घर पहिलो पाठशाला हो भन्छन्, तर आजभोलि दोस्रो पाठशालाको जिम्मेवारी पनि काँध हालेर हिँड्न बाध्य छ। महामारीले विश्वलाई थरथरी हल्लाएपछि, स्कुल- कलेज निदाइरहेका छन्। अहिले स्कुल भनेको मोबाइल-ल्यापटप हो भने कक्षाकोठा भनेको स्क्रीन हो।
बाह्र वटा बर्थ डे केक काटिसकेकी कोहिनुर यसै वर्षबाट रजश्वला हुन थालेकी छे। पन्ध्र वटा नयाँ भित्ते पात्रो देखिसकेको सबलको नाक र ओठको बीचमा जुङ्गाको मसिना रेखी बसिसकेछ। दाजुबहिनी मिलेर मोबाइल स्कुलमा दैनिक सात-आठ पिरियड पढ्छन्। उनीहरूका बाबुआमा दुवै जागिरे भएकाले दिनभर कार्यालयमै व्यस्त हुन्छन्।
आज शनिबार भएकोले बल्ल घर 'घर' बन्न पाएको छ। मोबाइल स्कुललाई शनिबारको छुट्टी दिइन्छ। श्रीमान् श्रीमती पनि शनिबारको दिन घरको चौतारीमा कामको भारी बिसाएर विश्राम गर्दै छन्।
आमाले कोहिनुरको पेट भुक्क बढेको देख्छिन्। कोहिनुरलाई नजिक बोलाएर सोध्छिन्, `के भएको पेट त ठूलो देखिन्छ!'
कोहिनुरले जवाफ फर्काउँछिन्, `खोइ मम्मी!´
आमालाई चिन्ता लाग्छ। `के भएर पेट बढ्यो होला! मोटाएर बढेको भनूँ भने पनि हातखुट्टा मसिना छन्। यता आउनुस् त कोहिनुरको बाबा।´
कोहिनुरको बाबाले नियालेर हेर्छन्। `कतै पेटमा ट्युमर पो बढ्यो कि? भोलि बिदा मिलाएर अस्पताल लैजानुपर्छ।´
घरमा केही बेर कोहिनुरको पेटलाई लिएर चर्चा हुन्छ। त्यसपछि नेपालीले सर्वोत्तम मानेको खाना दाल, भात, तरकारी र खसीको मासुसँग सधैँजसो भन्दा एक डल्ला बढी भात खान्छन् ।
****
आज आइतबारको दिन श्रीमान् श्रीमती दुवैले कार्यालयमा बिदा लिएका छन्। कोहिनुरलाई लिएर अस्पतला जाने तरखरमा छन्।
अस्पतालमा सबै जाँच गरिसकेपछि डाक्टरले कोहिनुरको बुवाआमालाई भित्र बोलाए। मोटामोटा चश्माभित्र मोटामोटा आँखाको नानी भएको डाक्टरले मोटो भुँडी मुसार्दै हात मोटो जुङ्गामा लगेर भन्न थाले, `हेर्नुस् कुरा अलि गम्भीर छ।´
श्रीमान् श्रीमतीले अलि डराएको भावमा अकमकाउँदै भने, 'प्रस्ट भन्नुस् न डाक्टरसाब, कुरा के हो?´
मोटो जुल्फी मोटैऔँलाले मिलाउँदै डाक्टरले भने, `यस्तो केस कमै मात्र भेटिन्छन्। म जे भन्न गइरहेको छु, त्यसले तपाईंहरूको मनमा पहिरो जानेछ। मनलाई दह्रो बनाएर सुन्नुहोला। तपाईंकी छोरी गर्भवती छिन्। म आफैँलै यो कुराको पत्यार नलागेर डबल चेक पनि गरेँ। पुनः रिपोर्ट पोजिटिभ देखिएको छ। पाँच महिनाको गर्भ बोकेकी छिन्, तपाईंकी छोरीले।
श्रीमान् श्रीमतीको मुहारमा एक्कासी रात पर्छ। घुमिरहेको पङ्खाको हावाले विष वर्षात् गराए जस्तो लाग्छ। मनभित्र यसरी आँधी आउँछ कि अक्क न बक्क हुन्छन्। जब अचनाक अकल्पनीय कुराको सामना गर्नुपर्छ, त्यतिबेला मुटुको धड्कन बढ्नु स्वभाविक हो। रक्तसञ्चारले प्रकाशको गति नाघ्छ।
अवाक् भएर ट्वाल्ल परेका दम्पतीले केही बोल्न खोजिरहेका हुन्छन्, तर भक्कानो छुटेर बीचमै अवरुद्ध हुन्छन् शब्दका ध्वनिहरू।
