काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलको बार्सिलोना विजयी भएको छ । इन्जुरी समयमा राफिन्हाले गरेको पेनाल्टी गोलमा बार्सिलोनाले सेल्टा भिगोलाई ४–३ ले हराएको हो । राफिन्होको गोलसँगै खेल सकिएको थियो ।
खेलको १२ औँ मिनेटमा फेरान टोरेसले बार्सिलोनालाई अग्रता दिलाए पनि बोजाए इग्लेसियासले ह्याट्रिक गरेपछि ६३ औँ मिनेटसम्म सेल्टाभिगो ३–१ ले अगाडि थियो ।
खेलको ६४ औँ मिनेटमा डानी अल्मोले गोल गरेको खेलमा ६८ औँ मिनेटमा राफिन्हाले बराबरी गोल गरेका थिए ।
स्पेनिस ला लिगामा शनिबार भएका अन्य खेलमा एट्लेटिको म्याड्रिडलाई लास पल्मासले १–० ले हराएको छ। रायो भल्कानो र भ्यालेन्सियाको खेल १–१ तथा मालोर्का र लेगानेसको खेल गोलरहित बराबरीमा सकिएको छ ।
तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनाको ७३ तथा तेस्रो स्थानमा रहेको एट्लेटिकोको ६३ अङ्क छ । एक खेल कम खेलेको रियल म्याड्रिड ६६ अङ्कसहित दोस्रो स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।