यतिबेला देशका प्रमुख पार्टीमध्ये नेकपा एमालेले भर्खरै महाधिवेशन सम्पन्न गरेको छ भने नेपाली कांग्रेस महाधिवेशनको पूरै चटारोमा छ। नेकपा माओवादी केन्द्रले पनि नीति र नेतृत्व चयनका लागि पुस ११ गतेदेखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्दैछ। सम्मेलनका लागि माओवादीले नयाँ सदस्यता वितरण र नवीकरण पूरा गरी वडा र पालिका सम्मेलन समेत गरिसकेको छ। अब मंसिर २५ गते प्रदेश सम्मेलन गर्ने माओवादीको तयारी छ। माओवादी केन्द्रको आसन्न राष्ट्रिय सम्मेलन, उसले लिने नीति र नेतृत्वका विषयमा स्थायी समिति सदस्य नारायणकाजी श्रेष्ठसँग नेपाल लाइभका वीरेन्द्र ओलीले गरेको कुराकानी:
राष्ट्रिय सम्मेलन गर्दै हुनुहुन्छ, पार्टीको नयाँ नीति र नेतृत्व चयन गर्नेबारे के तयारी हुँदै छ?
तत्कालीन नेकपालाई बाध्यात्मक स्थितिमा नेकपा माओवादी केन्द्र र एमाले बनाइएपछि स्वाभाविक रुपमै हामीले सांगठनिक सुदृढीकरणको अभियानलाई अगाडि बढाउनुपर्थ्यो। त्यसैले हामीले संगठन सुदृढीकरण अभियानलाई पुस ११ गतेदेखि १३ गतेसम्म हुने राष्ट्रिय सम्मेलनमा पूरा गर्ने लक्ष्य राखेका छौं। यसअन्तर्गत हामीले पार्टी सदस्यताको नवीकरण, वितरण गर्छौं। हामी सेल कमिटीदेखि टोल, वडा, पालिका, प्रदेश सम्मेलन हुँदै राष्ट्रिय सम्मेलनसम्म पुग्छौं।
पालिका सम्मेलनपछि हामी प्रदेश सम्मेलन गर्नेछौं। प्रदेश समितिले निर्वाचित गरेका प्रतिनिधिहरुको राष्ट्रिय सम्मेलन पुस ११, १२ र १३ गतेसम्म गर्ने छौं। अहिले यसकै तयारीमा जुटेका छौं।
दोस्रो, पार्टीको अन्तरिम विधानलाई परिमार्जन गरेर राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्दै छौं। त्यसको निम्ति तल्लो कमिटीसम्म पठाएका छौं। अन्तरिम विधानमा नराखिएका कतिपय कुराहरुमा पनि बहस गरौं भनेर सुझावका लागि पठाएका छौं। ती विषयमा राष्ट्रिय सम्मेलनमा निर्णयमा पुग्न सकिन्छ, नपुग्न पनि सकिन्छ।
पार्टी वा अन्य कार्यकारी भूमिकामा नभएका व्यक्तिको कुनै अवधि तोक्नुपर्ने कि नपर्ने? जति पटक पनि हुन पाउने कि नपाउने? उमेरको हद राख्ने कि नराख्ने? पार्टीमा नेतृत्व निर्माणका निम्ती निर्वाचन प्रणाली कस्तो बनाउने? औपचारिक रुपमा पुँजीवादी पार्टीहरुले गर्छन्, त्यसरी नै गर्ने कि? पार्टीमा लोकतान्त्रिक अभ्यास गर्ने कि नगर्ने? आम रुपमा पार्टी नेतृत्व निर्माणको भूमिकालाई सुनिश्चित गर्नुपर्छ भन्ने छ। त्यसरी सुनिश्चित गर्दा औपचारिक लोकतन्त्र मात्रै हुन नपाओस्, वास्तविक लोकतन्त्र होस् भन्ने हो। योग्य, क्षमतावान, समर्पित, स्वच्छ र क्रान्तिकारीहरुलाई त्यो ठाउँमा ल्याउने विधि के हुन सक्छ? त्यो बारेमा छलफल गरौं भनेर तल पठाएका छौं। विधानलाई अन्तिम रुप दिनेगरी अन्तरिम विधानका विषयमा छलफल गर्न भनेर केही बुँदाहरु तल पठाएका छौं। अन्तरिम विधानमा केही विशेष व्यवस्थाहरु गरेका छौं।
