• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, भदौ ५, २०८३ Fri, Aug 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

जित वा हार गौण हो, कांग्रेसमा प्राण भर्न मेरो उम्मेदवारी: महेश आचार्य [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शुक्रबार, मंसिर ३, २०७८  २०:१५
1140x725

महेश आचार्य नेपाली कांग्रेसभित्र विचारमा प्रष्टता भएका सीमित नेतामध्ये पर्छन्। कुनै बेला यस्तो पनि थियो, प्रधानमन्त्री बन्ने हरेक कांग्रेस नेताले आफ्नो क्याबिनेटमा आचार्यलाई ल्याउन खोज्थे। तर, झण्डै तीन दशकदेखि कांग्रेसको केन्द्रीय कार्यसमितिमा रहँदै आएका आचार्य पछिल्लो समय राष्ट्रिय राजनीति र कांग्रेस राजनीति दुबैबाट पूरै ओझेल परेका देखिए। त्यसको एउटा कारण २०७४ को प्रतिनिधि सभा निर्वाचनमा भोगेको पराजय थियो।  कारण त्यति मात्र भने थिएन। कांग्रेसको वर्तमान नेतृत्व र यो पार्टीभित्र चुलिएको गुटगत राजनीतिले पनि त्यसमा काम गर्‍यो। १४ औं महाधिवेशनको संघारमा पुगेको कांग्रेसमा ‘हराएका’ तिनै आचार्यले दुई दिनअघि अचानक उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेर तरंग ल्याइदिएका छन्। एकाएक उपसभापतिको उम्मेदवार बन्ने निर्णय उनले किन गरे? आचार्यसँग आजको कांग्रेसको अवस्था, महाधिवेशनको सम्भावित परिदृष्य अनि कांग्रेसका भावी दिन र दशाबारे नेपाल लाइभका लागि रामेश्वर बोहराले गरेको संवादः

महाधिवेशन सम्मुखमा आइसकेपछि अचानक उपसभापतिमा उम्मेदवारी घोषणा गर्नुभयो नि?
मैले विगत लामो समयदेखि पार्टीको केन्द्रीय समितिमा रहेर पार्टीको नीति, संगठन र राष्ट्रिय राजनीतिका महत्वपूर्ण मुद्दामा छलफल गर्ने विषयहरु राख्दै आएकै छु। योसँग जोडिएको तेस्रो पाटो पनि छ। हाम्रो अन्तर्राष्ट्रिय सम्बन्धमा, हाम्रा मित्रराष्ट्रहरुका बीचमा बढ्दो प्रतिस्पर्धा, खासगरी हाम्रा दुई ठूला छिमेकीबीच बढ्दो राजनीतिक प्रतिस्पर्धा, द्वन्द्व, सैन्य प्रतिस्पर्धासम्मको अवस्था छ। हाम्रो परराष्ट्र सम्बन्ध, देशको राष्ट्रिय अस्तित्वसँग जोडिएका मुद्दाहरुमा पर्न सक्ने प्रभावबारे पनि देशभित्र एउटा सचेत बहस, छलफल र राष्ट्रिय धारणा बन्नुपर्छ भन्ने कुरा मैले लगातार उठाइरहेको थिएँ। अहिले महाधिवेशन जति नजिक आउँदै छ, दुर्भाग्यवस यसपटकको महाधिवेशन विचार र नीतिको आधारमा नेतृत्व चयन गर्ने अवसर गुमाएको महाधिवेशन बन्दै छ। अनुहार हेरेर नेतृत्व छान्नुपर्ने महाधिवेशन बन्दैछ। त्यसैले, हाम्रो पार्टीको आन्तरिक संगठनसँग जोडिएका मुद्दा, राष्ट्रिय राजनीतिका गम्भीर मुद्दा र अन्तर्राष्ट्रिय सम्बन्धबाट हाम्रो राष्ट्रिय अस्मिता र राष्ट्रको समृद्धिमा प्रतिकुल प्रभाव पार्नसक्ने मुद्दाहरुमा हाम्रो नेतृत्व पंक्तिले छलफल गरोस्, हाम्रो पार्टीको तल्लो निकायसम्म यस्ता वैचारिक कुराहरु जाऊन्, सचेत ढंगले हाम्रो पार्टीको वैधानिक ढाँचालाई प्रयोग गरेर तलसम्मका साथीहरुलाई वैचारिक रुपले बलियो बनाउन सकियोस् भनेर मैले यो निर्णय गरेको हुँ।

 

हामीसँग प्रतिस्पर्धा गरिरहेका अरु पार्टीमा पनि यो वैचारिक बहस संक्रामक भएर फैलियोस् भन्ने मेरो चाहना हो। यी कुराहरुमा साथीहरुले जिल्ला–जिल्लाबाट चिन्ता प्रकट गरिरहनुहुन्छ। मेरो आफ्नै मनमा पनि खुल्दुली थियो। यसलाई अभिव्यक्त गर्न र यो बहसमा पार्टीका सबै पुस्ताका साथीहरुको ध्यान केन्द्रित गराउन म उम्मेदवारी घोषणा गर्ने निष्कर्षमा पुगेँ। यसले कस्तो आकार लिन्छ, म अहिल्यै भन्न सक्दिनँ। परिणाम मेरो जय वा पराजय के हुन्छ, त्यसका बारेमा पनि म धेरै चिन्तित छैन। तर, जे कुराले प्रेरित भएर मैले यी विषयहरु उठाउन खोज्दै छु, त्यसमा नेपाली कांग्रेसका साथीहरुको गम्भीर ध्यानाकर्षण गराउन सकेँ भने मेरो उम्मेदवारीको औचित्य पुष्टि भएको मान्छु। त्यही भनेरै यो निर्णय गरेको हुँ।

