कुनै समय नेपालमा वैकल्पिक राजनीतिको आवश्यकता छ भनि युवाहरूको समूहले माइतीघर मण्डलादेखि बालुवाटारसम्म अभियान चलाए। नेपाल खुल्लै छ, इनअफ इज इनअफ र सरकार पारदर्शी होऊ भन्दै नारा लगाए। यही नाराकाबीचमा विवेकशील नेपाली पार्टीको जन्म भयो।
उनीहरूले प्रतिनिधि सभा निर्वाचनदेखि स्थानीय निर्वाचनसम्म भाग लिए। २०७४ सालको निर्वाचनमा उनीहरूले काठमाडौ महानगरमा राम्रै मत समेत प्राप्त गरे। उक्त पार्टीसँग साझा पार्टीको एकता भएर साझा विवेकशील पार्टीको निर्माण भयो। यो विभाजित हुँदै फेरि एक भए। यसरी फरक राजनीतिक अभ्यासका रूपमा शुरूवात भएको पार्टी अहिले छिन्नभिन्न भएको छ। पछिल्लो पटक २०७८ साउनमा रवीन्द्र मिश्रले विचार भन्दा माथि भन्ने दस्तावेज सार्वजनिक गरेपछि यो पार्टीभित्र चरम विवाद देखियो। यही दस्तावेजका कारण अधिकांश नेता कार्यकर्ता पार्टीबाट अलग भए। संयोजक मिलन पाण्डलाई मिश्रले कारबाही गरे। अन्य कतिपयमाथि पनि कारबाही गरियो। तर पछिल्लो पटक वैशाख ३० गते स्थानीय तह निर्वाचनमा पार्टीको अवस्था खस्कदो रूपमा मत पाएपछि मिश्रले पार्टी अध्यक्षबाट राजनीनामा दिएको घोषणा गरे। यो सँगै अहिले विवेकशील साझा पार्टीको भविष्यलाई लिएर अनेक प्रश्न उठ्ने गरेको छ। अझै पनि वैकल्पिक राजनीतिक दलको भविष्य रहेको तर्क गरिरहँदा आगामी निर्वाचनका लागि यही अभियानसँग जोडिएका रञ्जु दर्शना र पुकार बम लगायतले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन्। यही अभियानसँग जोडिएका व्यक्ति हुन् मिलन पाण्डे। उनी आफूलाई राजनीतिक अनि सामाजिक अभियन्ता भन्न रूचाउँछन्। उनीसँग वैकल्पिक राजनीति र विवेकशीलको भविष्य तथा स्वतन्त्र सांसदहरूको अवस्था बारेमा नेपाल लाइभले गरेको कुराकानी:
युवाले नेपाल बन्द होइन खुला राख्नुपर्छ भनेर सुरू भएको आन्दोलनदेखि युवाले राजनीतिमा हस्तक्षेप गर्नुपर्छ भन्नेसम्मको कुरा उठाउनु भयो। तपाईंहरूले वैकल्पिक राजनीतिको झिल्को बाल्नु भयो। तर यो लामो समयसम्म चल्नेगरी किन बलेन?