कानुनमा महिलाको प्रतिनिधित्व ३३ प्रतिशत सुनिश्चित हुनुपर्नेमा हरेक पार्टी कमिटीमा ३५ प्रतिशत राख्ने भनेका छौं। त्यसका अतिरिक्त कानुनले नभने पनि दलितलाई विशेषाधिकार दिने भनेका छौं। दलित यो समाजको सबैभन्दा उत्पिडित समुदाय हो। नेपालको सन्दर्भमा उत्पिडित समुदाय मात्रै होइन, उत्पिडित वर्ग हुन पुगेको छ। उत्पिडित समुदाय र वर्गमा रहेको दलित समुदायलाई विशेष प्राथमिकता दिने सोचेका छौं। देशैभर दलितको संख्या १३ प्रतिशत भए पनि पार्टी केन्द्रको नेतृत्वमा १५ प्रतिशत हुनैपर्ने भन्ने छ। तल भुगोलमा जतिजति प्रतिशत दलित छन्, त्यसमा दुई प्रतिशत थपेर नेतृत्वमा राख्ने भनेका छौं। यस्तै पार्टीमा २० प्रतिशत युवा राख्ने भनेका छौं। महिला, दलित र मुस्लिमलाई विशेषाधिकार छ। उनीहरुको संख्याभन्दा थप गरेर प्रतिनिधित्व गराउने भनेका छौं। यसबारेमा विधानमा छलफल गर्ने भनेका छौं। यस्ता कतिपय विषय अहिले नै कार्यान्वयनमा जाने छ। कतिपय अझ परिमार्जन गरेर राष्ट्रिय सम्मेलनबाट पारित गर्ने छौं।
अर्को, राजनीतिक प्रतिवेदनको तयारी हुँदै छ। त्यसको मस्यौदा तयार गर्ने जिम्मेवारी अध्यक्षलाई दिइएको छ। उहाँ त्यसको तयारीमा हुनुहुन्छ। प्रदेश सम्मेलनअघि राजनीतिक प्रतिवेदन छलफलका लागि पठाउने भनेका छौं। विधानलाई कार्यान्वयनको प्रक्रियामा अगाडि बढाउँदै र परिमार्जन गर्दै अन्तिम रुप दिनेछौं। आम रुपमा पार्टी सदस्यता कति हो? कति सेल कमिटी हुन्? भन्नेसहित हरेक स्तरको सम्मेलन गरेर निर्वाचित कमिटी बनाउने तयारीमा जुटेका छौं। अहिले सक्रिय सदस्य करिव साढे ७ लाख पुगेको छ।
जातिगत र भौगोलिक प्रतिनिधित्वको राम्रै प्रबन्ध गरेको चर्चा गर्नुभो। नेतृत्वका चयनका लागि निर्वाचनमै जानुपर्ने परिस्थिति देख्नुभएको छ?
अहिले पनि जहाँ सहमति हुन सक्दैन, त्यहाँ खुला निर्वाचन गर्नू भनेर निर्देशन नै जारी गरेका छौं। आवश्यक भएर पनि त्यस्तो भएको छैन भने वैचारिक र सांस्कृतिक पक्ष हो। आयोजक समितिले प्रस्ताव पेश गरेपछि त्यसमाथि बेठिक लाग्यो भने आफू पनि लड्ने हो। अरुलाई उम्मेदवारका निम्ति प्रोत्साहित गर्ने वा ठिक छैन भनेर विरोध गर्ने संस्कृति नहुनु आलोचनात्मक चेतको अभाव हो। कम्युनिस्ट संस्कृतिको अभाव हो। जब मान्छे व्यक्तिवादी र गुटवादी भएर जान्छन्, त्यसपछि आफ्नो स्वार्थलाई सुरक्षित गर्न गुटहरुको आधारमा काम गर्ने प्रक्रिया हुन्छ। बेठिक देख्दादेख्दै पनि त्यसको विरुद्धमा संघर्ष गर्ने विद्रोही भाव नहुनु भनेको आलोचनात्मक चेत कमजोर भएर हो।
मुख्य पार्टीहरुको महाधिवेशन हुँदैछ। तर शिक्षा र स्वास्थ्य लगायत आधारभूत जनसरोकारको विषयमा कस्तो नीति अपनाउने भनेर किन छलफल हुँदैन?
