पठन, बोध र लेखन आपसमा अन्तःसम्बन्धित विषय भएर पनि व्यवहारतः यी एकदमै पृथक कुरा भइदिने रहेछन्। कुनै कुराको अभिव्यक्ति लेखनीको माध्यमबाट गरी भावकलाई त्यसप्रति आकर्षित गर्ने क्षमता राख्नु आफैंमा एउटा कला हो। यस्तो कला सबै लेखकमा हुँदैन। सपनाको उडान पढेर मनमा सलबलाएका भावनाहरूलाई एकत्रित गर्नखोज्दा ल्यापटपको स्क्रिनमा थुप्रै पटक शब्दहरू भरिँदै मेटिँदै गर्नुपरेको मेरो आफ्नै मनस्थितिले लेखनी सहज कार्य होइन भन्ने अनुभव भइरह्यो।
म यतिबेला ज्ञानहरि घिमिरेको उपन्यास 'सपनाको उडान' पढ्दैछु। उपन्याससँगै उडान पनि भर्दैछु। किनभने, लेखकले पाठकलाई आफूसँगै हिँडाउन सकेका छन्।
पात्रले देखेका स्वदेशी सपनाका निम्ति विदेशी निद्राको अन्धकारभित्र प्रवेश गरेको कथानकले दुःखान्ततिर डोर्याउँदा लगभग एकतिहाइ भागसम्म पाठक मन भयभित भइरह्यो। यसले मनलाई एकबाट अनेक प्रकारको सम्वेदनशीतलतामा डुबायो। उपन्यास सुरु गरेदेखि अन्त नभएसम्म पढेर सिध्याउने लालसाले मनलाई चिमोटिरहनु र उपन्यास पढिसकेको कयौँ दिनसम्म पनि उपन्यासका पात्र र तिनका भोगाइहरू मन मस्तिष्कबाट हराउन नसक्नु उपन्यासको सबल पक्ष हो। सहभोक्ताझैँ आफ्नै परिवेशका जीवनहरूको वास्तविक यथार्थ, भोगाइका उहापोह उपन्यासमा प्रबल रूपमा अभिव्यक्त भएकाले सपनाको उडानले दिने भावुक स्पर्शमा एउटा साझा मर्मको पटाक्षेप भएको पाठकहरूले अनुभव गर्नेछन्।
रीता थपलियाउपन्यासकार घिमिरेले निजी जीवनमा सपनाको उडान भरिसकेपछि सिर्जना गरेको प्रस्तुत पहिलो उपन्यासमा तथ्यको आख्यानीकरण गरिएझैँ लाग्ने थुप्रै सन्दर्भहरू छन्। उपन्यासको विषयवस्तु नेपाली समाजको अहिलेको परिस्थितिसँग दुरुस्तै मेल खान्छ। आजको विश्वव्यापीकरणसँगै मौलाएको नेपाली युवापुस्ताको सपना विगतका मानिसहरूले देख्ने जस्ता सीमित दायराको रहेन। खुला विश्वमा मौलाएको स्वतन्त्रता र सम्पन्नताको नयाँ परिभाषाले नेपाली मध्यम वर्गीय समाजलाई आफ्नो प्रभावमा समाहित गरिसकेको छ।
उपन्यासको प्रमुख पुरुष पात्र पवन आम नेपाली समाजको युवापुस्ताको प्रतिनिधि पात्र हो। उपन्यासको आदि भागमै प्रस्तुत भएको- 'जग्गा बेचेरै भए पनि बुबा मलाई डाक्टर बनाउन आतुर हुनुको मुख्य कारण सामाजिक मान, मर्यादामा उँचो देखाउनु नै थियो' भन्ने अंशले बाबु आमाको छोराछोरीको भविष्यप्रतिको उत्कट शुभेच्छा एकातिर प्रकट भएको छ भने, अर्कोतिर आफूलाई मन नपरेको विषय पढ्नु पर्दा छोराछोरी त्यसमा रमाउन नसक्नुको पीडा पनि सूक्ष्म रूपमा अभिव्यक्त भएको छ।
