काठमाडौं- कांग्रेस महाधिवेशनमा सभापतिको प्रतिस्पर्धामा उत्रिएका छन्, कल्याण गुरुङ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र शेरबहादुर देउवा। यद्यपि, कोइराला र देउवाबीच मुख्य प्रतिस्पर्धा हुने आकलन गरिएको छ। नेतृत्व चयनका लागि कांग्रेसका महाधिवेशन प्रतिनिधिसामू अनुहार धेरै भए पनि ती दुई प्रश्नको घेरामा सीमित छन्- कांग्रेसमा यथास्थितिको निरन्तरता कि परिवर्तनको सुरुवात?
स्पष्ट छ, अहिले कांग्रेसमा यथास्थितिको निरन्तरताको प्रतिनिधित्व देउवाले गर्छन्। उनले विगत ६ वर्षसम्म कांग्रेसलाई जसरी नेतृत्व गरे, त्यसैको निरन्तरताको लागि उनी अघि सरेका छन्। भन्न त उनले पुनः जितेमा अझै राम्रोसँग पार्टी सञ्चालन गर्ने बताएका छन्। त्यसको ठोस अवधारणा भने उनीसँग छैन। त्यसैले उनको प्रतिबद्धता कुनै असफल विद्यार्थीले अर्को वर्ष राम्रोसँग पढ्छु भनेर कक्षा दोहोर्याउनुपर्दाको बाध्यतात्मक वाचा जस्तै देखिन्छ।
देउवाको कार्यशैली, पार्टी सञ्चालन शैली, राष्ट्रिय राजनीतिका विभिन्न दायित्वमा उनको भूमिका र पार्टीको उपस्थितिलाई सम्झना गरिएमा आगामी चार वर्ष (देउवाले अहिलेजस्तै लम्ब्याइदिन पनि सक्छन्) कांग्रेसले कस्ता दिन बिताउला भन्ने आकलन गर्न असहज छैन।
२०७२ को महाधिवेशनले देउवालाई दिएको मुख्य दायित्व हो- चार वर्षसम्म आफ्नो नीतिले पार्टीलाई चलाऊ र चार वर्षमा महाधिवेशन गरेर नयाँ नेतृत्वलाई जिम्मेवारी सुम्प। चार वर्षमा महाधिवेशन सम्पन्न गर्नुपर्ने प्राथमिक दायित्व नै उनले निर्वाह गर्न सकेनन्। आफ्नै पार्टीप्रति बेइमानी गरे। बरु पार्टी सभापतिमा दोहोरिने प्रपञ्च सुरुवात गरे र जबसम्म उनलाई आफू सभापतिको बलियो दाबेदार बनेको महसुस भएन, तबसम्म महाधिवेशनलाई धकेलिरहे। व्यक्तिगत स्वार्थका लागि पार्टीलाई नै बन्धक बनाए। खराब इतिहास सुरुवात गरे। पार्टीका विभाग गठन गर्दाका समय र शैली होस् वा भातृ संगठनभित्रको किचलो, देउवाका संकीर्ण स्वार्थ प्रतिबिम्बित भइरहे।
तेह्रौं महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि देउवा दुई-दुईपटक प्रधानमन्त्री बने। सत्ता गठबन्धनमा रहे। तर, त्यसले पार्टीको छविलाई नै घाटा पुर्यायो। त्यसको परिणाम २०७४ सालको आमनिर्वाचनमा पनि देखियो। निर्वाचनमा कांग्रेस पराजित भयो तर नेतृत्वकर्ताको रुपमा उनले जिम्मेवारी लिएनन्। त्यसको समीक्षा गर्न समेत तयार भएनन्। जे-जे गरे, निर्वाचनको रापताप सेलाएपछि गरे।