हामीले संगठनात्मक सुदृढीकरण अभियानको एउटा प्रक्रिया अन्तर्गत राष्ट्रिय सम्मेलन गर्दै छौं। तर, राष्ट्रिय सम्मेलनको हाम्रो उदेश्य त्यति मात्रै होइन। यसलाई हाम्रो पार्टीको रुपान्तरण र पुनर्गठनको अभियानको एउटा अंग भनेका छौं। संगठन सृदृढिकरण सबै पार्टीको हुन्छ। पार्टी सदस्यता दिने, अभिलेखिकरण गर्ने, अधिवेशन गर्ने, नेतृत्व चयन गर्ने सबै हुन्छ।
हामीले राष्ट्रिय सम्मेलनको आयोजनालाई संगठनात्मक सुदृढीकरणको अभियान मात्रै होइन भनेका छौं। पार्टीलाई क्रान्तिकारी कम्युनिस्ट पार्टीको रुपमा रुपान्तरण र पुर्नगठन गर्ने प्रक्रियाको अंग पनि हो। सिंगो कम्युनिस्ट आन्दोलनको समस्या के हो भन्ने कुरा पहिचान गरेर समस्या समाधान गर्नुपर्छ भन्ने छ। पार्टीले त्यो निष्कर्ष निकालिसकेको छ।
मार्क्सवादलाई नै अहिलेको सन्दर्भमा विकसित गर्नुपर्छ। मार्क्सवादलाई दुई कोणबाट विकसित गर्नुपर्छ। एउटा, अहिलेको बस्तुगत परिस्थितिमा नयाँ बदलाव आएको छ। भुमण्डलिकरण पुँजीवाद छ। सूचना प्रविधिको असाधारण विकास छ। उत्पादन प्रविधिको विकास छ। जलवायू परिवर्तनले पैदा गरेका नयाँ चुनौतिहरु छन्। विचारगत रुपमा देखा परेका नयाँ परिघटनाहरुलाई सम्बोधन गर्नेगरी मार्क्सवादको विकास गर्नुपर्ने छ। पहिला जुन जुन देशमा समाजवाद स्थापित भए, ती ठाउँहरु संशोधनवादी हुँदै पुँजीवादमा पतन भए। त्यसका आत्मगत कारणहरु के के छन्? कम्युनिस्टहरुका के कमजोरीले गर्दा त्यहाँ प्रतिक्रान्ति हुन पुर्यो? यो कोणबाट पनि हामीले शिक्षा लिनु छ।
हाम्रो देशको उत्पादन पद्धतिको वर्ग विश्लेषण गर्न जरुरी छ। त्यसो हुँदा नेपालको विशेषतालाई पनि ध्यान दिएर बहस गर्ने छौं। मुख्यतः नेपाली समाजका आधारभूत अन्तरविरोध र नेपालको वर्ग संरचनालाई अगाडि राखेर नेपाली क्रान्तिको राजनीतिक कार्यदिशा तय गर्ने छौं। हाम्रो राजनीतिक कार्यदिशा जुन छ। त्यसले मोटामोटी बाटो देखाएको छ। तर, त्यो प्रयाप्त छैन। अझै संश्लेषण गरेर विकास गर्नुपर्ने छ। पार्टी संगठन निर्माणको क्रममा पनि सर्वहाराको अग्रदस्ता भनेर लेनिनले विचार अगाडि सार्नुभयो। पार्टीको अवधारणा र संगठनात्मक सिद्धान्तमा लेनिलले जुन अवधारणा दिनुभयो, त्यो