सपनाको सहर मानिएको काठमाडौँमा बाहिर घर भएर पढ्न आउने युवा युवतीलाई यसले दिने मानसिक पीडाको प्रस्तुतिले पनि उपन्यासलाई उत्तिकै रोचक बनाएको छ। 'म जर्जर मरुभूमि थिएँ- यो सहरका लागि, अनि यो सहर मेरा लागि उस्तै बञ्जर पाखो!' भन्ने पवनको भनाइले भौगोलिक कारणले बनाएको मानिस-मानिसबीचको दूरी र उत्पन्न आर्थिक विभेदले मोफसलका युवायुवतीमा उत्पन्न हुने हीनताबोध र मानसिक अवस्थाको प्रस्तुति पनि उपन्यासको सूक्ष्म तर गहन विषयका रूपमा रहेको छ।
प्रेम मानिसलाई प्रकृतिले दिएको स्वाभाविक प्रक्रिया हो। बाल्यकालको वात्सल्य प्रेमको सुखद् अनुभूतिको समय पार गरेर किशोरावस्थामा प्रवेश गर्नेबित्तिकै अर्को नजानिँदो प्रेमको आर्कषणले मानिसलाई तानिरहेको हुन्छ। युवायुवतीका मनमा सुषुप्त रहेको प्रेमको यो अवस्था एक भेटमै र एक हेराइमै जीवनभरको सम्बन्ध बन्न पुग्छ।उपन्यासकारले पवनको जीवनमा प्रतीक्षाको उपस्थिति गराएर जीवन प्रेमको उर्वर भूमिकै कारण फूल्छ, फल्छ र हराभरा बन्छ भन्ने प्रमाणित गरिदिएका छन्।
'प्रतीक्षा, म तिमीलाई धेरै माया गर्छु। के तिमी मलाई माया गर्छ्यौ?' भन्ने अनायासै निस्केको पवनको मनको आवाज र प्रतीक्षाको प्रतिउत्तर नपाएर छट्पटिएको पवनको अवस्था प्रायः हरेक युवा मनले अनुभूत गर्ने बेचैनीयुक्त कठिन परीक्षाको घडी हो। आजको नयाँ पुस्ताका अधिकांश युवाको शारीरिक आकर्षणमा समेटिएको प्रेमको परिभाषालाई प्रतीक्षाको तर्फबाट आत्मिक प्रेममा नै प्रेमको वास्तविक अर्थ लुकेको हुन्छ भन्ने तथ्य उजागर गरिएको छ। यही आत्मिक प्रेमको धरातलमा टेकेर पवनले सपनाको उडान भरेको छ।
प्रतीक्षाको चाहना अनुरूप पवन अमेरिका पुग्नु, प्रतीक्षाको भिसा नलाग्नु, प्रतीक्षाले अमेरिका नजाने कसम खानु, प्रतीक्षा दुर्घटनामा पर्नु, पवन र प्रतीक्षाबीचको सम्बन्ध धरापमा पर्नु जस्ता घटनाक्रमहरू मानव जीवनका नियतिले तय गरेका यथार्थ पक्ष हुन्। परिस्थितिजन्य यस्ता घटनाक्रमलाई स्वाभाविक रूपमा बुनेर सहज प्रस्तुति दिनु लेखकभित्र रहेको कलानुराग नै मान्नुपर्छ।
सुरुका दिनहरूमा अमेरिकाजस्तो विशाल समुद्ररूपी संसारमा एश्लीको सौहाद्रपूर्ण सानिध्यले मन पुलकित हुनु, विनोदसँगको भेट र विनोदको आत्मीयताले दिनहरू सहज बन्नु आदि घटनाक्रमहरूको संयोजन सुगठित रूपमा प्रस्तुत भएका छन्। नजानेरै, थाहा नपाएरै चाइनिज केटाहरूको मीठो परिकारमा बिफ खान पुग्नु र पछि वाकवाकी लागेर वान्ता गर्नु खासै ठूलो कुराजस्तो नदेखिए पनि नेपालीको संस्कार र संस्कृतिप्रतिको प्रेम झल्किएको पाइन्छ। आजका युवा पुस्ताको आधुनिक शैलीको जीवन स्वतन्त्रतापूर्वक स्वनिर्णयमा बाँच्ने चाहना, अमेरिका मोह, ग्रीनकार्डको लालसालाई पवनको माध्यमबाट देखाएर उपन्यासकारले मानिसको उच्च महत्वकांक्षाका कारण सृजित परिस्थितिले जीवनलाई कसरी तहसनहस बनाइरहेको छ भन्ने यथार्थको रहस्योद्घाटन गरेका छन्।