आजको कांग्रेसमा तपाईंले भनेका यी तीनवटा मूलभुत विषयमा बहस नै भइरहेको छैन भन्ने तपाईंको निष्कर्ष हो? 
त्यो अत्यन्तै धुमिल छ। अप्रभावी छ। संगठनसँग सम्बन्धित मुद्दाहरुलाई सूत्रबद्ध रुपमा भन्दा हाम्रो पार्टीमा एकपटक पदीय दायित्वमा गइसकेको साथीले दोहोर्‍याएर त्यही पदमा जान पाउने सुविधा हाम्रो विधानले दिएको छ। म त्यहीँ नै समस्या देख्छु। एकचोटी पदीय दायित्वमा गइसकेको साथी अर्कोचोटि जसरी पनि दोहोरिन चाहने प्रवृति मौलाएको छ। जुनसुकै उपायबाट पनि आफूलाई गर्न हुने र नहुने तौरतरिका अपनाएर दोहोरिने परिपाटी छ, त्यसमा अब सोच्ने बेला आयो भन्ने मलाई लाग्छ। निर्वाचित भएर आउन अस्वस्थ ढंगको बल प्रयोग गर्ने परिस्थिति बनेको छ है भनेर पार्टीका साथीहरुलाई भन्नुपर्ने भएको छ। 

एउटा अवधि (चार वर्ष वा पाँच वर्ष) नेतृत्व गरिसकेपछि किन दोहोर्‍याउनुपर्यो? हामीले बहुपद सिर्जना गरेका छौं। सभापति, उपसभापति र त्यसमा पनि संख्या थपेर तदर्थवादी हिसाबले संगठन बनाइरहेका छौं। सबै पदमा गुटगत प्रतिस्पर्धाको जुन अभ्यास बलियो बनेको छ, त्यसले पार्टीलाई नराम्ररी गुटमा विभक्त गरेको छ। पार्टी गुटमा चिराचिरा भएको छ, हरेक पदमा अस्वस्थ ढंगको गुटगत प्रतिस्पर्धाले पार्टीभित्रका सक्षम र प्रतिभावान साथीहरु स्वस्थ प्रतिस्पर्धा गरेर आउने अवसर संकुचन भएको छ। यो सोच्नैपर्ने विषय हो। हामीले विधानको व्यवस्थामै गम्भीर रुपले सोच्नुपर्नेछ। गुटगत प्रणालीले जुन इरोजन आएको छ, स्वस्थ प्रतिस्पर्धाबाट द्वन्द्वहरु निराकरण गरेर सक्षम नेतृत्व ल्याउने मान्यता नै ओझेलमा परेको छ। 

अर्को, विधानले संरक्षित गरेका अधिकारहरु गुटगत राजनीति र प्रतिस्पर्धाको सिकार बनेका छन्। कार्यसमिति भनेको पार्टीको विचार बनाउने बडी हो। राष्ट्रिय र अन्तर्राष्ट्रिय मुद्दामा छलफल गर्ने थलो हो। तर, विगत केही समयदेखि केन्द्रदेखि तलसम्मका कार्यसमितिको अधिकार अपहरण भएको देख्छु। पदाधिकारीको सानो समूह बसेर निर्णय गर्दै जाने चलन बसेको छ। यो हामीले विचार गर्नुपर्ने विषय हो कि होइन? मैले आफ्नो उम्मेदवारीका माध्यमबाट यो प्रश्न देशभरका सबै साथीहरुको अगाडि राख्न खोजेको छु। 

अहिले कोभिड–१९ का कारणले हाम्रो आर्थिक र सामाजिक संरचना क्षतिग्रस्त बनेको छ। यसबाट निस्कने उपायबारे कसले बहस गर्ने? कांग्रेस जस्तो ऐतिहासिक पार्टीको नेतृत्वले नगर्ने हो भने यसको बहस कसले गर्छ? हामीलाई एउटा राष्ट्रिय रिकभरी प्लान आवश्यक भएको बेलामा जलवायु संकटले झन् बढी गाँजेको छ। नेपाल जलवायु संकटले निम्त्याउने विपद्को अग्रसूचीमा परेको छ। हाम्रा हिमशृङ्खलाहरु, नदी, हाम्रो बायोडाइभर्सिटी, खेती प्रणालीहरु, पर्वतीय क्षेत्रका जनताको जीवनशैली र आधारहरु भत्कँदै जाँदैछन्। बाढी, हावा–हुन्डरी, आगलागी, डढेलोका ठूल्ठूला घटनाहरु दोहोरिँदै जाने वैज्ञानिक भविष्यवाणीका कारण देश एउटा गम्भीर संकटमा परेको छ। यो विषयलाई बहसमा नल्याउने हो भने देशको नेता बन्ने आधारभूमि गुम्छ। 