पर्याप्त छ भन्न सकिदैन। त्यसमा अहिलेको विश्व परिवेश र हाम्रो परिवेशमा नयाँ ढंगले सोच्नु पर्छ। त्यसलाई आधारभूत रुपमा पक्रिएर परिमार्जन र विकास गर्नुपर्छ। यसमा हामी प्रवेश गरेर बहस गर्न सकेनौं। यसका आधारमा पार्टीलाई रुपान्तरण गर्न सकेनौं। वैचारिक रुपमा प्रष्ट पार्न सकेनौं भने हामीले क्रान्तिको नेतृत्व गर्ने पार्टी बनाउन सक्दैनौं भन्ने निष्कर्ष छ।
जहाँसम्म समग्र पार्टीहरुको नीति, विचार र सिद्धान्तको बारेमा तथा राजनीतिक लाइनका बारेमा छलफल नहुने र खाली नेतृत्वको बारेमा मात्रै छलफल हुने कुरा छ, योचाहिँ नेपालको राजनीतिको स्खलनको प्रक्रियाको परिणाम हो। नेपालको राजनीतिमा वैचारिक स्पष्टताको प्रश्न र सांस्कृतिक स्तर उन्नत बनाउने प्रश्न गौण भएको छ। एकदमै व्यक्तिवाद, गुटवाद, परिवारवाद हावी भएको छ। त्यसले गर्दा नै नेपालको राजनीति अहिले जुन दिशामा जानुपर्ने हो, त्यतातिर जान सकेको छैन। नेपालको राजनीतिको युगान्तकारी परिवर्तन पछाडि देशलाई जुन सामाजिक न्याय सहितको समृद्धिमा पुर्याउने र समाजवादको आधार निर्माण गर्नुपर्ने हो, त्यो नगरेकै कारणले यस्तो भयो।
अहिले पार्टीहरुका महाधिवेशनमा न भिजनका बारेमा बहस भएको छ, न त्यो भिजन अनुसारको नेतृत्वको विषयमा बहस भएको छ। नेतृत्वको गुण र चरित्रको विषयमा बहस हुँदैन। भिजनको बारेमा पनि बहस हुँदैन। त्यो नेपालको राजनीतिमा देखा परेको बैचारिक सांस्कृतिक स्खलनको परिणाम हो। सबैमा स्खलन बढेर गएको छ। त्यसैले मैले तीन कुरा हुनुपर्छ भन्दै आएको छु। हरेक पार्टी र राजनीतिमा वैचारिक सांस्कृतिक रुपान्तरणको ठूलो अभियान आवश्यक छ। राजनीतिक शुद्धीकरणको अभियान आवश्यक छ। हरेक पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन जरुरी छ। अर्को, नेतृत्व निर्माणमा हामीले आलोचनात्मक चेतका साथ आन्तरिक लोकतन्त्रका आधारमा वैचारिक सांस्कृतिक रुपान्तरणका आधारमा या पहिलाको नेतृत्व रुपान्तरण गर्ने अवस्थामा पुर्याउनु पर्छ। या, हामीले नेतृत्व परिवर्तन गर्न सक्नुपर्छ भनेर सबै राजनीतिक पार्टी र नेपाली राजनीतिमा भयो भने मात्रै सम्भव हुन सक्छ।
अब माओवादीमा विचार र नेतृत्वको विषयमा बहस हुन्छ?
