काठमाडौं- नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति चयनका लागि मतदान चलिरहेको छ। बिहान ११ बजेदेखि सुरु भएको मतदान रातभर चल्ने अनुमान छ। कांग्रेसको सभापतिका लागि भने अधिकांश मतदाता फेरि मत दिन पाउनेमा विश्वस्त देखिन्छन्।
नेपाली कांग्रेसको विधानअनुसार उम्मेदवारमध्ये सर्वाधिक मत ल्याएर मात्रै पुग्दैन, कूल मतदाताको ५१ प्रतिशत कटाउनुपर्छ। सभापतिका दाबेदारहरु शेरबहादुर देउवा, डा शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङमध्ये कसैले पनि ५१ प्रतिशत पुर्याउन नसक्ने अनुमान प्रतिनिधिहरुको छ।
गुल्मीका हरिकुमार श्रेष्ठ मतदानको लाइनमा बसेको चार घन्टापछि मतदान सुरु भयो। दिउसो २ बजे भेटिएका उनी पालो आउन अझै केही घन्टा कुनुपर्ने अनुमान गरिरहेका थिए। उनले सभापतिका लागि फेरि अर्कोपटक मतदानको लाइनमा लाग्नुपर्ने विश्लेषण गरेका छन्।
उनी भन्छन्, ‘पहिलो चरणमा टुंगो लाग्ला जस्तो देखिँदैन। किनभने, ५१ प्रतिशत आउने सम्भावना न्यून छ।’
उनी तीनजना उम्मेदवार देउवा, कोइराला र सिंह बलियो भएकाले एकलौटी नहुने बताउँछन्। उनको मनमा देउवाले १४औं महाधिवेशनबाट बिदा लिएको भए हुन्थ्यो भन्ने छ। उनी भन्छन्, ‘सभापति शेरबहादुर देउवाले जति गर्नुभयो, गरिसक्नुभयो। रामचन्द्र पौडेलले जसरी छाड्नुभयो, तटस्थ बस्नुभयो। नयाँ पुस्ता र अनुहारलाई अगाडि सारेको भए ठीक हुन्थ्यो।’

उनी विदेशमा युवाहरुले नेतृत्व गर्ने र शासन गर्ने तथा वृद्धहरुले आराम गर्ने गरेको बताउँछन्। तर, नेपालमा वृद्धहरुले नेतृत्व गर्ने तर काम गर्ने इच्छाशक्ति भएकाहरुले तनाव बेहोर्नुपर्ने अवस्था रहेको उनको बुझाइ छ। उनलाई लाग्छ, ‘युवाले नेतृत्व लियो भने कांग्रेस पनि बन्छ। देश पनि बन्छ।’
हुम्लाका कर्णबहादुर मल्ल पनि पहिलो चरणमै टुंगो लाग्नेमा विश्वस्त छैनन् तर आशा भने गरिरहेका छन्। उनलाई नेतृत्व पुरानो र अनुभवी भएकै राम्रो लाग्छ।
कास्की-२ का अर्जुन पोखरेल पनि पहिलो चरणमा सभापतिको टुंगो नलाग्नेमा विश्वस्त देखिन्छन्। दोस्रो चरणमा जाँदा स्पष्ट विचार समूह बन्ने उनको भनाइ छ। उनलाई कांग्रेसका नेताहरुको भोट माग्ने तरिका मन परेको छैन। उम्मेदवारले सबै नेतालाई राम्ररी नचिन्ने भएकाले विचार र रोडम्याप अघि सार्नुपर्ने धारणा राख्छन्। यो निर्वाचनमा मतदाता तितरवितर जस्तो देख्छन्। उनी भन्छन्, ‘विचार र रोडम्यापअनुसार नगएकाले भोटर तितरबितर भएको जस्तो लाग्छ।’
चुनावको बेलामात्रै चर्का कुरा होइन, अरुबेला पनि संगठन रुपान्तरणमा सक्रिय हुने नेता उनको रोजाइमा पर्छ। गुटको आधारमा बनेको प्यानलको उनका लागि अर्थ छैन। उनले लायक ठानेको नेता जुन गुटमा भए पनि भोट दिने बताउँछन्।

उनी व्यङ्ग्य कस्छन्, ‘सूची त केपी ओलीले सौराहामा पनि बाँड्नुभयो। हामीले गुटलाई होइन, विवेक प्रयोग गर्ने हो।’ उनी ६० प्रतिशतभन्दा बढी ५० वर्षका युवा प्रतिनिधि भएर आएको दाबी गर्छन्। उनीहरु कसैका ‘एसम्यान’ नभएकाले नेतृत्व छनोटमा परिवर्तन देखिने बताउँछन्।
भक्तपुर-२ बाट महाधिवेशन प्रतिनिधि बनेका उमेश खड्कालाई सभापतिको निर्क्योल पहिलो चरणमै लाग्नेमा आशंका छ। उनको विश्लेषण छ, ‘पाँचजना हुनेबित्तिकै भोट बाँडिन्छ। नेताहरु भोट शो गर्नका लागि उठेका हुन्। शो गर्छन् र त्यसपछि एकै ठाउँ हुन्छन्।’ दोस्रो चरण देउवाका लागि चुनौतीपूर्ण हुने उनको बुझाइ छ।
बाँके-१ का कृष्णचन्द्र मौर्यले पनि मत बाँडिएका कारण दोस्रो चरणमा पुग्ने देखेका छन्। तर, अछाम क्षेत्र नं २ का पदम अधिकारी भने पहिलो चरणमै टुंगिने दाबी गर्छन्। मत बाँडिए पनि एक जनाले पहिलो चरणमा नै जित्ने उनको बुझाइ छ।

खोटाङकी देवी राई र सिन्धुलीका खगेन्द्रकुमार लामाले पनि सभापतिमा अर्कोपटक भोट हाल्नुपर्ने संकेत देखेका छन्। लामा भन्छन्, ‘मेरो विचारमा पहिलो चरणमा कसैले जित्न सम्भव नहोला। उम्मेदवार कोही कमजोर छैन। सबै बौद्धिक छन्। मत बाँडेर आउँछ।’
पाल्पाका यमलाल तिमिल्सिना पाँचजना सभापतिका दाबेदार र असाध्यै पपुलर कोही नभएकाले पहिलो चरणमा सभापतिको टुंगो नलाग्नसक्ने बताउँछन्। सभापति छान्दा पार्टीको विधिविधान मान्ने र देशकै नेतृत्व दिनसक्ने व्यक्ति आउनुपर्ने उनको भनाइ छ।
मलेसियाबाट आएका कमल गौतम पहिलोचरणमा नै सभापतिको टुंगो लाग्ने माहोल देखिरहेका छन्। नेतृत्व भने नयाँ र पुरानाको मिश्रण आउनुपर्ने उनको भनाइ छ। रोल्पाबाट आइपुगेकी तिजा विष्ट क्षेत्री सभापतिमा फेरि भोट हाल्नुपर्नेमा ढुक्क देखिन्छन्। सभापतिका उम्मेदवारमध्ये चारजना बलियो भएकाले मत बाँडिने उनको विश्लेषण हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।