nimb
nimb
Ncell 2
Ncell 2

अहिले हाम्रो लोकतन्त्रका आधारभूत संरचना चलेका छैनन्। सरकार राम्रोसँग चलेको छैन। दुईतिहाइको सरकार धुजाधुजा भएर टुक्रिएको देख्यौं। गठबन्धनको सरकार बनाएका छौं, तर त्यो दिग्भ्रमित र दिशाहीन जस्तो छ। संसद चलेको छैन। न्याय क्षेत्र चलेको छैन। गम्भीर आरोपले ग्रसित छ। लोकतन्त्रका यी तीन मह्वपूर्ण क्षेत्र चल्न नसक्दा लोकतन्त्र कसरी चलेको छ भनेर छलफल गर्ने बेला भयो कि भएन? म नेपालमा मात्रै यो समस्या छ भन्दिनँ, अमेरिका जस्तो मुलुकमा पनि ट्रम्प एरापछि लोकतन्त्र चल्न कठिन भयो। अमेरिकाको लोकतन्त्रमा भएको क्षयीकरणको मुद्दा अहिले अमेरिकी राष्ट्रपति स्वयंले उठाइरहेको अवस्था छ। छिमेकको हिन्दूस्तानमा गम्भीर सामाजिक द्वन्द्व र मतभेद उठिराखेका छन्। हाम्रोमा पनि यो देखिरहेका छौं। यसमा छलफल नगरी कांग्रेसले कसरी देशको नेता उत्पादन गर्न सक्छ?

यहीबेला देश एकातिर चीनको नेतृत्वमा अर्कोतिर भारत र अमेरिका नेतृत्वको द्वन्द्वको भूमरीमा फस्ने हो कि भन्ने चिन्ता छ। महाधिवेशनमा यी विषयमा चर्चा पनि नगरीकन आउने नेतृत्वबाट कांग्रेसले देशका मुद्दाहरुमा कसरी छलफल गर्छ? नेतृत्व गर्न चाहने साथीहरुले यो विषयमा बोलेर साथीहरुलाई भरोसा दिलाउन त सक्नु पर्‍यो नि। 

महाधिवेशनमा त्यसो गर्न सकिएन भनेर हामीले कारण र बहाना त प्रस्तुत गर्न सकौंला, तर झण्डै ६ वर्ष समय अवधि पाएको पार्टी नेतृत्व हो यो। म पनि त्यही कमिटीमा छु। यो हामी सबैको असफलता हो। यो संस्थागत र लोकतान्त्रिक स्वतन्त्रता, अधिकार र संस्थाहरुको क्षयीकरणको प्रक्रियालाई गम्भीर ढंगले दृष्टिपात गर्न नसक्नुको परिणाम हो भन्ने हामी सबैले बोध गर्नुपर्छ। यसबाट मुक्तिको त्राण पाउने उपाय खोजी गर्नुपर्छ। मेरो उम्मेदवारीको महत्वपूर्ण वैचारिक पाटो यही हो। हो, उपसभापतिको उम्मेदवारले यो सबै गम्भीर कुरा टुंगोमा पुर्‍याउन सक्छु त? भन्ने प्रश्न उठ्ला। हाम्रो विधानको संरचनाले उपसभापतिलाई एउटा ठाउँ दिन्छ। पार्टीको नीति, अनुसन्धान, समसामयिक परिस्थितिको अध्ययनदेखि विशाल कार्यकर्ताको पंक्तिमा वैचारिक प्रशिक्षण र छलफलको पाटोलाई फराकिलो बनाउने, नेतृत्व विकासको प्रक्रियालाई वैचारिक रुपले सुदृढ गर्ने उपसभापतिको एउटा क्षेत्र छ। म त्यो ठाउँमा जान चाहन्छु। र, त्यो ठाउँमा पुगेँ भने नयाँ ढंगले पार्टीभित्र वैचारिक बहसलाई उर्जा, प्राण, वायु प्रवाह गर्ने चेष्टा गर्छु। यो प्रक्रियाबाट कांग्रेस पार्टीभित्र मैले सोचेको जस्तो परिस्थिति निर्माण गर्न सकेँ भने यसले कांग्रेसलाई मात्र होइन, हाम्रो प्रतिस्पर्धामा रहेका अरु पार्टीलाई पनि लोकतान्त्रिक मूल्य, पद्धति, लोकतान्त्रिक संस्थामा लोकतान्त्रिक नेतृत्व विकासको प्रक्रियामा अडिनका लागि सहयोग पुर्‍याउँछन्।

हिजो मैले केन्द्रीय कार्यसमितिमा पनि यो बहसलाई प्रवेश गराउने कोसिस गरेँ, तर त्यति सफल हुन सकिनँ। महाधिवेशन पार्टीको सर्वोच्च निकाय हो। विना कुनै पूर्वाग्रह पार्टी जोगाउने चिन्ता बोकेर आउने देशभरीका साथीहरुको जुन एउटा विशाल पंक्ति छ, त्यहाँ यो विषयलाई प्रवेश गराउन चाहन्छु। मैले अघि पनि भनेँ, म यसको परिणामसँग होइन मुद्दाको गाम्भीर्यलाई लैजाने प्रयत्नका लागि उम्मेदवारीको कुरा गर्दैछु।