त्यसो भन्दा कतिपय मान्छेहरुले के बुझ्लान् भने नेतृत्वको बहस हुन्छ भन्दा प्रचण्डलाई फाल्न खोज्या रहेछन्। त्यसरी बहस गर्न हुँदैन। हाम्रो पार्टीले प्रष्ट भनेको छ। तुलनात्मक रुपमा सबै राजनीतिक दलभन्दा राम्रो पार्टी हो। तर, हाम्रो पार्टीले पनि अहिलेकै अवस्थामा समाजवादी क्रान्तिको नेतृत्व गर्ने योग्यता हासिल गर्न सकेको छैन। यही अवस्थामा पार्टीलाई राखेर समाजवादी क्रान्तिको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी हुन सक्दैन। यो मेरो व्यक्तिगत विचार होइन।
नेपालमा स्थापित परिवर्तनका अजेण्डाहरुको मुख्य वाहक शक्ति हामी हौ। अहिलेको राजनीतिक परिवर्तनका उपलब्धीलाई खोस्न केपी ओली मार्फत प्रयत्न भयो। त्यो प्रतिगामी शक्तिविरुद्ध संघर्षको अगुवाई गर्ने अर्थात महत्वपूर्ण भूमिका खेल्ने पार्टीको रुपमा हाम्रै पार्टी स्थापित छ। हाम्रो पार्टीले मार्क्सवाद, लेनिनवाद र माओवाद हुनुपर्छ, कम्युनिस्ट पार्टी नै बनाउनु पर्छ, समाजवाद निर्माण गर्नुपर्छ भनिरहेको छ। यो पार्टीमा रुपमान्तरणको विउ वाँकी छ। सम्भावना वाँकी छ। तर, यो पार्टी वैचारिक सांस्कृतिक रुपमा स्खलित हुँदै गईरहेको छ। यो स्खलनलाई रोक्न सकिएन भने अहिलेको अवस्थामा पनि टिक्दैन। पुँजीवादी ढर्राबाट चलाउने हो भने हाम्रो पार्टी नै चाहिँदैन। पहिलादेखि नै स्थापित कांग्रेस वा एमाले नै पर्याप्त छँदैछ नि।
यही स्थतिमा पार्टीलाई राखियो भने रुपान्तरण र पुर्नगठन हुने दिशातिर जाँदैन। बरु स्खलनको प्रक्रियामा जान्छ। यस्तो अवस्थामा दुई वटा परिणाम हुन्छ। या पुँजीवादी पार्टीको रुपमा रुपान्तरित हुन्छ। अब यसलाई फेरौं भन्नु पर्दैन। या यो विघटन वा विसर्जनको बाटोमा जान्छ। कतिपय मान्छेहरुले विघटन वा विसर्जनमा जाने भयो भन्छन्। त्यस्तो होइन। अहिले तुलनात्मक रुपमा हाम्रो पार्टी राम्रो छ। तर, हामीले स्खलनको प्रक्रिया रोक्न सकेनौं भने कम्युनिस्ट आन्दोलनलाई नेतृत्व गर्ने पार्टीको जुन आवश्यकता छ, त्यसलाई पुरा गर्न सकिँदैन। यथास्थितिवादसँग सम्बन्ध विच्छेद गर्नुपर्छ। गुणात्मक फड्को मार्नुपर्छ। विचारको छिपछिपे र अस्पष्टतालाई अन्त्य गरेर विचारको विकास गर्नुपर्छ। पार्टीमा व्यक्तिवाद, गुटवाद नियन्त्रण गर्दै अन्त्य गरौं। विधि, पद्धति, संस्थागत र सामुहिकतामा जाऔ। आर्थिक भ्रष्टिकरण, अनियमितता र अराजकता जो छ, त्यसलाई अन्त्य गरौं। स्वच्छ पार्टी बनाऔं। त्यसो भएपछि मात्रै उत्पिडित वर्ग र उत्पिडित जनसमुदायको स्वार्थको प्रतिनिधित्व गर्ने पार्टी हुन सक्छ।
तपाईंले माओवादी पार्टीलाई क्रान्तिकारी रुपान्तरण गर्न सम्भव छ भन्नुभयो। तर, तपाईकै विरोधीहरुले एक्लाएक्लै चुनाव लडियो भने अर्को चुनावमा माओवादी सकिन्छ भन्छन् नि?
पहिला त्यो तथ्य होइन। हामीले एउटा चुनाव मात्रै हेर्दैनौं। चुनाव नै हेर्ने हो भने पुँजीवादी पार्टी हुन्छौं। यति धेरै रुपान्तरण गर्नुपर्छ, पुर्नगठर्न गर्नुपर्छ भनेर कम्युनिस्टले मात्रै साहस गर्छ। अहिलेको अवस्थामा समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्दैनौं। त्यसका निम्ती रुपान्तरण र पुर्नगठन गर्नुपर्छ भनेर आमजनतालाई भन्नुपर्छ भन्ने हामीले हिम्मत गर्यौं। त्यसो हुँदा हामीले एउटा चुनावलाई मात्रै हेरेका छैनौं। खाली चुनाव मात्रै जित्ने लक्ष्य होइन। एउटा चुनावबाट अर्को चुनावमा मात्रै जाने होइन। क्रान्तिकारी कम्युनिस्ट पार्टीले समाजवादी क्रान्तिकारीको नेतृत्व गर्नुपर्छ र त्यो नेतृत्व गर्ने प्रक्रिया अन्तर्गत शान्तिपूर्ण प्रतिस्पर्धामा पनि जित्ने भनेको हो। क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन सक्यौ भने शान्तिपूर्ण प्रतिस्पर्धामा पनि जित्छौं। क्रान्तिकारी कम्युनिस्ट पार्टी बनाउन सकेनौं भने हाम्रो औचित्य नै हुँदैन र टिक्न पनि सक्दैनौं। त्यो हामीलाई राम्रोसंग थाहा छ। पुँजीवादी पार्टीको रुपमा यो पार्टीको औचित्य रहँदैन। त्यो अरुले होइन, हामीले भनेका छौं। हाम्रो संकल्प यो पार्टीलाई रुपान्तरण, पुर्नगठर्न गर्नुपर्छ र समाजवादी क्रान्ति गर्ने पार्टीको रुपमा बदल्नुपर्छ भन्ने हो।
के माओवादी रुपान्तरण हुने दिशातिर जाने देख्नुहुन्छ?
