काठमाडौं- नेपाली कांग्रेसका वर्तमान संस्थापनइतरका एक नेता डा शेखर कोइरालाले जिल्ला सभापतिमा निर्वाचित नेताहरुको मनशाय बुझेर आफ्नोपक्षबाट सभापतिको उम्मेदवार चयन गर्न उपयुक्त हुने प्रस्ताव अघि सारेका छन्। सभापतिमा उम्मेदवारी घोषणा गरेका कोइरालाले आफूपक्षीय जिल्ला सभापतिहरुको राय सुन्न उपयुक्त हुने प्रस्ताव राखेका हुन्।
पौडेलपक्षका एक नेताका अनुसार प्रदेश अधिवेशनलगत्तै आफूपक्षीय जिल्ला सभापतिलाई डाकेर परामर्श लिन खोजिएको छ। जिल्ला सभापतिहरुको सुझाव सुनेर आफ्नो तर्फबाट केन्द्रीय सभापतिको उम्मेदवार तय गर्न सहज हुने नेताहरुको बुझाइ छ। पौडेलपक्षबाट २७ जिल्लामा सभापति विजयी भएका छन्।
प्रदेश अधिवेशनले गर्दा शीर्ष तहका नेताहरु देशभर छरिएका छन्। तल्लो तहको अधिवेशनले गर्दा पौडेलपक्षले सभापतिको एकल उम्मेदवार चयन गर्ने विषयमा छलफल गर्न पाएको छैन। केन्द्रमा नेताहरु एकत्रित हुन नपाउँदा पौडेलपक्षको साझा उम्मेदवार बारे टुङ्गो लाग्न सकेको छैन।
पौडेलसहित महामन्त्री डा शशांक कोइराला, नेताहरु प्रकाशमान सिंह र डा शेखर कोइरालाले सभापतिको दाबी गरिरहेका छन्। यसअघि भएका बैठकमा एकले अर्कोलाई सभापतिको उम्मेदवार स्वीकार्न तयार भएका थिएनन्।
गत महाधिवेशनको प्रतिस्पर्धी भएको तथा अरुको तुलनामा कांग्रेसमा योगदान बढी भएको आधार देखाउँदै पौडेलले सभापतिको दाबी गरिरहेका छन्। उनले आसन्न महाधिवेशनको स्वाभाविक उम्मेदवार आफू हुनुपर्ने जिकिर गरिरहेका छन्। कार्यकर्ताको सहानूभूति आफूप्रति रहेको उनको दाबी छ। अन्य नेताले भनेजस्तो अभिभावकीय जिम्मेवारी लिएर बस्न पौडेल आजसम्म तयार देखिएका छैनन्।
गत महाधिवेशनमा महामन्त्रीमा विजयी डा शशांक कोइरालाले संस्थापनका उम्मेदवार शेरबहादुर देउवालाई पराजित गर्नसक्ने एक्लो व्यक्ति आफू भएको दाबी गर्दै आएका छन्। तथापि, पौडेल र शेखरबीच आपसी सहमति बने उनी बाधक नहुने सङ्केत देखाएका छन्।
सभापतिका अर्का उम्मेदवार प्रकाशमान सिंह अन्यलाई उक्त पद छोड्ने पक्षमा देखिँदैनन्। सभापति बन्नका लागि विगतको राजनीतिको बलियो आधार उनी देखाउँछन्। विद्यार्थी राजनीति, काठमाडौंको जिल्ला सभापति, केन्द्रीय सदस्य, महामन्त्री र उपसभापति भइसकेकाले आफ्नो सभापतिको दाबेदारी प्राकृतिक भएको उनको ठहर छ।
नयाँ पुस्ताले इच्छाएको तथा पार्टीभित्र छुट्टै छवि निर्माण गर्न सफल भएको दाबीसहित शेखर चुनावी मैदानमा उत्रन खोजेका छन्। कार्यकर्ताको मनोभावना आफूप्रति रहेको उनको बुझाइ छ। कार्यकर्ताको इच्छाअनुसारको उम्मेदवार आफू हुने उनी दाबी गर्छन्। सहानूभूतिले भन्दा पनि कार्यकर्ताबीच लोकप्रियताका आधारमा सभापतिको उम्मेदवार बन्नुपर्ने शेखरको जोड छ। एक पटक मात्रै सभापति हुने र प्रधानमन्त्री नहुने प्रतिबद्धतासमेत उनले जाहेर गरेका छन्।
आ-आफ्नो अडान छोड्न तयार नरहेका नेताहरुमा विकल्पका सन्दर्भमा छलफल हुनै सकेको छैन। पौडेलपक्षमा नेताहरुको व्यवस्थापन अबको छलफलमा मुख्य विषय हुने देखिन्छ। सभापतिको दाबीबाट पछि हट्ने नेतालाई भावी राष्ट्रपति वा प्रधानमन्त्री बनाउने प्रतिबद्धता गरेर साझा उम्मेदवार तय गर्ने सम्भावना छ। त्यसो हुँदा पनि, नेता सिंह र शेखर भने सभापतिको दौडबाट पछि नर्फकनेमा दृढ देखिन्छन्।
आफ्नो पक्षमा सभापतिसहित पदाधिकारी चयन गर्न सहज भएका देउवाले महाधिवेशनको कार्यतालिका पनि चापमा बनाएका छन्। अरु खेमाका नेताहरुले सघन छलफल गर्न पर्याप्त समय उपलब्ध नहुनेगरी महाधिवेशनको कार्यतालिका बनाइएको छ। प्रदेश अधिवेशन सकेर फर्केपछि आफ्नो समूहमा छलफल गर्नका लागि समय अभाव हुने नेताहरु बताउँछन्।
छ वटा प्रदेश अधिवेशनको मतगणनाको अन्तिम नतिजा आइतबार अबेरसम्म सार्वजनिक हुने अपेक्षा छ। प्रदेश २ को अधिवेशन भने अनिश्चित बनेको छ। आइतबार अधिवेशन सकिएर काठमाडौं फर्केपछि संवाद गर्न समय नपुग्ने उनीहरुको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।