उम्मेदवार बन्नुपर्छ भन्ने कुरा तपाईंको मनमा केही समय पहिला नै कतै आएको थियो कि कांग्रेसको पछिल्लो अवस्थाले गर्दा मात्र आएको हो? 
यो दुईवटै कुरा थियो। यो कार्यकालमा पनि म केन्द्रीय समितिमा थिएँ। यद्यपि म केन्द्रीय समितिमा भएको लगातार २५/३० वर्ष हुन आँट्यो। तर, पछिल्लो चरणमा संविधान लेखिसकेपछि यसको स्प्रिटअनुसार ढाँचा र निर्णय प्रक्रिया बदल्दै जाने प्रयोजनका निम्ति मैले विधानमा भएका थुप्रै असंगतीका बारेमा कुरा उठाएँ, वैचारिक कुरा उठाएँ। प्रधानमन्त्री कोप–२६ मा जाँदै हुनुहुन्थ्यो, अढाई तीन महिना अगाडि नै मैलै हाम्रो पार्टीभित्र बहस गरौं भन्ने प्रस्ताव राखेँ। तर, यी विषयले प्रवेश पाएनन्। अहिले संविधानको भावनाअनुसार हामीले विधान परिवर्तन गर्‍यौं, अब तल तल निर्णय गर्ने अधिकार निक्षेपित गर्दै जानुपर्छ। तल्लो तहमा निर्णय गर्ने अधिकारसँगै नेतृत्व विकासको अभ्यास नै संघीयताको मर्म हो। दलहरुको हकमा नेतृत्व र निर्णय गर्ने कुरा तल लैजाने कुरा हो। तर, अवस्था कस्तो छ भने कांग्रेसका १० लाख कार्यकर्ताको निर्णय चाहिँ हामीले केन्द्रमा ल्याएर छानबिन गर्ने पद्धति अपनाइरहेका छौं। यो संघीयताको मर्म विपरीत हो। यो हरेक पालिका र वडास्तरमा टुंग्याउनुपर्ने विषय हो। त्यहाँ नटुंगिँदा कम्तीमा पालिका र क्षेत्रीय स्तरमा टुंगिनुपर्ने थियो। दुर्भाग्य, संघीयताको मर्म र विधानले गरेको व्यवस्था विपरीत हामीले १० लाख कार्यकर्ताको नामावली केन्द्रमा ल्याएर महिनौं लगायौं, तर अझै टुंग्याउन सकेका छैनौं। एउटा लिस्ट सार्वजनिक हुन्छ, फेरि थपिएर आयो, काटियो भन्छौं। त्यसले निम्त्याएको अनसन अहिलेसम्म देखि–भोगिरहेका छौं। त्यसकारण यो वेथिति चलिरहँदा कहीँ न कहीँ हस्तक्षेप गर्ने बेला भयो भन्ने लाग्छ। सबै मिलेर हस्तक्षेप गरेर यस्ता विसंगतिबाट पार्टीलाई जोगाउनुपर्छ भन्ने मलाई लागिरहेको छ। 

जति महाधिवेशन नजिकिँदै गयो, नेतृत्वका लागि विकल्प झन् फराकिलो बन्नुपर्नेमा फेरी पनि दुईवटा गुटमा विभक्त भएर एउटा गुटले अर्को गुटलाई परास्त गर्ने ढंगको अभ्यास मात्र देखेपछि म हतारिएँ। पार्टीका साथीहरुलाई पनि भनेँ। केन्द्रीय समितिमा भएका र पदीय दायित्वमा अग्रपंक्तिमा भएका सिनियर साथीहरुलाई भनेँ। मैले पार्टी सभापति, वरिष्ठ नेतादेखि सहकर्मी साथीहरुसँग पनि भनेँ कि मैले उम्मेदवारी दिने निर्णय गरेँ। मभन्दा सिनियर साथीहरु सभापतिको दौडमा हुनुहुन्छ, मभन्दा पछाडिका साथीहरु पनि यो रेसमा आउनुभएको छ। तर, मभन्दा सिनियर साथीहरु देखिसकेपछि उहाँहरुले प्रतिस्पर्धा गरिरहँदा म त्यसमा होमिन जान्नँ। तर, यी मुद्दाहरुलाई विधिवत रुपमा उठाउन सक्ने विधानले जुन ठाउँ दिएको छ, म देशभरका साथीहरुको विवेकमा भर गरेर म त्यो ठाउँमा पुग्न चाहन्छु। नेताहरुको समीकरणमा लागेर होइन, देशभरका महाधिवेशन प्रतिनिधिहरुको विवेकमा भर परेर म त्यहाँ पुग्ने हो। अब ढिलो भयो या चाँडो भयो म भन्न सक्दिनँ, तर मेरो मनमा उकुसमुकुस चाहिँ लामो समयदेखि थियो। महाधिवेशन नजिक आउँदै गर्दा चाहिँ मैले सोचेका विषय पार्टीको निर्णय प्रक्रियामा हुने परिस्थिति नदेखेपछि उम्मेदवारीको घोषणा गर्ने निर्णय गरेँ। अब यीनै मुद्दा साथीहरुको माझमा लैजान्छु।

