त्यसलाई पटाक्षेप गर्ने वा बाहिर निकालेर कारबाहीको दायरामा ल्याउने? प्रश्न यो हो। मैले केन्द्रीय कमिटी बैठकमा पनि भ्रष्टाचार कान्डको निष्पक्ष छानबिनको माग गरिरहेको छु। भ्रटाचारका फाइल मुकदर्शक भएर घर्रामा लुकाउने भए के अर्थ छ?
कांग्रेस नेतृत्वसँग त्यो आँट होला त?
आँट गर्नुपर्यो नि। त्यही सुझाव दिन हामी बैठक बस्यौं होला नि त। केपी ओली प्रधानमन्त्री हुँदा सम्पत्ति शुद्धीकरणदेखि अनेक विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत लगिएको छ। हामीले त्यहीबेला केन्द्रीय कमिटीको बैठक गरेर विरोध गर्ने निर्णय गर्यौं र विरोध गर्यौं। हाम्रो सरकार बनेको एक वर्ष भइसक्यो। फिर्ता गर्नुपर्दैन? आफ्नै सरकार भएकाले त्यसलाई फिर्ता गर्नुपर्छ कि पर्दैन? त्यसलाई असहयोग गरिएको आशंका गर्नुहुँदैन। यहाँ त चाकडीबाजहरुले 'लौ शेखर कोइराला पार्टी फुटाएर ओलीसँग मिल्ने रे' सम्म भने। तिनलाई पार्टीको के माया छ र? सरकार हुँदासम्म के-के खान पाइन्छ, खान्छन्। हामीलाई त चिन्ता छ नि, पार्टीका लागि रगत र पसिना बगेको छ।
बजेटमै विचौलियाको प्रवेश गराएको आरोप लागेका अर्थमन्त्री जनार्दन शर्मासमेतलाई कांग्रेसले जोगाएजस्तो देखिँदैछ। कसरी त्यस्तो अपेक्षा गर्न सकिन्छ? नैतिकता नभएपछि जताततै बर्बाद हुन्छ। प्रतिपक्ष पनि किन घोसेमुन्टो लगाएर बसेको छ? अन्य विषयमा त्यत्रो दिनसम्म संसद अवरोध गर्यो। यति ठूलो नीतिगत भ्रष्टाचार गरेको छ। सीसीटीभी फुटेज गायब बनाइएकोछ। अनैतिक कार्य भएपछि किन प्रतिपक्षले संसद अबरुद्ध नगरेको? यसमा त अरबौंको घोटाला भएको छ। कि कालेकाले मिलेर खाउँ भाले हो कि?
तपाईंहरुकै आवाज पनि त सशक्त देखिएन नि?
पार्टी सभापतिलाई थाहा छैन होला र? अर्थमन्त्री जनार्दन शर्माले राजीनामा गर्नुपर्थ्यो। बजेट निर्माणमा अनधिकृत व्यक्ति प्रवेश गरेको भन्ने त सीसीटीभी फुटेज डिलिट गरेको विषयले प्रमाणित गर्यो। नत्र यति बजेदेखि यतिबजेसम्म भनेर देखाउन सक्नुपर्थ्यो। त्यो ताकत राख्न सक्नुपर्थ्यो। डिलिट भयो भन्नुजस्तो नालायकी के हुनसक्छ? योभन्दा छुद्रपन के हुन सक्छ? योभन्दा मुलुकप्रतिको अपराध हुन्छ? उहाँकै पार्टीको अध्यक्षले वा प्रधानमन्त्रीले राजीनामा गराउनुपर्थ्यो। त्यस्तो गरेको देखिएन। यस्तो हेर्दा दिक्क लाग्छ। नेपाल लाइभमार्फत् फेरि भन्छु- कि त सीसीटीभी फुटेज संसद्मा देखाउनसक्नुपर्छ, नभए राजीनामा दिनुपर्छ। ठूलाबडाले जे पनि गर्न पाउने यो देशमा?
तपाईंहरु देउवा सच्चिनुपर्छ भन्नेतिर संकेत गर्दै हुनुहुन्छ। तर, धेरैले त कांग्रेसलाई सभापतिकै लाइनमा हिँड्दा फाइदा हुन्छ भन्छन्। देउवाकै लाइनले स्थानीय तहको निर्वाचनमा कांग्रेसले त्यत्रो पालिका जित्यो। प्रतिनिधि सभामा पनि त्यही उपाय काम लाग्ला नि?