तपाईंले भनेका कुराहरू सही नै छन्। हामीले परालमै भए पनि झिल्को बालेका थियौं। यस मानेमा खुशी लाग्छ। यो रोकिएको छैन, फैलिएको छ। पछिल्लो समय यो फरक शैलीमा गयो होला। बालेन शाह, सुमन सायमी र रवि लामिछानेसम्म आइपुग्दा हामीले सुरू गरेको अभियानकै देन हो। यसरी अहिले राजनीतिमा हाम फाल्न कुनै न कुनै रूपमा विवेकशील साझा वा उज्ज्वल थापाको हात रहेको छ। उहाँहरूमात्र होइन त्यसको पछाडि रहेका हजारौं युवाहरूको पनि हात छ। क्रेडिट कुनै न कुनै रूपमा उज्ज्वल थापालाई नै लान्छ। हामी यस मानेमा सफल पनि भएका छौं। राजनीति सुरू गर्दा अब मुल राजनीतिक दल भनिएका नेपाली कांग्रेस र एमालेको विकल्पको खोजी हुनुपर्छ। यो एक दशकलाई हेर्ने हो भने हामी सफल भएका छौं। अहिले कांग्रेस र एमालेभित्र विकल्पको खोजी त्यही भित्रका नेताहरूले पनि खोज्न थालेका छन्। यसको विउ रोप्ने काम त हामीले गरेका हौं नि। यो राजनीतिले भएन भनेर कांग्रेस एमालेभित्रै नेता र कार्यकर्ताहरूले भन्न थालेका छन् नि। नेपालमा कम्युनिष्ट र कांग्रेसको विकल्प हुन्छ र खोजिनुपर्छ भनेर हामीले सुरु गर्यौं पछि बाबुराम भट्टराई पनि आउनु भयो। उहाँले लामो समयसम्म टिकाउन सक्नु भएन। त्यसपछि रवीन्द्र मिश्र आउनु भयो। त्यसपछि पनि विभिन्न पात्रहरू आउनु भयो । अहिले रवि लामिछाने आउनु भएको छ। आउनेक्रम त जारी नै भएकाले म चाँही खुशी छु। हामीले जे हिजो राजनीतिक रूपमा भनेका थियौं अहिले त्यसको खोजीमा आउन थाल्नु भएको छ। रवि लामिछानेले जे भन्नु भयो त्यो हामीले २०७० सालमै भनेका थियौं। त्यसैले हाम्रो राजनीति सही थियो भन्ने कुरा विस्तारै पुष्टि हुँदै गएको छ। यो राजनीति अब अघि बढ्छ र टिक्छ भन्ने नै हो। यो अब पक्कै पनि अघि बढ्छ। नयाँ आउनु भएकाहरूलाई सहकार्य गर्दै यो वैकल्पिक राजनीतिक शक्ति बन्ने कुरालाई लिएर जाने हो।
विवेकशील नेपाली हुँदै विवेकशील साझासम्म आइपुग्दा यो दलको पहिचान सकिने स्थितिमा देखिन्छ भन्ने टिप्पणी हुने गरेको छ। तपाईं आफैं पनि बाहिरिनु भयो, अनि मिश्र पनि बाहिरिनु भयो। अरूहरू पनि उक्त अभियान र दलमा देखिँदैनन्। उज्ज्वल अस्ताएसँगै यो दल पनि अस्ताएको हो?
नेपालीहरू संस्कृतिमा विश्वास गर्छन्। त्यसैले पनि घरको मुली मरेपछि दशा लाग्छ भने झै देखिएको छ। रवीन्द्र मिश्रले विचारभन्दा माथि देश भनेर दस्तावेज ल्याउनु भयो। यसले विवाद भयो। हाम्रो जुन उद्देश्य र अजेण्डाहरू थिए ती छाँयामा परे। यो सकिएको होइन, उत्तराचढाव हो। यो राजनीतिक यात्रा हो। हामीले वैचारिक विमतीलाई हेन्डिलिङ गर्न सकेनौं। हामीले यो एक वर्षमा राम्रो गर्यौं कि गरेनौं भनेर समीक्षा १० वर्षपछि गर्दा राम्रो होला। अहिलेको यो प्वाइन्टले विवेकशील पार्टीलाई कहाँ पुर्यायो त्यही समयमा समीक्षा गर्दा उपयुक्त होला। तत्कालीन समयमा हामी फरक पार्टी र नाम पनि हुन सकौंला। यो एकप्रकारको राजनीति यात्रा हो। मुख्य कुरा वैचारिक विमतीलाई हामीले हेन्डिल गर्न सकेनौं।