निर्वाचनमा असफल पार्टीले लोकतन्त्रमा प्रमुख प्रतिपक्षी दलको भूमिका कस्तो हुन्छ/हुनुपर्छ भनेर देखाउन सक्थ्यो। तर, यसमा कांग्रेस पूरै चुक्यो। देउवा स्वयं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका जायज/नाजायज कदमका सारथि भए। भागबण्डामा आफ्नो भूमिका बिर्सिए। त्यतिमात्रै होइन, प्रमुख प्रतिपक्षी पार्टीले आफ्नो मान्यता र मुद्दालाई तिलाञ्जली दिएर बसेको अनौठो अवस्था पनि देखियो। गत पुस ५ पछि त्यो अझ प्रष्ट देखियो। प्रतिनिधि सभा विघटनपछि उनले पार्टीलाई अलमलबाटै गुजारे। जुलुस निकाल्न पैसा छैन भन्ने जस्तो लज्जास्पद अभिव्यक्ति प्रतिपक्षी दलको नेताको रुपमा देउवाले दिए। सभापतिको रुपमा देउवाको कार्यकालले प्रष्ट बताउँछ, लोकतन्त्र र संविधान जस्ता विषय उनका लागि प्राथमिक विषय होइनन्, उनको स्वार्थ हो। त्यसप्रति उनको प्रतिबद्धता उनको स्वार्थमा दख्खल नपुगुञ्जेललाई मात्रै हो।
यतिबेला कांग्रेसका हरेकजसो नेताको भाषणको केन्द्रमा छ, आगामी निर्वाचनमा कांग्रेसलाई जिताउने नेतृत्व चाहिएको छ। तर, देउवासँग आगामी निर्वाचनमा कांग्रेसलाई कसरी जिताउने, कुनै रणनीति देखिँदैन। आम मतदातालाई अपिल गर्न सक्ने छवि र कुनै नयाँ मुद्दा देखिँदैन। तर, स्वयं ओली सरकारको गलत निर्णयको लाभ आफूलाई पुग्ला कि भन्ने आसमा देखिन्छन्। जबकि, अघिल्लो सरकारका अलोकप्रिय कदमहरुलाई उनी स्वयंले दोहोर्याइरहेका छन्।
देउवा कति कमजोर धरातलबाट सभापतिमा दोहोरिन खोजिरहेका छन् भन्ने कुरा उनका अभिव्यक्तिले पनि प्रष्ट पार्छन्। उनी भनिरहेका छन्- ‘म हारेँ भने मलाई प्रधानमन्त्रीबाट पनि हटाउँछन्, त्यसैले मलाई जिताइदिनुस्।‘ उनको सम्पूर्ण सपना र सामर्थ्य सत्तादेखि सत्तासम्म मात्रै रहेको उनका व्यवहार र अभिव्यक्तिले देखाउँछन्। जबकि, कुनै बेला कांग्रेसलाई डोर्याउन मुद्दाहरु हुन्थे।देउवा दोहोरिनु भनेको यिनै विगतको पुनरावृत्ति हुनु त हो।
यतिबेला कांग्रेसमा परिवर्तन खोज्ने हो भने चाहिँ सभापतिमै केही विकल्पहरु छन्। तर, पदाधिकारीसहित सम्पूर्ण टिम प्रस्तावित गरेको हुनाले कोइरालाको टिम विस्तृत देखिन्छ। त्यसैले यहाँ यही टिमको चर्चा गर्नु उचित हुन्छ।
शेखरको टिमसँग केही अपेक्षा गर्न सकिने विषय छन्। पहिलो, स्वयंको लोकतन्त्र र संविधानप्रतिको प्रतिबद्धतामा शंका गर्नुपर्ने ठाउँ उनले अहिलेसम्म दिएका छैनन्। संविधानले संस्थागत गरेका उपलब्धिहरुप्रति उनको प्रतिबद्धता त पाइन्छ नै, लोकतन्त्रलाई पनि उनले लाभ बटुल्ने देखावटी चिज बनाएको व्यवहारले देखाउँदैन। कांग्रेसजनहरु भन्छन्, त्यसमा सम्झौता गरेर उनले व्यक्तिगत स्वार्थ पूरा गर्लान् भन्ने देखिँदैन।
शेखरले पार्टीभित्र सत्ताको द्वन्द्व पर्न नदिने प्रष्ट पारिसकेका छन्। आफू प्रधानमन्त्री नबन्ने भनेर सार्वजनिक रुपमै भनिसकेकाले उनको सभापति यात्रा भोलि सत्तामा पुगेर दोहन गर्न पाउँला भन्ने आकांक्षाबाट निर्देशित होइन, कांग्रेस सुधारकै लागि हो भन्न सकिन्छ। त्यसमा उनको क्षमता परीक्षण हुन बाँकी छ, तर उनको घोषणा भोलिका लागि उदाहरण बन्न सक्छ, कांग्रेस र अन्य पार्टीका लागि।