यो मुलुकलाई वास्तवमै सम्वृद्धिसँग जोड्ने या हामीले राजनीतिक दाउपेचमा टाउको गन्दै खाँदै गर्ने? यही कुरामा मेरो फरक मत छ। लोकतन्त्रमा टाउको गनिन्छ। तर, लोकतन्त्रमा टाउको गन्नु मात्रै ठूलो कुरा हो या जनतालाई सम्वृद्धिसँग जोड्ने हो? फरक यहीँनेर छ। हामी यसैमा मख्ख पर्छौं, मिलेर लड्दा ठूलो पार्टी नबने पनि धेरै जितिन्छ। राम्रो काम गरेपछि यसै पनि ठूलो पार्टी बनिन्छ।
तपाईंले भन्नुभएजस्तै दुईचार जनाले मन्त्री पाए। तर, मन्त्रीले के गरिरहेको छ, त्यो महत्वपूर्ण हो। मन्त्रीले राम्रो काम गरे म मान्छु। हरेक वर्ष असार आउँछ, हरेक असारमा किसानलाई मल चाहिन्छ भनेर नबुझ्ने अबुझहरु भन्छु म। यस्ता मानिसलाई तत्काल मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने होइन र? त्यस्ता अबुझहरु मन्त्री भएर बस्छन्, हामी कृषि प्रधान देश भन्छौं। मल चाहिन्छ असारमा भन्ने ६ महिना अगाडि थाहा थिएन? ६ महिनाअगाडि टेन्डर गरे के फरक पर्छ? यो सरकार बनेको त एक वर्ष भयो नि। टेन्डर किन नगरेको भने कमिसनको दुलो हेरेर बसेको हो। यस्ता मानिसबाट देशलाई के फाइदा भयो?
तपाईंकै पार्टी सभापतिले सात पटक प्रधानमन्त्री हुन्छु भन्दै हुनुहुन्छ। पाँच पटक बनिसक्नुभयो। काम चाहिँ महत्त्वपूर्ण होइन?
को कतिपल्ट प्रधानमन्त्री वा मन्त्री बन्छन् भन्ने कुराको खासै अर्थ हुँदैन। मेरो लागि यो कुनै विषयवस्तु बन्दैन। कि तपाईं ६ महिना वा एक वर्ष कति मन्त्री वा प्रधानमन्त्री बन्ने हो त्यतिखेर तपाईंको कार्यले जनता खुशी हुनुपर्छ। तपाईंको कामले मुलुक बदलिएको सूचना दिनुपर्छ, कुरा त्यो हो। मैले अघि नै भने त, केपी ओली प्रधानमन्त्री हुँदा पनि मलको हाहाकार, शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा पनि मलको हाहाकार। केपी ओली प्रधानमन्त्री हुँदा पनि वैशाख, जेठ, असारसम्म पनि विद्यार्थीले पुस्तक पाएनन्। अहिले देउवा प्रधानमन्त्री छन् र असार सकिन लाग्दा पनि विद्यार्थीले पुस्तक पाएका छैनन्। यही हो परिवर्तन?
परिस्थिति यस्तो छ, तर कांग्रेस त अंकगणितको राजनीतिमै रमाइरहेको जस्तो देखिँदैछ नि?
कांग्रेसको राजनीतिमा मात्रै होइन, नेपाली राजनीति नै यही अंकगणितले बिताइरहेको छ। जोड-घटाउ गर्ने, राजनीतिक दाउपेच मार्ने, अनि मैले यता पार्छु, उता पार्छु भनेर गर्ने यो नेपाली राजनीतिका लागि दुर्भाग्य हो। स्थानीय तहको निर्वाचनमा जसरी केही शहरहरुमा स्वतन्त्र साथीहरु निर्वाचित भए, हामी दलीय व्यवस्ठा मान्नेहरुका लागि एक चड्कन हो। अब पनि नब्युँझिने हो भने अर्को चड्कन पनि मार्छन्। त्यसकारण ब्युँझिनु पर्यो। नेता र परिवर्तन मात्रै परिवर्तन होइन, मुलुकको अवस्था परिवर्तन हुनुपर्छ।
तपाईंहरु छुट्टै भेला गरिरहनुभएको छ। तपाईंहरुले त्यसो नगरेर कांग्रेसभित्रको गुटको राजनीति अन्त्य गर्न पनि सक्नुहुन्थ्यो नि?
गुट मैले मात्रै चाहेर बन्ने हो वा सकिने हो र? गुट निर्माण कार्यक्रम भनेर राखेको हो र? त्यो त वैचारिक कुरा हो। विचारको मन्थन त जहाँ बसेर पनि गर्न पाइन्छ नि, पाइदैन र?
त्यसलाई निष्पक्ष बनाउन सकिन्छ नि?
निष्पक्ष त हामी मूल नेतृत्वमा बसेकाले बनाउने हो। मुख्य कुरा सभापति, उपसभापति र महामन्त्रीहरुले बनाउने हो। सभापतिबाट निष्पक्षताको अभियान सुरु हुनुपर्यो। हामीले न्यायोचित व्यवस्थापनको कुरा गरिरहेका छौं। भागबन्डाको कुरा नगरौं भनेर भन्दै आएका छौं। न्यायोचित व्यवस्थापन भयो भने गुटविहीन अवस्थामा पनि पुग्छ। तर, हिजो महाधिवेशनमा मत कता हालेको भनेर सम्झीसम्झी मार्क दिन थालेपछि त गुट सुरु हुन्छ। म धनराज गुरूङ एउटा गुटको उपसभापति होइन, सिंगो कांग्रेसको उपसभापति हो। सभापतिले पनि त्यही हिसाबले गुटको सभापति नभएर सिंगो पार्टीको सभापति बन्न सक्नुपर्यो। त्यही व्यवहार सबैबाट देखाउन सकियो भने तपाईंको सदिक्षाजस्तै कांग्रेस गुटकविहीन हुन्छ।
उपसभापति पूर्णबहादुर खड्का पार्टीभित्रै सक्रिय देखिनुहुन्छ। सभापति देउवाले पनि उहाँलाई अह्राएको र खटाएको देखिन्छ। तपाईं किन निष्क्रिय?