तपाईंले अघि नै भन्नुभो कि उम्मेदवार बन्छु, जित वा हार जे पनि हुन सक्छ। उपसभापति भन्नसाथै कोही न कोही सभापतिकै उपसभापति बन्ने हो। तपाईंको सभापति चाहिँ को हुन्छ? 
मेरो मनमा आएका यीनै अजेन्डालाई टेकेर जाने, तमाम साथीहरुको विश्वासमा खरो उत्रने नेता नै मेरो सभापति हो। तर, मलाई के लाग्छ भने अनुहार हेरेर पुरानाको गाथाको गायनले नेता चुन्ने कुरा होइन यो। संगठनले अभ्यास गर्नुपर्ने अभ्यासमा लोकतान्त्रिक मूल्य र पद्दतिको क्षयीकरण तीव्र ढंगले भइरहेको देखेको छु। हाम्रो निर्वाचन प्रणाली, निर्णय प्रक्रिया, हाम्रो केन्द्रीय तहमा नेतृत्वको आचरण र व्यवहार आदी हेर्दा जनताको आँखामा एउटा गम्भीर आशंका छ। यद्यपि आशा चाहिँ फेरि पनि नेपाली कांग्रेसबाट नै छ। तर, जनताले प्रश्न उठाइरहेको बेलामा जनताको नजरमा के छ भने यी मुद्दाहरुको कसीमा आफूलाई खरो प्रमाणित गरेर, विचार बोकेर आउने साथीलाई सभापतिको रुपमा स्वीकार गर्छु। त्यस्तो साथीलाई सबै हिसाबले मद्दत गर्छु। तर, पार्टीभित्र यो विषयलाई गम्भीर रुपले उठाउने कुरामा चाहिँ मेरो प्रस्थानबिन्दू र प्राथमिक अजेन्डा त्यही हो। नेतृत्वमा जान चाहने सबै साथीहरुले यो टनेल र गुफाबाट निस्केर विचारको राष्ट्रिय मुद्दालाई नेतृत्व गर्ने क्षमताको नेतृत्व गर्नुपर्छ। कांग्रेसको सभापति हुने भनेको अंक गणित मिलाएर, पुराना नयाँ कुरा मिलाएर फुत्त सभापति बन्ने मात्र होइन। कांग्रेसको सभापति बन्नेले देशको नेता बन्ने सामर्थ्य प्रमाणित गरेर आउनुपर्छ। मसँग बहुसंख्यक साथीहरुको पंक्तिले खोजेको कुरा पनि यही हो। 

अंकगणित मिलाउनका लागि सभापतिको कोही न कोही उम्मेदवारसँग नजिक हुनुपर्छ होला नि?
मैले अघि पनि भनेँ, अंक गणितमा म धेरै चिन्तित छैन। मेरो निम्ति जय पराजयको महत्व भएन। म आफ्नो निम्ति मात्रै होइन, मेरो उम्मेदवारीको माध्यमबाट कांग्रेसको थट प्रोसेसमा, विचार प्रक्रियामा परिवर्तन गर्न घच्घच्याउने प्रयास गर्छु। अंकगणित मिलाउने वा जय पराजयको कुरा मेरो लागि गौण हो।   

तपाईंले जुन अजेन्डा स्थापित गर्छु भन्दै हुनुहुन्छ, आजको नेपाली कांग्रेस ती मुद्दाहरु उठाउने, छलफल गर्ने र बाटो देखाउने पार्टी किन बन्न सकेन? 
यो क्षयीकरण त कल्पनाशील नेतृत्वको अभावकै कारणले भएको हो। जानेर होस् या नजानेर, हामीले त्यस्तो नेतृत्व पंक्ति ल्याउने पद्दति र प्रणाली निर्माण गर्ने हो। अघि पनि मैले भने जस्तो पार्टीले स्वस्थ प्रतिस्पर्धात्मक निर्वाचन प्रणाली अंगिकार गर्न सक्दछ। निर्वाचन प्रणालीले लोकतान्त्रिक तबरबाट मतभेदहरुको निरुपण पनि गर्दछ। निर्वाचन प्रणालीले नेतृत्वको विकास पनि गर्छ, तर हाम्रो निर्वाचन प्रणालीले कस्तो गर्‍यो भने बहसलाई निषेध गर्दै गयो। स्वस्थ र सक्षम नेतृत्व आउने ढोकालाई सहज बनाएन, बरु गुटगत आधारमा चाकरी गर्ने नेतृत्व र पुस्ता बनायो, यो दुर्भाग्य हो। त्यही कारणले कल्पना शक्ति, दूरदृष्टि, मुलुकको भविष्यसँग पार्टीको भविष्यलाई जोडेर हेर्ने एउटा कम्प्रिहेन्सिभ आउटलूक साँघुरो बन्दै गएकाले यो समस्या आयो। यसमा बाहिरका फ्याक्टर पनि होलान्। एउटा अनुदार कम्युनिस्ट पार्टीको संरचनासँग प्रतिस्पर्धा गर्दा थुप्रै सम्झौतामा पार्टी फसेको म देख्छु। राष्ट्रिय राजनीतिका गम्भीर अजेन्डाहरुलाई पक्डिन नसक्दा हाम्रो पार्टी दिग्भ्रमित भएको पनि देख्छु। त्यसैले अहिले कांग्रेसले गर्न नसकेको देखिए पनि सम्भावना भने मैले यही लोकतान्त्रिक पार्टीमै देखेको छु।

