काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता अधिवेशनको दोस्रो दिन बिहीबार पार्टीको नीति र विधानमाथि छलफल हुनेछ। उक्त छलफलपछि आगामी नेतृत्वका लागि निर्वाचन प्रक्रिया सुरु हुनेछ।
राप्रपा महाधिवेशनमा करिब ४२ सय प्रतिनिधि सहभागी हुँदैछन्। उनीहरूले एक अध्यक्ष, महिलासहित तीन उपाध्यक्ष, महिलासहित तीन महामन्त्री, सात सहमहामन्त्री, सात सहायक महामन्त्री, एक कोषाध्यक्ष, सहायक कोषाध्यक्ष, प्रवक्ता र सहप्रवक्ता छान्नेछन्। राप्रपा महाधिवेशनबाट १४९ जनाको केन्द्रीय समिति बन्नेछ। अध्यक्षले बाँकी ५० केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था विधानमा छ। केन्द्रीय समिति १९९ जनाको हुनेछ। यसका लागि उम्मेदवारी घोषणा सुरु भएको छ।
कसको टिममा को छन्?
राप्रपाको आगामी नेतृत्वका लागि अहिलेसम्म दुई जनाले अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्। तीन दिनसम्म चल्ने महाधिवेशनमा अहिलेका तीन अध्यक्षमध्येका एक कमल थापा र महामन्त्री राजेन्द्र लिङ्देनले उम्मेदवारी घोषणा गरेका हुन्। महामन्त्रीमा थापा र लिङ्देन पक्ष केहीले घोषणा गरेका छन्। महामन्त्रीका लागि भुवन पाठक, धवलशमशेर राणा, रेखा थापा र कुन्ती शाहीले उम्मेदवारी घोषणा गरेका छन्।
अध्यक्षका रुपमा प्रस्तुत भएका कमल थापाको टिममा पुराना पञ्चहरुको उपस्थिति धेरै छ। संस्थापक नेता लोकेन्द्रबहादुर चन्दका छोरा जयन्त चन्ददेखि दिपक बोहोरा, ध्रुवबहादुर प्रधान, भद्रा घले, विक्रम पाण्डे, भुवन पाठकलगायतको समर्थन उनलाई छ। उनको टिमबाट महामन्त्रीमा भुवन पाठक र उपाध्यक्षमा ध्रुवबहादुर प्रधान, विक्रम पाण्डे र दीपक बोहोरालगायत उम्मेदवार बन्ने सम्भावना छ।
शक्तिशाली महामन्त्री, उपाध्यक्षलगायत पदमा भने केहीले बाहेक आकांक्षीहरुले उम्मेदवारी सार्वजनिक गरेका छैनन्। अहिलेसम्म भुवन पाठक र धवलशमशेर राणाले मात्र महामन्त्रीमा उम्मेदवारी दिने घोषण गरेका छन्।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका दुवै समूहलाई पूर्वराजा ज्ञानेन्द्रले औपचारिक रुपमा सर्मथन नगरे पनि आफ्ना ‘दूत’मार्फत सन्देश आदानप्रदान भने भइरहेको दुवै पक्षको दाबी छ।
महाधिवेशन सुरु हुनुभन्दा एक दिनअघि डा. लोहनीले युवा पुस्ताका नेता राजेन्द्र लिङ्देनलाई सर्मथन गरेको सार्वजनिक कार्यक्रममार्फत घोषणा गरेका थिए। उनले अध्यक्षद्वय थापा र राणालाई पनि युवा पुस्ताका लागि पछाडि हट्न आग्रह गरे। उद्घाटन समारोहमा पनि लोहनीले उक्त आग्रह दोहोर्याएका थिए।
अर्का अध्यक्ष पशुपति शमशेर भने कुनै पक्षमा खुलेका छैनन्। उनी अन्तिम समयसम्म सहमतिको प्रयास गर्नुपर्छ भन्ने पक्षमा छन्। अध्यक्षका अर्का प्रत्यासी राजेन्द्र लिङ्देन पनि संस्थापक नेताहरूको सर्मथन जुटाउने प्रयासमा छन्। अध्यक्ष डा. लोहनीसहित पुराना नेताहरू टंक ढकाल, राजाराम श्रेष्ठ, नेपालगञ्जका मेयर धवलशमशेर राणाको उनलाई समर्थन छ। त्यसैगरी पुराना नेता पद्मसुन्दर लावतीका छोरा सगुनसुन्दर लावती र नायिका रेखा थापाले पनि उनलाई साथ दिइरहेका छन्। केही पूर्वमन्त्री र सांसदहरु उनको पक्षमा खुलेका छन्। हालसम्म दुवै पक्षले प्यानल घोषणा गरेका छैनन्। उनको समूहबाट महामन्त्रीमा धवलशमशेर राणा, राजाराम श्रेष्ठ तथा उपाध्यक्षमा सगुनसुन्दर, जगत गौचनलगायत उम्मेदवार बन्नेछन्।
राणाको समर्थन कसलाई ?
राप्रपा नेपाल विभाजन हुँदा राप्रपाको राष्ट्रिय अध्यक्ष भएर एक कार्यकाल पार्टी चलाएका पशुपतिशमशेर राणा अहिले तटस्थ बसेका छन्। एकतापछि तीन अध्यक्षमध्ये राणा अहिले पनि एक अध्यक्ष हुन्। उनी देशभर नेटवर्क भएका पुराना नेता हुन्।
राणासँग अहिले पनि दिपक बोहोरा, धुव्रबहादुर प्रधान, भुवन पाठक, रोशन कार्की, बुद्धिमान तामाङजस्ता नेता छन्। २०७२ सालको संविधान जारी भएपछि कमल थापा नेतृत्वको राप्रपा नेपालले राप्रपाभन्दा केही बढी लोकप्रिय मत पाएको थियो। २०७४ सालको निर्वाचनमा पनि राप्रपाका लिङ्देन प्रत्यक्षतर्फ प्रतिनिधि सभामा विजयी भएका थिए।
अहिले राणा उमेरले समेत पार्टी चलाउन नसक्ने अवस्थामा पुगेकाले नेतृत्व दाबीभन्दा आफू अनुकूल र आफूलाई पनि ठाउँ दिने उम्मेदवारलाई सर्मथन गर्ने रणनीतिमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।