***
एक सेकेन्डको अन्तरालमा जीवनको घाम उज्यालोबाट बादलको घेरामा परेर अँध्यारोमा परिणत हुनसक्छ भन्ने कुराको ज्ञात हुन्छ, दम्पतीलाई।
रोगीलाई निरोगी बनाउन उभिएको हस्पिटलको प्राङ्गणमा यति बेला निको नहुने रोग लिएर उभिएको छ एउटा परिवार।
उनीहरूले छोरीलाई हस्पिटलको कुनामा लगेर सोध्छन्, `कसरी भयो यो सब? कसले गर्यो?´
छोरीको मुखबाट बोली फुट्दैन। डराए जस्तो, आत्तिए जस्तो, एकोहोरो आँखाबाट आँसु मात्र बगिरहन्छ।
फेरि बुवाले सोध्छन्,`तँलाई कसैले जबर्जस्ती गरेको हो?´
छोरी मौन छिन् मात्र आँखाको आँसु बोलेको छ।
दम्पतीलाई अब समाजको सामना कसरी गर्ने भन्ने कुराले पनि सताउन थालेको छ। छोरीको भविष्य र चरित्रलाई लिएर हुने कुराहरू पनि सोचिरहेका छन्। एकैपटक दिमागमा विचारहरूको खलबली भइरहेको छ। समस्याको समाधानको बाटो खोजिरहेका छन्।
एकछिनपछि उही डाक्टरसँग सल्लाह लिन जान्छन्। 'डाक्टरसाब यो किशोरीले बच्चा जन्माउने त कुरा भएन, यसलाई गर्भपतन गराउन के गर्नुपर्ला?
`हेर्नोस् नेपाल सरकारको कानुनअनुसार गर्भपतनका लागि केही मापदन्ड छन्। गर्भवतीको ज्यान खतरा पुग्न सक्छ वा निजको शारीरिक वा मानसिक स्वास्थ्य खराब हुन सक्छ वा विकलाङ्ग बच्चा जन्मन्छ भनी चिकित्सकले राय दिए अथवा जबर्जस्ती करणी वा हाडनाता करणीबाट गर्भ रहन गएको भए त्यस्ती महिलाको मञ्जुरी बमोजिम अठ्ठाइस हप्तासम्मको गर्भलाई पतन गर्न सकिन्छ। किशोरीको उमेर पनि सानो भएकोले यो काम नेपाल सरकारको मान्यता प्राप्त क्लिनिकले मात्र गर्छ। तर, त्यहाँ तपाईंको छोरीको केस अलि गम्भीर भएकोले प्रक्रिया पुर्याउन पर्ने हुन्छ। यो एकदम रिस्क पनि हुनसक्छ। ज्यानै पनि जान सक्छ। तपाईंहरू तयार हुनुहुन्छ भने मेरो क्लिनिकमा म यो काम गर्नेछु। भोलि तलमाथि भयो भने हाम्रो संस्था जिम्मेवार हुने छैन। स्वीकार छ भने भन्नुहोस्।´
दम्पती छलफल गर्छन्। जसरी भए पनि यो समस्याबाट उम्कने उनीहरूको सोचाइ हुन्छ। दुवैले स्वीकृतिको मुन्टो हल्लाएर घरतर्फ लाग्छन्। छोरीलाई कसैले बलात्कार गर्यो कि, कसैले फकाइफुलाइ पो गर्यो कि! गाडीभरि श्रीमान् श्रीमती दुवैको मनमा यही कुरा खेलिरह्यो।
निराश मन लिएर घरमा पुगे। सधैँजसो घरमा पुगेर आफ्ना थकानलाई थन्काउने दम्पतीको आजको दिन भने आकाशले थिचेको जस्तो पीडा महसुस भयो। सुरक्षा दिने भित्ताहरू खसेर आफ्नै जीवनलाई च्यापिरहेको अनुभूति भयो। चिसो शीतल हावा प्रवेश गराउने झ्यालको भेन्टिलेसनले बिजुलीको सयौं भोल्टको झट्का प्रवेश गराइरहे झैँ भयो।
घरमा कोही थिएन। छोरालाई यताउता खोजे, भेटेनन्। कल गर्दा मोबाइल स्वीच अफ आयो। छोराको कोठामा एउटा कपीको पाना देखे। अनि कपीमा उतारिएका अक्षर पढ्न थाले:
यति बेला तपाईँहरू जिन्दगीको सबैभन्दा ठूलो पीडाको समयमा हुनुहुँदो होला। अप्रत्याशित घटनाले विक्षिप्त अवस्थालाई सामना गर्न फलामको भात खानु जस्तै भएको होला। जीवनमा गल्ती र अपराध दुईवटा कुरा मान्छेले गरिरहने रहेछ। गल्ती क्षम्य हुन्छ। सुधार गर्ने बाटो हुनसक्छ। तर, मैले गरेको गल्ती होइन, अपराध हो। अपराध पनि अक्षम्य। सायद असुरले पनि यस्तो किसिमको अपराध गर्दैन होला। म यो मृत्युलोकको सबैभन्दा उच्चकोटीको अपराध गर्ने दानव भएको छु।
अनलाइन कक्षाको लागि इन्टरनेटमा भुलिरहँदा विभिन्न साइटहरूमा जाने बानी पर्यो। बिस्तारै मैले कक्षा बङ्क गरेर पोर्नसाइटमा हाम फाल्न थालेँ। पोर्नको लत मलाई यसरी लाग्यो कि, म एडिक्सनमा नै पुगेँ। दिनको एक पटक पोर्नसाइट भ्रमण नगरी मेरो चित्तै बुझ्न छोड्यो। पोर्नको लतले गर्दा ममा कामवासनाको तीव्र इच्छा हुनथाल्यो। मैले इच्छा परिपूर्तिको लागि हस्तमैथुनलाई जीवनशैलीमा जोड्न थालेँ। हस्तमैथुनले मात्र मेरो कामवासनालाई निर्मूल पार्न सकेन। शारीरिक सम्पर्कको लागि तिर्खाउन थालेँ। मेरो उमेरमा शारीरिक सुख सजिलै पाइने कुरा थिएन। म दिनरात यही कल्पनामा डुब्न थालेँ।
कामवासनाको अधिक चाहले म जनावर जस्तै हुन थालेँ। सँगै अनलाइन पढ्न बस्ने बहिनीमा आकर्षित हुन थालेँ। बहिनी नै सजिलो तरिकाले मेरो प्यास मेट्ने विकल्प हो भन्ने कुराले मेरो मस्तिष्कमा जरा गाड्न थाल्यो। मैले बहिनीलाई पनि पोर्नसाइटको भ्रमण गराउन थालेँ। बहिनी बिचरा सानै थिइन्। उनलाई सही गलतको कुनै चेतना थिएन। मैले त्यसैको फाइदा उठाएर बहिनीलाई पोर्नमुभीमा गरिएका क्रियाकलाप गराउन थालेँ। काँचो माटोलाई मुछेर जस्तो पनि आकार दिन सकिन्छ। बहिनीसँग पनि मैले त्यहीँ गरेँ।
मान्छे जब वासनामा अन्धो हुन्छ, उसले सही गलत केही छुट्याउन नसक्ने रहेछ। मलाई मात्र मेरो यौन प्यासको पर्वाह थियो। हिजो जब बहिनीको पेट ठूलो देखिएको कुरा घरमा चल्न थाल्यो, मेरो दिमागमा शङ्का पस्यो। बहिनी कतै प्रेग्नेन्ट त भइनन्? मैले गुगलमा गएर हेरेँ, कुनै पनि किशोर र पिरियड भएको युवतीसँग सम्पर्क गर्दा बच्चा बस्ने सम्भावना हुने रहेछ।
यो कुराले म रातभर सुत्न सकिनँ। आफूले गरेको गल्तीको परिणाम सम्झेर लथालिङ्ग भएँ। सत्य जब सार्वजनिक हुन्छ त्यति बेला मैले कसरी फेस गर्ने कुनै आइडिया नै आएन।
मेरो जीवनका हरेक यात्राहरू जंक फाइलले भरियो। मैले जे भूल गरेँ, त्यसलाई डिबग गर्न सकिदैनँ। मेरो दिमागमा कस्तो खालको एप्लिकेसन आएर इन्स्टल भयो कि जसले मस्तिष्कलाई ह्याङ बनाएर परिवारको खुसीमा दु:खको स्टोरोजले मेमोरी फुल बनाउन पुगेँ।
हजुरहरूले मेरो भाग्यलाई सुनौलो मसीले लेख्न चाहनुहुन्थ्यो, तर मैले मेरो किबोर्डबाट आँसु मात्र लेखिदिएँ।
जे जे भयो, यसरी भयो कि डिलिट गर्ने कुनै अप्सन नै सफ्टवेयरमा बाँकी रहेन। म तपाईंहरुको अगाडि यो पापी अनुहार देखाउन सक्ने अवस्थामा थिइनँ। त्यसैले मैले यो समस्याबाट भाग्ने सोचेँ। त्यसैले कहिल्यै घर नफर्किने गरी टाढा जाँदैछु।