कांग्रेसको विगत, वर्तमान र भविष्यको विभिन्न सन्दर्भहरुलाई बुझ्ने र बुझाउन सक्ने क्षमता भएका नेताहरु उनको टिममा देखिन्छन्। लामो समयदेखि कांग्रेसमा गुणात्मक सुधारको अपेक्षा राखेर पहल गर्ने नेताहरु उनीसँग छन्। त्यसको उदाहरण हो, २०७४ मंसिरमा भएको निर्वाचनपछि जारी गरिएको चर्चित विज्ञप्ति। २०७४ पुस १५ गते जारी विज्ञप्तिमा भनिएको थियो- ‘हामी विश्वास दिलाउन चाहन्छौं, हामी बदलिने छौं, कांग्रेसलाई बदल्नेछौं। राष्ट्रिय राजनीतिमा प्रमुख भूमिकाका साथ पार्टीलाई नयाँ उचाइमा पुर्याउनेछौं।‘
यसरी विज्ञप्ति जारी गर्ने सात नेताहरु, जसलाई पछि ‘सप्तर्षि’ भन्न थालियो, उनीहरु थिए, विश्वप्रकाश शर्मा, चन्द्र भण्डारी, गगन थापा, धनराज गुरुङ, गुरुराज घिमिरे, प्रदीप पौडेल र बद्री पाण्डे। ती सातमध्ये चार नेताहरु अहिले शेखरकै टिमबाट पदाधिकारीमा उम्मेदवार भएका छन्। कांग्रेस सुधारका पटक-पटकका सामूहिक प्रयासमा जोडिएका अन्य दुई नेताहरु जीवन परियार, रामकृष्ण यादव पनि शेखरको पदाधिकारी टिममा छन्।
समग्रमा यो टिम कांग्रेस र देशकै नीतिको विषयमा नीतिगत छलफल गर्न सक्छ, आफ्ना कुरा राख्न सक्छ, संसद्देखि सडकसम्म प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ। तुलनात्मक रुपमा पारदर्शी र निष्ठावान् छ। पार्टीभित्र मात्रै होइन, पार्टीबाहिर पनि राजनीतिज्ञको बिग्रँदो छविलाई केही हदसम्म संग्ल्याउनेअपेक्षा गरिएका अनुहारको रुपमा चर्चा गरिन्छ, यो टिमलाई। यो आजसम्म पदाधिकारीमा नरहेको तर कांग्रेसको सार्वजनिक छविको एउटा पाटोको नेतृत्व गरिरहेको टिम हो भन्दा फरक पर्दैन।
र यतिबेला चर्चा भएजस्तो आगामी निर्वाचनमा पार्टीलाई जिताउने प्रष्ट व्याख्या गर्न सक्ने नेताहरु यो समूहमा छन्। त्यसका उदाहरण हुन्, गगन थापा। आइतबार साँझकै पत्रकार सम्मेलनमा उनले कांग्रेसले निर्वाचन एक्लै लड्ने र जित्ने हो भने अहिले भएको मतदातामा करिब-करिब १०-१२ लाख नयाँ मतदाता थप्नुपर्ने बताएका थिए। ‘त्यसैले कांग्रेसको एउटा यस्तो नेता चाहियो, यस्तो नेतृत्व चाहियो जसलाई कांग्रेसको नेता यो हो है, नेतृत्व यो हो है भनेर हेर्दैगर्दा क्रियाशील सदस्यभन्दा बाहिरका मतदाता कांग्रेससँग जोडिउन्,’ उनले भनेका थिए, ‘त्यसले कांग्रेस हेर्दै गर्दा, हाम्रो नेतृत्व हेर्दाखेरी कांग्रेसमा आऊँ-आऊँ लागोस्। कांग्रेसको घरभित्र पसौं-पसौं लागोस्। उज्यालो देखियोस्, सफा देखियोस्, पवित्र देखियोस्। शेखर कोइरालाको नेतृत्वमा कांग्रेस त्यस्तो देखिन्छ। हामीभन्दा धेरै नौजवान साथीहरुलाई कांग्रेससँग जोड्न सक्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।