ग्रिनकार्डको लागि एश्लीको स्वीकारोक्ति, पछि पवनले पाएको धोका अनि डिप्रेशनको सिकार भएको पवनको अवस्था, गाँजा र ड्रग्समा फसिसकेपछिको पवनको साथी बनेको नाइजेरियन कल्लुको अवस्था पनि पवनकै जस्तो थियो। ग्याँस स्टेसनको साहुले गाली गर्दै कफी दिएको, अरुले फालेको चुरोटको ठुटाले काम चलाएको अर्धबेहोसी पवनको कथा उपन्यास पढिरहँदा कहीँकतै पवन पुरानै पवनको स्वरूपमा फर्केला भनेर सोच्नै सकिन्न।
'समुन्द्रबाट एउटा छालले हुत्याउँदै बगरमा पछारिएर मृत्युसँग सङ्घर्ष गर्दै छटपटाइरहेका माछा अर्को छाल आउँदा फुत्त समुन्द्रमै फर्किएर पुनर्जीवन पाएको जस्तै भयो मेरो जीवन' भन्ने पवनको भनाइले पनि यो असम्भव अद्भूत परिवर्तन भएको हो भनेर स्वीकार गर्न सकिन्छ।
नेपाललगायतका धेरै देशका प्रायः मानिसहरूको सपना बनेको छ अमेरिका। अमेरिका पुगेर सबैको सपना पूरा भएको हुँदैन, कयौँ सपना तहसनहस भएका पनि छन्। आँखाअगाडि कयौँ सपना बोकेर अमेरिका पुगेर पनि रक्सी र गाँजाको कुलतमा फसेर वेवारिसे बनी ह्वीलचियरमा फर्केका नेपालीको तस्बिर आँखाभरि नाच्न पुग्छ। तर, लेखक स्वयं एक सचेत बौद्धिक व्यक्तित्व भएकैले हो पवनलाई पहिलाकै स्वरूपमा फर्काएर अझ उसभित्रको मानवलाई परिष्कृत बनाएर पाठकसामु उपन्यासकारले विसङ्गत जीवनभित्र सङ्गतिको तालमेल मिलाएका छन्।
उपन्यासको पछिल्लो चरणतिर कथानक अझै रोचक बनेको छ। पवनले अञ्जुलाई देखेपछि प्रतीक्षाजस्तै राम्री रहिछ भन्ने सोच्दा पाठकहरूको मनमा अब प्रतीक्षालाई बिर्सेर पवनले अञ्जुलाई अपनाउँछ कि भन्ने आशङ्का पनि उठ्छ। पवनले कहिले अञ्जुको शालीनतायुक्त मायालु हेराइबाट आफ्नो मनलाई बचायो भने कहिले एश्लीको वर्थडेको दिन उसको कामुक निमन्त्रणाबाट आफूलाई जोगाएर प्रतीक्षासँगको पवित्र प्रेमप्रतिको मर्यादालाई कायम राख्न सक्नु पनि आजका युवा पिंढीका माझ आदर्शको कुरा हो। अन्त्यमा उपन्यासकारले तमाम विषम परिस्थितिका बाबजुद पनि पवन र प्रतीक्षाको मिलन गराएर उपन्यासलाई जीवन्त बनाएका छन्।
समग्रमा 'सपनाको उडान' नेपाली समसामयिक विषयवस्तुलाई समेटेर लेखिएको सफल उपन्यास हो। सरल लेखन र स्पष्ट प्रस्तुतिका माध्यमबाट मानिसको व्यक्तिगत, पारिवारिक वा परिवारबाहिरका मानवीय सम्बन्धका क्रममा भोगे व्यहोरेका अनेक मानसिक अवस्था, अतृप्त कामना, अन्योल र पीडाका चेपबाट एक झुल्को उज्यालो सिर्जना गरिएको जीवनको सार्थक प्रस्तुतिले यस उपन्यासमा भविष्यप्रतिको गहिरो आशासँगै विवेकपूर्ण निर्णयात्मक सौन्दर्यको संयोजन गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।