काठमाडौं– चिकित्सा शास्त्र अध्ययन संस्था, शिक्षण अस्पतालमा कार्यरत डा रमेश भण्डारीलाई यतिबेला दोहोरो चटारो छ। कलेजो प्रत्यारोपण विज्ञ डा भण्डारी केही महिनाभित्रै शिक्षण अस्पतालबाट कलेजो प्रत्यारोपण सेवा थाल्दैछन्। त्यसका लागि उनको दौडधुप छँदैछ। यही बेला उनको जीवनको प्रिय खेल फुटबलको कुम्भमेला चलिरहेको छ। रसियामा जारी विश्वकप फुटबल नहेरी त उनको मन चैनमै हुँदैन।
कामको समय मिलाएका छन्। थप मेहनत गरिरहेका छन् र हेरिरहेका छन् फुटबल पनि। एक हिसाबले उनलाई फुटबल क्रेजी डाक्टर भन्न पनि मिल्छ। किनभने डाक्टर बन्ने क्रममा र डाक्टर भएपछिका व्यस्तताले उनको जीवनबाट धेरथोक अलग्गिए। तर यही एउटा फुटबल हो, जसलाई उनले अहिलेसम्म अलग्गिन दिएका छैनन्। ठूलो मैदानमा उनले खेल्ने फुटबल अहिले खुम्चिएर फुटसलमा चाहिँ पुगेका छ तर टुटेको छैन।

बैतडीमा जन्मिएका डा भण्डारी बाल्यकाल भने काठमाडौंको कुपन्डोलमा बित्यो । कुपोन्डोलमा त्यो समय धेरैतिर खाली चौर थिए। चौरमा कसैले फुटबल उफार्न हुन्थेन, भण्डारी सवथोक छाडेर पुगिहाल्थे। नचिनेकाहरुसँग चिनजान गर्थे र फुटबल दौडाउन थाल्थे। फुटबलमा उनको लगाव मात्रै होइन, खेलकौशल पनि राम्रै थियो। त्यसैले पहिलो दिन अपचितहरुले उनलाई टिममा सहभागी गराउँथे र दोस्रो दिन राम्रो खेल्ने मान्छे भनेर खोज्दै घरसम्म आइपुग्थे उनी भन्छन्, ‘फुटबलकै कारण सानैदेखि मेरा धेरै साथीहरु थिए।’
000
स्कुल लेभल सकाउन्जेलसम्म निरन्तर फुटबल खेलिरहे। तर, त्यता अहिलेको जस्तो आकर्षक करियर थिएन। व्यवसायिक रुपमा सिक्ने ठाउँ पनि मेलोमेसो पाएनन्। सानो बेला उनीसँगै खेल्न कति साथीहरुले भने फुटबलमै करियर बनाएका छन् । कति कोच छन्, भने कति राष्ट्रिय खेलाडिसम्म भएका छन्।
स्कुल, कलेज र एमबिबिएस पढुन्जेलसम्म पनि उनले पढाइपछि रोजे फुटबल। फुटबलमा जितेर हात पारेका थुप्रै मेडल उनीसँग छन् अहिले पनि। भन्छन्, ‘कहीँ फुटबल खेलेको देखेपछि अहिले पनि आफूलाई रोक्न सक्दिनँ ।’
चाहे असारसाउनको झरी होस् वा चाहे वैशाखको गर्मी। फुटबल भनेपछि सवथोक बिर्सिएका प्रशस्त घटना छन् उनीसँग। सानो बेला जाडोयामामा बागमती किनारको बालुवामाथि साथीहरुसँग फुटबल खेलेका स्मृतिहरु उनको मानसपटलमा अहिले पनि नाँच्छन्। उनले सम्झिए,‘जाडोयाममा बागमतिमा एकदम थोरै पानी हुन्थ्यो। नदी पूरै हाम्रा लागि मैदान थियो। बालुवामा दिनभरि फुटबल खेलिन्थ्यो।’
भिएस निकेतन स्कुलमा पढेका उनले थुप्रै स्कुलस्तरीय प्रतियोगिता जितेका छन्। पढाइ कमजोर हुने डरले स्कुल बाहिरका प्रतियोगितामा भने उनी त्यति गएनन्। कुपोन्डलका उनकै साथीहरु मिलेर एउटा क्लब भने बनाएका थिए। जर्सी प्राप्त नहुने त्यो समय उनीहरु आफ्नै टिसर्टका पछाडि क्लबको नाम र आफ्नो नम्बर लेख्थे।