मलाई नेपाली कांग्रेसको विशाल युवापुस्ताको क्षमतामाथि विश्वास छ, जो अहिले ढोका ढक्ढक्याएर आइरहेको छ। हामीलाई ठाउँ र मौका देऊ भनिरहेको छ। विषयविज्ञ, पढेलेखेका, बुझेका, अन्तर्राष्ट्रिय सम्बन्धमा भएका व्यक्तिहरु पनि कांग्रेसको ढोकामा जसरी ढक्ढक्याइरहेका छन्, उनीहरुको निम्ति ढोका खोल्नका लागि पनि यो बहस अगाडि बढाउन जरुरी छ। म एउटा संक्रमणको चरणमा चाहिँ छु। बिस्तारै एउटा पुस्ताले ठाउँ छाडिदिनुपर्ने र सही अजेन्डामा बहस प्रारम्भ गरिदिएर, नयाँ पुस्तालाई त्यो अजेन्डामा प्रशिक्षित गराएर ठाउँ दिनुपर्ने खाँचो छ। मैले अघि पनि लोकतान्त्रिक संस्थाहरुको जुन क्षयीकरणको चित्र प्रस्तुत गरेँ, सरकार, संसद र न्यायालय नचलेको जुन कुरा गरेँ। लोकतान्त्रिक संस्थाहरुको यो क्षयीकरणको डरलाग्दो चरणमा नयाँ पुस्तालाई यो बहसमा हेलिने मौका दिनु जरुरी छ। त्यो आत्मविश्वास पार्टीभित्र छ। नयाँ पुस्ताभित्र त्यो सामर्थ छ भन्ने आत्मविश्वासले म यो कुरा उठाइरहेको छु। हामीले यी मुद्दालाई आवश्यक मात्रामा ल्याउन सकेनौं। नयाँ पुस्ता आउँदैछ, त्योसँग केही न केही भिजन छ। त्यसलाई अगाडि बढाएर लैजान सकियो भने पार्टीको आजको पुस्ताको आकांक्षा र भविष्यसँग जोड्न सकिन्छ। 

तपाईं आफै झण्डै तीन दशकदेखि नेपाली कांग्रेसको केन्द्रीय समितिमा हुनुहुन्छ। बीचमा महत्वपूर्ण अन्य भूमिकामा पनि रहनुभयो। कांग्रेसको यो हविगत हुँदा तपाईं आफै पनि साक्षी र संलग्न हुनुहुन्छ। कांग्रेसलाई यो ठाउँ पुग्ने बाटोमा जान दिनुहुँदैन भन्ने तपाईं सहितको इफोर्ट कति रह्यो?
मुख्य कुरा हाम्रो नेतृत्व विकासको प्रक्रिया स्वच्छ हिसाबले हुन सकेन। नेतृत्व विकास स्वाभाविक प्रक्रिया हो, तर त्यो अवरुद्ध भयो। गुटगत राजनीति झांगिदै आयो। पार्टीभित्रको आन्तरिक लोकतन्त्रको अभ्यासमा कहीँ न कहीँ समस्या देखियो। पार्टीभित्र देखिने मतभेद व्यवस्थापनमा हाम्रो नेतृत्वपंक्ति चुक्दै आएको म देख्छु। लामो समयदेखि यो प्रक्रिया चलिरहेको छ। हामीले पार्टीको आन्तरिक शक्ति पनि एकत्रित गर्न सकेनौं। उचित मुद्दामा बहस गर्न सकेनौं, बरु हाम्रो आन्तरिक शक्ति एकअर्कालाई कमजोर बनाउन प्रयोग गर्‍यौं। पार्टीको शक्तिलाई प्रतिस्पर्धी राजनीतिक दलहरुसँग मुकाबिला गर्न, लोकतान्त्रिक संस्थाहरुको क्षयीकरण रोक्न, प्रणाली र पद्दति बसाउन प्रयोग गर्न सकेनौं। त्यहाँ हामी चुक्यौं। यो दोषको भागिदारी मैले पनि लिनुपर्छ। सबै दोष अरुलाई थोपरेर म मुक्त छु भन्दिनँ। कहीँ न कहीँ हामीले पनि जिम्मा लिनुपर्छ। 

यसबीचमा हामीले थुप्रै समस्याबाट देशलाई जोगायौं। ठूलो द्वन्द्वबाट जोगाउनका निम्ति हाम्रो नेतृत्वले गरेका सकारात्मक काम पनि छन्। हामीले माओवादी द्वन्द्वको जसरी निराकरण गर्‍यौं, कांग्रेसको यो भूमिका जनताले दशकौंसम्म सम्झने छन्। संविधान बन्न सकिरहेको थिएन, त्यसबेला जुन खालको द्वन्द्व समुदाय तहमा प्रकट भएको थियो, त्यसलाई निराकरण गर्दै संविधान बनाउन कांग्रेसले खेलेको भूमिका महत्वपूर्ण थियो। लोकतान्त्रिक विधि र पद्धति पटक–पटक खलबलिएको, राजाबाट अपहृत बम, बन्दूक र बारुदको धुवाँमिश्रित लोकतन्त्रलाई फेरी ट्रयाकमा ल्याउन कांग्रेस र यसको नेतृत्वले निर्वाह गरेको भूमिका एकातिर प्रशंसनीय छ। सँगै अर्कोतिर पार्टीभित्रको आन्तरिक लोकतान्त्रिक प्रक्रिया र पद्दतिलाई आवश्यक स्वस्थ अभ्यास गर्ने र लोकतन्त्रको एउटा पाठशाला बन्ने कुरामा चाहिँ हामी चुक्यौं पनि। कल्पनाशील नेतृत्वको अभाव, गुटगत राजनीतिलाई पश्रय दिने प्रवृतिले गर्दा यी समस्या दोहोरिएका छन्। त्यसकारण अतितका अतीतका सफलता र असफलताबाट पाठ सिक्दै अहिले हाम्रा आँखा अगाडि तेर्सिएका गम्भीर समस्यालाई छलफल गरेर निराकरण गर्न सक्ने योग्य नेतृत्वको खोजी गर्ने अवसरको रुपमा यो महाधिवेशनलाई लिनुपर्छ। यो महाधिवेशनबाट नै यो विषय टुंगिँदैन, यसपछि पनि यो बहसले निरन्तरता पाउनुपर्ने हुन्छ। अर्को महाधिवेशनमा आउने नयाँ मुद्दासहित लोकतन्त्रका यी आधारभूत बहसहरु छन्। र, संस्थागत संरचनालाई बलियो बनाउने कुराहरु छन्, यसलाई अगाडि लैजानैपर्छ। 