माओवादी रुपान्तरण हुन्छ र गर्नुपर्छ भन्ने छ। रुपान्तरण हुने सम्भावना छ। तर, त्यो धेरै चुनौतिपूर्ण छ भन्ने हामीले महशुस गरेका छौं। अहिले स्खलनको प्रक्रिया तिवृ भएको छ।
सामाजिक सञ्जालमा बारम्बार असन्तुष्टी देखिन्छ। कमिटीमा आफ्ना कुरा राख्न नपाएर हो कि?
पार्टीका विषयमा कमिटीमा छलफल नभएको विषय बाहिर राखेको छैन। नेपाली कम्युनिस्ट आन्दोलन र हाम्रो पार्टीसंग सम्बन्धित विषयहरुलाई बाहिर पनि बहसमा लैजाने भन्ने छ। जस्तो, केही कुरा मान्छेले बुझ्दा पनि बुझेको छैन।
गुटवाद र परिवारवाद हाम्रो पार्टीको औपचारिक निष्कर्ष हो। जसले भन्दैन, त्यो पार्टी विरोधी हो। हाम्रो पार्टीमा दुई प्रवृत्ति छ। पार्टी प्रवृत्ति वा क्रान्तिकारी प्रवृत्ति छ। गैरपार्टी प्रवृत्ति वा गैरक्रान्तिकारी प्रवृत्ति छ। पार्टी प्रवृत्ति भनेको जसले क्रान्तिलाई केन्द्रविन्दुमा राख्छ, क्रान्तिकारी विचार सिद्धान्त र राजनीतिलाई केन्द्रविन्दुमा राख्छ, जसले पार्टीलाई विधि र पद्धतीमा चलाउनुपर्छ भन्छ, जसले संस्थागत रुपमा चलाउनुपर्छ भन्छ, सामुहिकतामा जानुपर्छ भन्छ, भ्रष्टिकरणलाई रोक्नुपर्छ भन्छ। र यो पार्टीलाई अझै रुपान्तरण गरेर मात्रै क्रान्तिको नेतृत्व गर्न सकिन्छ भन्छ भने पार्टी प्रवृत्ति हो।
जसलाई क्रान्तिको मतलव छैन, क्रान्तिकारी विचारको पनि मतलव छैन, हिजो क्रान्तिकारी पंक्तिबाटै आएको भए पनि, बाहिरबाट आएको भए पनि एउटा यस्तो पंक्ति छ। जसलाई क्रान्ति स्रान्ति, विचार सिचार केही मतलव छैन। जे जे पाईन्छ, त्यो त्यो खाने हो भन्ने छ। पार्टीको पद खाने वा राज्यको पद खाने र पैसा कमाउने भन्ने छ। त्यो गैरपार्टी प्रवृत्ति हो।
यो दुई वटा प्रवृत्तिका विरुद्ध सघर्ष हुन्छ नै। गम्भिर संकटमा पार्टी पुगेको छ भनेर निष्कर्ष निकाल्ने, संघर्षको रुपान्तरण हुँदैन भन्ने हो भने त्यो आदर्शवाद हो। पहिला अध्यक्ष कमरेडले जे जे आफूलाई रुपान्तरण गर्नुपर्छ त्यो गर्ने भन्ने छ। सबैलाई रुपान्तरणको प्रक्रियामा हेल्ने हो। जो रुपान्तरण हुँदैन, त्यसका विरुद्ध संघर्ष गर्ने, क्रान्तिकारी प्रवृत्तिलाई स्थापित गर्ने, क्रान्तिकारी प्रवृत्तिलाई मुल प्रवृत्ति बनाएर यो पार्टीको रुपान्तरण र पुर्नगठन गर्ने र सहिदहरुको सपना पुरा गर्ने समाजवादी क्रान्तिकारीको नेतृत्व गर्न सकिन्छ। यो कुरा जसले भनेको छैन, त्यो पार्टी विरोधी हो।
तपाईले यसरी बाहिर असन्तुष्टीहरु पोख्दा सरकारमा जान नपाएकाले असन्तुष्टि पोखेको आरोप लगाउँछन नि?