यो घटना महत्त्वपूर्ण तत्कालीन कालखण्डमा हुनसक्ने हुन्छ। विवेकशीलको विचार थियो कि थिएन भन्ने अहिले देखियो नि। रञ्जु दर्शना, पुकार बम र मिलन पाण्डेको विचार त रहेछन नि। हाम्रो यो बीचमा धेरै प्रशिक्षण भएको छ। हामीले विचारभन्दा माथि देश भन्ने जुन बन्द प्रशिक्षणमा लिन पायौं यो राम्रै कुरा होइन नि। आफूलाई थप परिपक्व बनाउन सबैलाई यो एक वर्ष लगानी भयो भन्ने हो। हाम्रो विगतको कार्यक्रम प्ले कार्ड लिएर सडकमा उभिएको मात्र थियो। व्यवस्था होइन अव अवस्था परिर्वतन हामीले भन्दै आएका थियौं। अहिले मूख्य राजनीतिक दलका गगन थापा र विश्वप्रकाश शर्माले पनि भन्न थाल्नु भएको छ। यो पक्षमा हामी अगाडि रहेछौं। हामी एकजुट भएर अघि बढ्न सकेनौं होला। तर हाम्रो यो परीक्षण थियो, यो इमान्दारितापूर्वक गरिएको एक्सेपेरिमेन्ट थियो। हामी असफल भयौं।
अहिले १ वर्षलाई मात्र हेरेर टिप्पणी गर्न मिल्दैन। हामी १० वर्षअघि प्ले कार्ड लिएर नेपाल खुल्लै छ भनेर निस्कदा वैकल्पिक राजनीतिको सुरूवात त भयो नि। जसको जगमा अहिले काठमाडौ महानगरमा बालेन शाह र सुनिता डगोलजस्ता युवाले नेतृत्व पाएका छन्। रञ्जु दर्शनाको उम्मेदवारी र उज्ज्वल थापाको त्यो हिम्मतका कारण नै अहिलेको नतिजा आएको हो। २१ वर्षको एउटा व्यक्तिलाई नयाँ आएको पार्टीले देखाएको साहास प्रशंसायोग्य नै हो नि। कोरोनाकालमा पुकार बलले अक्सिजन सिलिन्डर बोक्नेदेखि इन अफ इज इन अफको अभियान चर्चित नै छ। त्यस्तै सरकार पारदर्शी हुनुपर्छ भनेर १२ दिनसम्म अनसन बसेको कुरा पनि हाम्रै हो।
स्वतन्त्र उम्मेदवार जसले विचार प्रष्ट पारेको छैन, उसले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएर सांसद भएर केही गर्न सक्छ भन्ने लाग्दैन। नगर वा पालिकाको निर्वाचन भए अलग कुरा थियो। तर, यो संसद् फरक कुरा हो
विकेकशीलले विगतका वर्षमा १० वटा काम मध्ये सात वटाकाम राम्रो गरेको छ, तर ३ वटा चै सफल भएन रे भन्दैमा यो पार्टी नै सकियो वा असफल भयो भनेर टिप्पणी गर्न उपयुक्त हुँदैन। हाम्रो मूल्यांकन हेर्दा हामी डिक्सटिङसनमा पास भएका छौं। स्वतन्त्र उम्मेदवारीको कुरा आफ्नो आफ्नो अधिकार हो। मलाईं चाँही स्वतन्त्र उम्मेदवारीमा विश्वास र इन्ट्रस्ट छैन। म सांसद केका लागि चुन्दै छु भन्ने निश्चित कुरा छन्। कानुन बनाउने, सरकार गठन गर्ने , संविधान संशोधनसम्म सांसदको भूमिका हुन्छ। हामीले गण्डकी प्रदेशमा देख्यौं एक जना सांसदले सरकार गिराउने कि सफल पार्ने भूमिका खेल्न सक्ने रहेछ। त्यस्तै जनमत संग्रहमा लग्ने र देशका लागि नीति बनाउने कुरामा पनि सांसदले भूमिका खेल्छ।