के त्यसो भए कांग्रेसको यो महाधिवेशनबाट आउने नेतृत्व भनेको अहिलेको कांग्रेसलाई करेक्सन गरेर लैजाने (अर्को) पुस्तामा नेतृत्व सिफ्ट गर्ने ट्रान्जिसनल नेतृत्व हो? 
त्यो त निश्चित हो। हरेक महाधिवेशनको एउटा प्रमुख मुद्दा नै सक्षम नेतृत्वको चयन हो। त्यसैले महाधिवेशनको यो कोर अजेन्डा हो। केका आधारमा नेतृत्व चयन गर्ने भन्ने कुरामा मैले थप्न खोजेको के हो भने विचार र नीतिशून्य नेतृत्व चयन हुन सक्दैन। वैचारिक र नीतिगत अडान, राष्ट्रका गम्भीर मुद्दामा दृष्टि, कल्पनाशीलता, द्वन्द्वलाई समाधान गर्न सक्ने क्षमता र शैली नेतृत्व चयनको आधार बन्नुपर्छ। राष्ट्रिय अजेन्डाहरुलाई निराकरणका लागि कम्प्रिहेन्सिभ, राष्ट्रिय रणनीतिमा छलफल र बहस गर्न सक्ने, त्यसलाई नेतृत्व गर्न सक्ने नेताको खोजी महाधिवेशनले गर्न सक्नुपर्छ। हामीसँग आधारभूमि छ। कांग्रेसको गौरवशाली इतिहासको परम्परा छ। ३०–३५ वर्षको उमेरमा यो पार्टी निर्माण गर्ने बीपी र गणेशमानको लिगेशी छ। ३० वर्षको उमेरमा क्रान्तिमा होमिएका किशुनजी र गिरिजाबाबुको पुस्ताको कल्पनाशीलता छ। देशलाई जोडेर राख्ने समतामूलक सोच भएका सुवर्णजी जस्ता नेताको व्यक्तित्व र अरुको पनि लिगेशी कांग्रेसमा छ। त्यसपछाडिका पनि उर्जाले ओतप्रोत प्रतिभावान साथीहरुको उदय भएको छ। यो आधार प्रयोग गरेर पद, पैसा र प्रतिष्ठाको निम्ति मसल, पावरले राष्ट्रिय राजनीति र पार्टी राजनीतिलाई तुवाँलो नलगाओस भन्ने चिन्ता बोकेका साथीहरुको भूमिकालाइ चाहिने अलिकति बल प्रदान गर्न सोच्नुपर्ने बेला आएको छ। 

धेरै निराश भएर म यो कुरा भनिरहेको छैन। कांग्रेसको गर्भमा त्यो शक्ति छ। युवा पुस्ताको ठूलो संख्याले पार्टीभित्र नेतृत्वको निम्ति पुरानो पुस्तालाई घच्घच्याइरहेको छ। यो समय नेतृत्व हस्तान्तरणका लागि गम्भीर प्रशिक्षणको बेला हो। पुस्तान्तरणको बेला पनि हो। सचेत र सक्षम नेतृत्वको अन्वेषण गर्ने बेला पनि हो। उसलाई जिम्मा लगाउने बेला पनि हो। यो एउटा प्रक्रिया हो र यसलाई कुनै पनि चरणमा अवरुद्ध हुन दिनु हुँदैन। यो महाधिवेशको मुखमा यो कुरामा बहस गरेर टुंगिदैन। आगामी वर्षहरुमा पनि यो कुरा गरिरहनुपर्ने हुन्छ। अढाई सय वर्ष लोकतन्त्रको इतिहास भएको अमेरिकामा हामी बाइडेनले डेमोक्रेसी समिटको आयोजना गरेर आफ्नै अमेरिकाको अनुभव सेयर गर्दै गरेको देख्छौं। हामीकहाँ पनि सरकार, संविधान, संसद्, न्याय क्षेत्रमा आएको संकट देखिरहेका छौं। यहाँ क्षमता छ त यी मुद्दामा बहस गर्ने? हामीले यही हिसाबले महाधिवेशनलाई हेर्नुपर्छ र त्यसै अनुसार नेतृत्व विकासको मुद्दालाई पनि हेर्नुपर्छ।  