***
पत्र पढेपछि अचानक मुर्छा परेर ढलिन् श्रीमती। श्रीमानले पानी ल्याएर छम्किए। बिस्तारै आँखा खोलिन्। आँखा खोल्दा संसार पूरै अँध्यारो देखियो।
श्रीमान् पीडाको बोली बोले, ´अब के गर्ने?´
श्रीमती केही बोल्न सक्ने अवस्थामा थिइनन्। कापेको आवाजमा भनिन्, `बाँच्नुको कुनै अर्थ छैन, अब सबैले आत्महत्या गरौँ।´
श्रीमानले आँखाबाट बरबर्ती आँसु खसाल्दै भने, `यस्तो कमजोर कुरा नगर, जे हुनु भइसकेको छ। अब यो समस्याको समाधानतर्फ लाग्नु पर्छ।'
छोरा कता गयो अत्तोपतो छैन। दम्पतीले पहिला छोरीको गर्भपतन गराएर छोरालाई खोज्ने योजना बनाउँछन्। आफ्नै छोराको गल्तीले यो सब भएकोले उनीहरू प्रक्रियागत रूममा गर्भपतन नगराउने निर्णयमा पुग्छन्। जसरी हुन्छ कसैले थाहा नहुने किसिमले प्राइभेट क्लिनिकमै स्ट्याकसुटुक गर्भपतन गराएर यो समस्याको भारी बिसाउन चाहने हेतुले उही प्राइभेट क्लिनिकमा पुग्छ्न्।
डाक्टरको तलमाथि केही भयो भने जिम्मा लिन नसक्ने कुरामा सहमति भएर गर्भपतन प्रक्रिया सुरु हुन्छ। एकघण्टा पछि डाक्टर बाहिर निक्लन्छ।
'सरी अत्यधिक रक्तस्रावका कारण उनलाई बचाउन सकिएन।'
डाक्टरको यो जवाफले दुवैजना मुर्छित हुन्छन्। जिन्दगीमा यति धेरै बज्रपात सहन पर्ला भन्ने उनीहरूले कल्पनासमेत गरेका थिएनन्।
निकै बेरपछि होसमा आउँछन्। त्यही बेला श्रीमानको मोबाइलमा घण्टी बज्छ।
'हेल्लो म जिल्ला प्रहरी कार्यालयबाट।'
उनी एकदम आतिन्छन्। अनि अनकनाउँदै बोल्छन्, `हजुर भन्नुहोस्।´
'तपाईंकJ छोराले कालीगण्डकीमा हाम फालेर सुसाइड गरेका छन्। उनलाई आज हामीले नदीबाट निकालेका छौँ। जिल्ला अस्पताल पुग्नु होला।'
यो कुरा सुनेर श्रीमतीलाई चक्कर आउँछ। हजारौँ सुइँको प्रहारले मुटुमा घोच्छ। कसैले अपरेसन गरेर सिलाउन बिर्सिएको घाउँ झै पोल्न थाल्छ। नाङ्गो घाउँमा तेजाब पोखिदिए जस्तो हुन्छ। अचानक भुईंमा बजारिन्छ उनको शरीर। हार्टअट्याकले ठाउँको ठाउँ प्राण त्याग्छिन् ।
श्रीमानलाई लाखौँ पिलो एकैपटक कसैले निचोरिदिए जस्तो हुन्छ। यतिबेला उनको शरीरका सबै अंग टुक्राटुक्रा पारेको जस्तो हुन्छ। यसरी च्यातिन्छ एउटा सुन्दर घर कि न सिलाउन सियो बाँकी रहन्छ , न त जोड्न धागो नै। मात्र कैँची चलिरहन्छ एक टुक्रा खुसीको फूलको थुंगामा।
उनी अस्पताल पुग्छन्। तर, छोराको लास हेर्न सक्दैनन्। अनि अस्पतालको तेस्रो तल्लाको कौसीमा पुग्छन्। त्यहाँबाट हाम फालेर प्राण त्याग्छन्।
भोलिपल्ट अखबारमा एउटै परिवारका चार सदस्यको फरकफरक तरिकाले रहस्यमय मृत्यु भएको भनेर समाचार छापिन्छ। जनमानसमा जिज्ञासाको प्यास बढ्छ। देशभर खलबली मच्चिन्छ। प्रहरीले घटनाको सत्यतथ्य जाँच पडताल गर्न समूह गठन गर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।