मैले सरकारमा नगएपछि बोलेको कुरा हो र? मेरो होल हिस्ट्री हेनुस्। नेकपा बनाउनुभन्दा अघि, नेकपा बनेपछि र अहिलेसम्म सबै आलोचनात्मक चेतका आधारमा भन्छु। मैले आलोचनात्मक चेत राख्न छोड्दिन। लोकमानसिंह कार्कीलाई अख्तियार प्रमुख बनाउँदा कसले सार्वजनिक विरोध गर्यो? मैले गरेको हुँ। त्यो बेला मन्त्रीको कुरा थियो? त्यो वाहियात कुरा हो। अरु पनि थुप्रै विषयहरु छन्, जसका वारेमा सार्वजनिक बहस गरेको छु। कतिपय विषय पार्टीभित्र बहस गरेको छु। यो पार्टी रुपान्तरण र पुर्नगठनको निम्ती हो।
अहिले अर्को प्रवृत्ति पनि छ। अध्यक्ष र मेरो बीचमा बडो ठूलो खाडल खडा गर्न खोजिएको छ। मैले भनेको निष्कर्षहरु मैले र अध्यक्ष कमरेडले सामुहिक रुपमा प्रस्तावित गरेर सर्वसम्मत रुपमा पारित गरेको हो। मतभेद हुँदैन भने पार्टी पनि जीवन्त हुँदैन, क्रान्तिकारी पार्टीको त कुरा छोड्नुस्। त्यो केमा केन्द्रीत हुनुपर्छ? यो पार्टी निर्माण, सामाजिक न्याय सहितको समृद्धिको मोडल, सरकार सञ्चालन, विकास र समाजवादमा बहस हुनु पर्यो नि! त्यसरी बहस हुन्छ भने पार्टी बन्छ। त्यसले क्रान्तिको दिशातिर लैजान्छ। त्यस्तो हुँदैन भने दासहरुले पार्टी बनाउँदैनन्। र अराजकहरुले पार्टी बनाउँदैनन्। यो कुरा बुझे हुन्छ। यसमा अध्यक्ष र म एक ठाउँमा छौं।
हाम्रो पार्टीभित्रैबाट र बाहिरबाट विभिन्न शक्तिहरुले लिडरसिपहरुका विचमा फाटो पैदा गरेर केही भजाउन खोज्दै छन्। हामी भने यो पार्टी कसरी बनाउन सकिन्छ भनेर खुलेरै धेरै कुरा गरिरहेका छौं। यो पार्टी समाजवादी क्रान्तिको नेतृत्व गर्न सक्ने कम्युनिस्ट आन्दोलनले माग गरेको जस्तो पार्टी छैन। यो पार्टीलाई यही रुपमा राख्ने हो भने विघटन गरे हुन्छ भनेर भनिसकियो। यो पार्टीलाई यही रुपमा चलाउन कसरी नैतिक बल आउँछ? यो पार्टीलाई फेर्नुपर्यो नि! व्यक्तिवादी, गुटवादी र भ्रष्टहरुलाई या रुपान्तरण होऊ भन्नु पर्छ, या त हामीहरुले उचित रुपमा तह लगाउनु पर्छ।
मैले भागबण्डा के के खोजेँ? कहाँ खोजेँ? कि त हिजो मसंग आएका मान्छेहरु यो पार्टीमा कुनै पदमा पनि उपयुक्त छैनन् भनेर प्रमाणित गर्नुपर्यो, त्यसो भए भागबण्डा सबैभन्दा बढी अरुले खोजेका छन् भन्छु। त्यसलाई के भन्ने हो? वाहियात कुरा गर्ने? त्यो योग्य छ कि छैन? क्षमतावान छ कि छैन? निष्ठावान छ कि छैन? भनेर