काठमाडौं– कांग्रेसले पहिलोपटक प्रादेशिक संरचनाको अधिवेशन गर्दैछ। कांग्रेसले संघीयता पश्चात् सात प्रदेश र प्रदेश सभा क्षेत्रीय कार्यसमितिको पहिलो अधिवेशन गरिरहेको हो।
बिहीबारबाट सुरु भएको प्रदेश अधिवेशनका लागि उम्मेदवारको मनोनयन शुक्रबार (आज) हुँदैछ। पार्टी भित्रका विभिन्न समूहले केही प्रदेशमा आफ्नो पक्षका उम्मेदवार घोषणा गरिसकेका छन्। अहिलेसम्म प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णालीमा सभापतिको उम्मेदवारमा संस्थापन र संस्थापनइतरसमूहले सभापतिको उम्मेदवार घोषणा गरिसकेका छन्।
प्रदेश १ मा गुरुराज घिमिरे र उद्धव थापा सभापतिमा प्रतिस्पर्धा गर्दैछन्। घिमिरे केन्द्रीय सदस्य हुन्। मोरङका घिमिरे संस्थापनइतर (पौडेल–कोइराला) पक्षका उम्मेदवार हुन्। देउवा पक्षले समर्थन गर्ने गरी सिटौला खेमाबाट थापा उम्मेदवार बनेका हुन्। थापाले झापामा दुई कार्यकाल सभापतिको पद सम्हालेका थिए।
प्रदेश २ मा सभापतिका लागि रामसरोज यादवले उम्मेदवारी घोषणा गरिसकेका छन्। धनुषाका यादव उपसभापति विमलेन्द्र निधि निकट हुन्। संस्थापनइतरको रामचन्द्र पौडेल पक्षले पनि उनलाई सहयोग गर्ने संकेत देखाएको छ। पदाधिकारीमा भागबण्डा गरी पौडेल पक्षले निधिका सभापतिका उम्मेदवारलाई सघाउने सम्भावना छ।
संस्थापन पक्षले हालसम्म कुनै पनि उम्मेदवारको टुंगो लगाउन सकेको छैन। महेन्द्र यादव र दिनेश यादव संस्थापन पक्षबाट सभापतिका आकांक्षी हुन्। महेन्द्र केन्द्रीय सदस्य हुन् भने दिनेश रौतहटका जिल्ला सभापति हुन्।
प्रदेश २ को कार्यसमिति सर्वसहमत बनाउने प्रयास भइरहेको केन्द्रीय सदस्य कल्याण गुरुङले जानकारी दिएका छन्। सर्वसहमत पदाधिकारी चयन गर्न दिउँसो २ बजे धनुषा पार्टी कार्यालयमा बैठक राखिएको छ। उक्त बैठकमा प्रदेशका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, आठ जिल्लाका सभापति र सभापतिका आकांक्षीहरुलाई बोलाइएको छ।
बागमतीमा भने त्रिपक्षीय भिडन्त हुने भएको छ। संस्थापनबाट इन्द्र बानियाँ, पौडेल पक्षबाट जगदीश्वर नरसिंह केसी र कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधानले सभापतिमा उम्मेदवारी दिने भएका छन्। बानियाँ बागमती प्रदेश सभामा संसदीय दलका नेता हुन्। केसी नुवाकोटका निर्वतमान जिल्ला सभापति हुन्। तेस्रो पक्षबाट उम्मेदवारी दिएका प्रधान काठमाडौं-६ बाट निर्वाचित सांसद हुन्।
गण्डकी प्रदेशमा संस्थापनबाट अर्जुनप्रसाद जोशी र पौडेल पक्षबाट शुक्रराज शर्माले उम्मेदवारी दिएका छन्। पर्वतका जोशी केन्द्रीय सदस्यसमेत हुन्। जोशीले आफ्नो प्यानल घोषणा गरिसकेका छन्। सभापतिका अर्का प्रतिस्पर्धी शर्माको प्यानलबाट पदाधिकारीमा उम्मेदवारी दिनेहरु निश्चित भइसकेको छैन।
लुम्बिनीमा दुवै पक्षले प्यानलसहितको उम्मेदवारी घोषणा गरेका छन्। संस्थापन पक्षबाट रुपन्देही-५ बाट निर्वाचित भरत शाह र संस्थापनइतरबाट रोल्पाका निवर्तमान जिल्ला सभापति अमरसिंह पुनले सभापतिमा उम्मेदवारी दिने भएका छन्।
कर्णालीमा संस्थापन पक्षमा आकांक्षीबीच सहमति नहुँदा सभापतिको उम्मेदवार चयन हुन सकेको छैन। जीवन शाही, राजीवविक्रम शाह र ललितजंग शाही संस्थापन पक्षबाट सभापतिमा दाबी गरेका छन्। पौडेल पक्षबाट भूपेन्द्रजंग शाहीले सभापतिमा उम्मेदवारी दिने भएका छन्। उक्त समूहबाट शाही सर्वसहमतिमा उम्मेदवार बनेका हुन्।
सुदूरपश्चिममा संस्थापन र इतर समूहबीच सर्वसहमतिले कार्यसमिति चयन गर्ने प्रयास गरिएको छ। संस्थापनलाई सभापति सर्वसम्मत चयन गरी पदाधिकारीमा सम्मानजनक हिस्सेदारी अर्को पक्षले खोजेको छ। वीरबहादुर बलायरलाई सहमतिले सभापति बनाउने इच्छा संस्थापन पक्षको छ। दुई पक्षका नेताहरुबीच सहमतिको प्रयासका लागि संवाद जारी रहेको बताइएको छ।
प्रदेश अधिवेशनमा सबैभन्दा बढी प्रतिनिधि बागमतीमा छन्। बागमती प्रदेश अधिवेशनका लागि २ हजार १३७ प्रतिनिधि सहभागी हुँदैछन्। सबैभन्दा कम प्रतिनिधि कर्णालीमा ७४९ जना छन्। प्रदेश १ मा १ हजार ७७०, गण्डकीमा १ हजार १५३ जना, लुम्बिनीमा १ हजार ६४२ जना र सुदूरपश्चिममा १ हजार १६ जना प्रतिनिधि प्रदेश अधिवेशनमा सहभागी हुनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।