सक्रियता र निष्क्रियता भनेको के हो? म चाहिँ सिरक ओढेर सुतिरहेको छु र?
त्यसो भन्न खोजिएको होइन। पार्टीले जिम्मेवारी किन नदिएको भन्ने हो?
पार्टी सभापति बाहिर जाँदा उहाँलाई कार्यवाहक दिने सन्दर्भमा कुरा होला। सभापतिले सिंहदरबारतिर व्यस्त हुँदा ल पूर्णजी यस्तो गर्नुस् भनेको सन्दर्भमा तपाईंले सक्रियता र निष्क्रियता भन्नुहुन्छ भने मलाई भन्नु केही छैन। सक्रियता भनेको सिंहदरबार बालुवाटारबाट सानेपाबाट बालुवाटार दौडने मान्नुहुन्छ भने पनि मेरो भन्नु केही छैन। सक्रियता भनेको, पार्टी निर्माणका लागि पहिलो कुरा वैचारिक दृष्टिकोणलाई प्रष्ट पार्दै लैजानुपर्छ। मैले राखेका अजेन्डा यति कार्यान्वयन भए भने त्यतिखेर बल्ल सिंगो पार्टी निर्माण हुन्छ। सिंगो पार्टी ५१ प्रतिशतको बन्छ। मैले भ्रष्टाचारसँग सम्बन्धित ठूला कान्डहरुको निष्पक्ष छानबिन गरिहाल्नुस् भनेको छु। त्यसले पार्टी ठूलो बनाउला नि। ३३ प्रतिशत मत पाउनका लागि हामीले अहिले माओवादी, नेकपा एकीकृत समाजवादी, जसपा, जनमोर्चासँग मिल्यौं।
विधानले समयसीमा तोकेको विभाग समेत अहिलेसम्म गठन गर्न नसक्ने कांग्रेसबाट यस्तो अपेक्षा राख्न सकिन्छ?
पार्टी सभापतिले गर्ने हो। पार्टी सभापतिले असार १० गतेभित्र विभागहरु गठन गर्नुपर्ने थियो, तर गर्नुभएन भन्ने कुरा मैले पनि भन्दै आएको छु। सरकारमा व्यस्त भएर पार्टीको काम नभएको कुरा मैले पनि भन्दै आएको छु। अन्य विभागको गठनको कुरा वा नीति महाधिवेशनको कुरा पूर्णबहादुर खड्कालाई तोक्नुभएको छ। मैले स्वागत नै गरेको छु। नेविसंघको पनि कुरा भइरहेको छ। केही नभएको हैन, भएका छन्। तर, पर्याप्त हुनसकेको छैन। मुख्य कुरा, मैले भनेका अजेन्डामा पार्टी छ कि छैन भन्ने हो।
स्थानीय तहको निर्वाचनमा तपाईंहरु तालेमलको विपक्षमा हुनुहुन्थ्यो। उक्त निर्वाचनले तालमेलको आवश्यकता देखायो भन्ने आइरहेको छ। अगामी प्रतिनिधि सभा र प्रदेश सभाको तालमेलको विषयमा तपाईंहरुको धारणा के हो?
हामी स्थानीय तह निर्वाचनमा तालमेल गर्नुहुँदैन भन्ने पक्षमा थियौँ। तर, पार्टीको केन्द्रीय कार्यसमिति बैठकले तालमेल गरेर जाने निर्णय गर्यो। हामी त्यो स्वीकार गरेर प्लेनमा चढ्यौं र त्यो उड्यो। अब ल्याण्ड गर्ने अवस्थामा छ। त्यसैले अब यसलाई मंसिरसम्म पर्खनुपर्छ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आफू उठेर जित्नुपर्ने भएपछि तालमेलको विपक्षमा बोल्न तपाईंहरुलाई अप्ठ्यारो परेको हो?
यो पनि सत्य होइन। मुख्य कुरा, स्थानीय तहमा तालमेल नहुँदा राम्रो हुने थियो। हाम्रो आँकलन त्यही थियो। बहुमत केन्द्रीय समितिको बहुमतले निर्णय गरेपछि मान्नैपर्ने भएकाले मानेर अघि बढेका हौं। त्यतिखेर नै नगर्दा राम्रो हुने थियो। अब हामीले सहमति गरेर तालमेल गरिसक्यौं। यो एक प्रकारले विमान चढेकै जस्तो कुरा हो। अब यो ल्याडिङ नगरेसम्म त पर्खनै पर्यो। नत्र त दुर्घटना हुन्छ। यसलाई चलाइरहेको पाइलटको सट्टामा 'खै-खै म चलाउँछु' भन्ने अवस्था पनि छैन। त्यसैले मंसिरसम्म अब यसलाई हेर्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।