स्वतन्त्र उम्मेदवार जसले विचार प्रष्ट पारेको छैन, उसले प्रतिनिधि सभाको निर्वाचनमा भाग लिएर सांसद भएर केही गर्न सक्छ भन्ने लाग्दैन। नगर वा पालिकाको निर्वाचन भए अलग कुरा थियो। तर, यो संसद् फरक कुरा हो। दलको खराब उम्मेदबार भन्दा राम्रो स्वतन्त्रलाई भोट नै नहाल्ने भन्ने मेरो होइन। दलीय प्रणालीमा स्वतन्त्र उम्मेवारी संकेतमात्र हो समाधान होइन। सकेसम्म संस्थालाई पनि अघि बढाउनुपर्छ। अन्तरिमकालमा स्वतन्त्र उम्मेदवार थ्रेटको रूपमा होला तर दीर्घकालिन समाधान होइन। रहरमा कसैले गरेको हो भने यो ६ महिना टिक्छ कि टिक्दैन।
रञ्जु दर्शना र पुकार बमको हकमा पनि मेरो यही टिप्पणी हो भने रवीन्द्र मिश्रको हकमा पनि यही हो। मलाईं पार्टीले कारबाही गरेको छ। तर निर्वाचन आयोगमा मेरै नेतृत्वमा छ। अब निर्वाचनमा भाग लिन पर्दा स्वतन्त्र उठ्नुपर्ने हुन्छ। यसो भन्दैमा मेरो दल र विचार हुँदैन भन्ने हुँदैन। त्यो एक प्रकारको अवस्थामात्र हो, अन्तत: उ कुनै दल र विचारको हुन्छ।
विवेकशील साझालाई अब तपाईंले नेतृत्व लिएर प्रतिनिधि सभा र प्रदेश सभामा जानुहुन्छ कि हुँदैन?
रवीन्द्र मिश्रले पार्टीका फरक दस्तावेज ल्याएपछि अधिकांश साथीहरूले पार्टी छोड्नु भयो। गोपी हमालदेखि महेश भण्डारी लगायतले छोड्नु भयो। यसले पार्टी एकताको मूल मर्म बोकेका साथीहरू केन्द्रीय सदस्यमा कमी भयो। अहिले पनि केन्द्रीय समितिमा रवीन्द्र मिश्रको विचारलाई सर्मथन गर्ने छ। यसलाई म नेतृत्व दिन सक्दिन। जुन विचारमा म सहमत छैन, त्यहाँ मैले नेतृत्व गर्न सक्दिन। अब जहाँबाट विवाद सुरू भएको थियो, त्यहीबाट थालनी गर्नुपर्ने मेरो कुरा हो। हामीले जुन पार्टी बनाउने भनेर सपना देखेका थियौं त्यहाँ जाने हो भने म नेतृत्व गर्न तयार छु। नेतृत्वमात्र होन साधारण सदस्य भएर पनि बस्न तयार छु। तर, नयाँ राप्रपा बनाउने हो भने म यसको नेतृत्वमा वा पार्टीमा रहनुको अर्थ हुँदैन। कांग्रेस र कम्युनिष्ट पनि भत्केका छन्। म वैकल्पिक राजनीति नेपालमा सम्भव छ भनेर आएको मानिस हुँ। त्यसैले मूल धारमा हामीले विकल्प भनेको पार्टीजस्तो हुन सक्दैनौं। एउटा निर्वाचन वा अवस्थाले म आत्तिने मानिस होइन। आउने निर्वाचनमा जे उद्देश्यले खोलेका हौं त्यसमा हिँड्छ भने यसलाई राष्ट्रिय पार्टी बनाउन म तयार छु। यदि होइन भाइ राप्रपा वा अन्य भेरियन्ट बनाउने हो भने नेतृत्व लिनुको अर्थ छैन। यसो नहुने हो भने फरक रूपमा यो मुभमेन्ट अघि बढ्छ र विवेकशील साझा सकिन्छ।
तपाईंहरूको शुरूवात र रवी लामिछानेको शुरूवात मिलेको देखिन्छ। रवीको जस्तै सुरूमा तपाईं पनि राष्ट्रिय झण्डा लिएर आउनु भएको थियो। निलो रङको संयोजन देखि रवी लामीछाने र उज्ज्वल थापा दुवै अमेरिकाबाट फेर्केर आउनु भएको छ। लगभग रूप मिल्छ। रूप त्यहि लिएर उहाँ आउनु भएको छ। यस्ते स्थितिमा तपाईंहरूले भन्दै आउनु भएको चिज उहाँले नेतृत्व लिन लाग्नु भएको छ। उहाँलाई सहयोग गर्नु हुन्छ? हुन्न?