सानैछँदाको विश्वकप उनी सम्झिन्छन्, ‘म त्यस्तै चार–पाँचमा कक्षामा पढ्थें। विश्वकप भइरहेको थियो। अहिलेको जस्तो जर्सी जताततै पाइन्नथ्यो। हामीले आइडिया लगायौं आफ्नो मन पर्ने टिमको जर्सीको कलर सेता गञ्जीमा लगायौं।’ 
एसएलसीमा फुटबलल र पढाइ सँगसँगै जस्तो थियो उनको तर प्लस टूपछि फुटबल उनीबाट अलिकति अलग्गिन पुग्यो। होस्टेलमा बसेर भरमार पढ्नुपर्यो उनले। फुटबलको तीर्खा उनले फुर्सदको समयमा खेलेर मेटे।
000
एबिबिएस पढ्दा फेरि फुटबल खेल्ने मौका मिल्न थाल्य। सहपाठीबीच प्रतियोगिता हुन्थ्यो, राम्रो खेल्ने डा भण्डारी छुट्ने कुरा भएन। उनी सहभागी भएका प्रायः खेल जित्ने उनकै टिम हुन्थ्यो। टिमले जितेका मात्रै होइन, बेस्ट प्लेयरका ट्रफी पनि उनीसँगै थुप्रै छन्। जुन उनले सजाएर राखेका छन्। आफ्ना सन्तानहरुलाई देखाउँछन्।
नेपालमा हुँदा मात्रै होइन, पढाइको सिलसिलामा अष्ट्रेलिया पुग्दा पनि उनले फुटबल खेलेका छन्। उनी भन्छन्, ‘त्यहाँ पुगेपछि खेल्ने साथीहरु भेटिहाले। त्यसपछि आफूलाई रोक्न सकिएन ।’
फुटबलप्रतिको प्रेम मैदानमा प्रदर्शन गर्न उनको व्यस्त पेशाले दिँदैन। त्यसैले फुर्सदको समय खेलप्रतिको तीर्खा मेट्न फुटसल पुग्छन्। फुटबलप्रेमी साथीभाईहरुको एउटा समूह बनाएका छन्, फ्याकल्टी फुटसल क्लब। शिक्षण अस्पतालमै कार्यरत फुटबलप्रेमी डाक्टर सदस्य छन । ‘करियर बनाउँदा छुटेको फुटबल खेल्न सपना पूरा गर्न फ्याकल्टी फुटसल क्लब बनाएका हौं। बिदाको समय खेल्न जान्छौं। विश्वकपको समय त खेल्ने अझ धेरै हुन्छन्,’ उनले नेपाल लाइभसँग भने।
नेपालीमाझ फुटबल लोकप्रिय हुनुको कारण पहिल्याएका छन् उनी, भन्छन्, ‘यो खेल्न र हेर्न सजिलो खेल हो ।’
विश्वकप पहिलोपल्ट हेर्दा उनले सुनेको नाम अर्जेन्टेनी स्टार म्यारोडना हो। उनको खेलबाट प्रभावित भएर लामो समय उनी अर्जेन्टिनाका प्रशंसक बने। खेल राम्ररी बुझ्दै जाँदा उनी पोर्चुगलका समर्थक बने।

उनलाई सन् १९८६ को विश्वकप अलि अलि सम्झना छ। राम्रोसँग सम्झेको सन् १९९० को भने उनलाई राम्ररी सम्झेका छन्। फाइनलमा जर्मनी र अर्जेन्टिना पुगेका थिए। उनी अर्जेन्टिनाका समर्थक थिए। तर, विश्वकप जर्मनले उचाल्यो। उनी खिन्न भए। उनी भन्छन्, ‘अर्जेन्टिनाले खेल राम्रै खेलेको थियो । तर, जर्मनले १–०ले जित्यो ।’
विश्वकप बाहेक उनी युरोकप, कोपा अमेरिका लगायतका खेल नछुटाई हेर्छन्। राम्रो खेल्न खेलाडि र टिमलाई समर्थन गर्छन्। अहिले उनी पोर्चुगलका फ्यान छन्। त्यसैले फुटबल खेल्दा पनि पोर्चुगलकै जर्सी लगाएर खेल्छन्।
उनलाई साथीभाईमाझ बसेर खेल हेर्न रुचीकर लाग्छ। फुर्सद भएसम्म त्यस्तो मेसो पनि मिलाउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।