पो हेर्नुपर्यो। कोसंग जोडिएको छ भनेर हेरेर 'पूर्व कुनै गुटले भागबण्डा खोजिरहेको रहेछ' भन्नुपर्ने हुन्छ। मैले त्यो भन्न मिल्छ? त्यो वाहियात कुरा होइन? त्यो वाहियात कुरा हो। जहाँसम्म संगठनात्मक कुरा छ, संगठनमा सक्रिय नै छु। यो गुट बनाउने र आफ्ना मान्छेलाई पैसा दिएर वा प्रलोभन दिएर लेख्न लगाउने, मञ्चमा जाँदा तयारी गरेर ताली बजाउन लगाएर जाने गर्दिन। त्यो गर्न पनि मिल्दैन। यो पार्टी कि रुपान्तरण गरिन्छ। या कम्युनिस्ट क्रान्तिकारीले जे गर्नुपर्छ, त्यही गरिन्छ।
माओवादी केन्द्र एक्लाएक्लै चुनावमा जान डराएर हो कि खाली तपाईंहरु गठबन्धन गरेर चुनावमा जान्छ भनिरहनु भएको छ?
यो गठबन्धन चुनावसम्म रहन्छ भनेका हौं। चुनावी गठबन्धन भनेको होइन। यो बुझाईमै समस्या छ। हामीले प्रतिगमनविरुद्धको संघर्षको क्रममा प्रतिगामी कदमलाई असफल पार्न गठबन्धन बनायौं। त्यो आवश्यक थियो। प्रतिगमनलाई असफल पार्ने बेलाको दायित्व भनेको यो प्रतिनिधि सभालाई पुरा कार्यकाल जीवित बनाउने र चुनावसम्म देशलाई लैजाने भनेका छौं। त्यसका लागि गठबन्धन चाहिन्छ भनेका हौं। चुनावमा कसरी जाने भन्ने विषयमा प्रवेश नै गरिएको छैन। गठबन्धन कस्तो हुन्छ? गठबन्धनभन्दा बाहिरका शक्तिहरुसंग सहकार्य हुन्छ कि हुँदैन? गठबन्धनमै पनि कोसंग हुन्छ, कोसंग हुँदैन? त्यसमा प्रवेश नै गरेका छैनौ। त्यसै मान्छेले भनिरहेका छन्। कुरा बुझ्दैनन्। चुनावसम्म गठबन्धन रहन्छ भनेको यो गठबन्धनको चुनावी मोर्चा बन्यो भनेको होइन नि। चुनावी मोर्चाका विषयमा प्रवेश नै गरेका छैनौं। चुनाव घोषणा भएपछि प्रवेश गर्न सक्छ।
तपाईहरु, एकीकृत समाजवादी, जसपा, राष्ट्रिय जनमोर्चा र विप्लव नेतृत्वको नेकपा लगायतका शक्तिसंग गठबन्धन हुने सम्भावना छ कि छैन?
नीतिगत रुपमा नेकपा बनायौं। विविध कारणले त्यसले परिणाम दिन सकेन। विदेशी शक्तिहरु, देशभित्रका चरम पुँजीवादी र गैरकम्युनिस्ट दृष्टिकोण बोकेका शक्तिहरु र चरम व्यक्तिवादी कारणले त्यो उद्देश्य पुरा हुनुभन्दा अगाडि नै विभाजन गराईयो। त्यसबाट शिक्षा लिन्छौं। त्यसबाट शिक्षा लिने भन्ने बित्तिकै एकता र ध्रुबीकरण छोड्छौं भन्ने हुँदैन। अहिले तत्काल यही नै बेलामा यो पार्टीसंग एकता हुने भयो भन्ने कुरा सत्य होइन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।