हुन्छ। किन हुन्छ भने उहाँको जुन ‘स्टेटमेन्ट’ सुनेको छु त्यो बुँदाहरू हामीले २०७० बाट भन्दै आएका हौं। विवेकशील नेपालका पुराना पत्रहरू हेर्नु हुन्छ भने त्यहाँ हामीले ति कुरा सबै उल्लेख गरेका छौं। मेरो अध्यक्षतामा भएका वैठकका निर्णयहरू हेर्नु होस्। त्यसकारण हामीले सर्मथन नगर्ने भन्ने सवाल नै हुँदैन। तर हाम्रा कमजारीबाट सिक्नलाई आग्रह गर्छु। व्यक्तिवादी नबनेर, टिमर्वकबाट काम गर्नलाई सिक्न आग्रह गर्छु।
नेपालको राजनीतिमा वैकल्पिक पार्टीहरू पानीका फोका जस्ता आउने फुटिहाल्ने भइरहेको छ। यो परिपक्व नहुनुको कारण के होला?
उद्देश्य के बोकेर आउने भन्ने सवाल हो। चुनावको सन्निकट पार्टी दर्ता गरेर चुनाव जितेर देश उल्ट्याउँछु भनेर आएको छ, तर नतिजा प्राप्त गरेन भने त पानीको फोकै भयो। हाम्रो कुरा गर्नु हुन्छ भने हामी त बीस वर्ष लगानी गर्छौं भनेर आएका हौं। योजना लिएर आएका हौं। हामी त पानीका फोका होइनौं नी। अहिले पार्टीमा उदार–चढाव आएको छ। त्यो त स्ववाभिक प्रकृया हो। हामी उत्कृष्ठ पानी थिएनौं र सकिएका पनि छैनौं। त्यसैले उद्देश्य निर्वाचन बोकेर आयो भने पानीको फोको हुन सक्ला, तर हामी जस्तो स्पष्ट लक्ष्य लिएर आएका त सफल भइहाल्छ नी।
नेपालमा वैकल्पिक शक्तिको आवश्यकता रहेको छ भन्ने स्पष्ट देखियो। जसका लागि वैशाखको स्थानीय तहको निर्वाचनलाई हेरे पुग्छ। त्यस्तै यदी भारतमा हेर्ने हो भने केजरीवालको पार्टी ‘आप’ ले आफूलाई जसरी विस्तार गरिरहेको छ त्यसको पाठ यहाँ सिक्न किन सकिएन? हाम्रो कार्यदक्षता कम भएर हो? वा वैकल्पिक शक्तिको आवश्यकता बारे सूचित गर्न नसकेर हो?यसको २ वटा कारण छन्। पहिलो कारण राजनीतिक काल खण्ड हो। जस्तो केजरीवालको पार्टीका नेताहरूले मार्ग परिर्वतन गरेका छैनन् र आवश्यकता पनि छैन, जस्तो हाम्रोमा रह्यो। उनीहरू संविधानमा प्रस्ट छन्। किनकी उनीहरूको संविधान ७० वर्ष लामो छ। हाम्रोमा त्यसैका वरिपरी बहस छ। मतलब हामी संस्थाको स्थायित्व वरिपरी बहसमा छौं।
दोस्रो, राजनीति गर्न आएका वैकल्पिक पार्टीहरूले ‘टेक अफ’ लिन सकेनन्। जसको लागि हामीले रञ्जु र बालेनलाई हेर्न सक्छौं। रञ्जुले हारिन्, उनी छायाँमा परिन्। बालेनले जिते उनले अब ‘टेक अफ’ लिन सक्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।