उमेरको हिसाबले हेर्नुभयो भने अहिले पनि प्रतिस्पर्धा गर्न तम्तयार भएका साथीहरु उमेरको सोपानमा हुनुहुन्छ। जोसँग धेरै लामो समय नहुन सक्छ। छोटो अवधिमा केही योगदान गर्नुपर्ने छ। नयाँ पुस्ताका साथीहरुले घच्घच्याइरहेको, ढक्ढक्याइरहेको छ। त्यसैले अजेन्डा बेस्ड एउटा कल्पनाशील नेतृत्वको खोजी गर्ने अभ्यासमा डेमोक्रेटिक संस्थाहरुको इरोजन हुन नदिने गरी हामी नयाँ पुस्तालाई यो पार्टी हस्तान्तरण गर्नुपर्ने सोपानमा उभिएका छौं। 

पछिल्लो ५/६ वर्ष तपाईं हराए झैं देखिनुभो। महेश आर्चाको क्षमता, अनुभवको प्रयोग गर्न कांग्रेसले नसकेको कि तपाईंले नचाहेको? 
म मात्र होइन, म जस्तै अरु साथीहरुका लागि पनि पार्टीले ठूलो लगानी गरेको छ। मलाई पनि ठूलो अवसर दिएर अनुभव आर्जन गर्ने, जनताको माझमा जाने र आफ्नो धारणा बनाउन सक्ने, भन्न सक्ने, प्रभाव सिर्जना गर्न सक्ने क्षमतामा पुर्‍याएको छ। त्यसैले म जस्ता थुप्रै साथीहरुको अनुभवलाई अधिकतम प्रयोग गर्ने विधि अवलम्बन गर्न चाहिँ पार्टी अलिकति चुकेको अवस्था निश्चित रुपमा हो। म फेरि पनि भन्छु, मेरो सन्दर्भमा मात्र त्यसो भन्न उचित हुँदैन। मजस्ता थुप्रै साथीहरुमा पार्टीले लगानी गरेर सम्भावना जन्माएको छ। साथीहरुको यो पुस्ताले गर्न चाहेको जस्तो काम गर्न नपाएको अवस्था हो। त्यो हाम्रो पार्टीको कार्यप्रणालीको अन्तरनिहित दोष हो भन्ने मलाई लाग्छ। व्यक्तिगत रुपमा मेरो भूमिकामा आएको संकुचन देखिने खालको हो। जुन बेला म संसद् र सत्तामा थिएँ, मेरो भूमिका विस्तारित जस्तो देखिन्थ्यो। अब म संसद् र सत्ताबाट टाढा भएको बेलामा, पार्टीभित्र स्वस्थ लोकतान्त्रिक अभ्यास अलिकति साँघुरो बन्दै गएको बेलामा र गुटगत राजनीतिले झ्याप्पै गाँजेको बेलामा मेरो भूमिकामा अलिकति संकुचन देखिनु स्वाभाविक हो। 

म निर्वाचनमा पराजित भइसकेपछि सत्ता र संसदको राजनीति मेरो लागि टाढाको कुरा भयो। पार्टीको राजनीतिको माध्यमबाट त्यसलाई क्षतिपूर्ति गर्न सकिन्थ्यो होला, तर हाम्रो पार्टी यो अवधिमा आफ्नै आन्तरिक द्वन्द्वमा धेरै अलमलमा पर्‍यो। धेरै कठिन परिस्थितिबाट गुज्रियो। महाधिवेशन गर्नका निम्ति पनि आन्तरिक कलह चरमचुलीमा पुग्नुपर्ने अवस्था आयो। झण्डै ६ वर्ष पुग्दा बल्लतल्ल महाधिवेशन गर्ने ठाउँमा आइपुगेका छौं। यो पृष्ठभूमिमा मेरो भूमिकाको संकुचन भएको हो। वैचारिक रुपमा बहसको सन्दर्भमा मेरो पार्टी निकायमा अवसर थियो। त्यहाँ सक्रिय नै थिएँ, साथीहरुमाझ म गइरहेको नै थिएँ। तर, तुलनात्मक रुपमा पहिलेको जस्तो मेरो सक्रियता हुन नसकेको हो। 

गिरिजाप्रसाद कोइराला, सुशील कोइराला नेतृत्वमा रहँदा तपाईं पार्टीदेखि अरुतिर पनि अनुभूति गर्न सकिने भूमिकामा रहनुभयो। आजको नेतृत्वले तपाईंलाई खोजी गरेन कि? 
त्यसलाई त्यसरी पनि नहेरौं। मैले पार्टीको नेतृत्व पंक्तिमा बसेका सबै नेताहरुसँग काम गरेँ। गिरिजाबाबुको क्याबिनेटमा बसेर काम गरेँ। किशुनजीले पनि आफ्नो क्याबिनेटमा मलाई जिम्मेवारी दिनुभयो। शेरबहादुरजीले पनि मलाई आफ्नो क्याबिनेटमा जिम्मेवारी दिनुभएको हो। सुशीलदाले पनि मलाई बोलाएर जिम्मेवारी दिनुभएको थियो। जुन–जुन बेला म यी भूमिकामा बसेँ, संविधान निर्माण गर्ने जटिल बेलामा पनि म संविधानसभामा थिएँ। संविधान निर्माण गर्न पार्टीको तर्फबाट मैले एउटा सकारात्मक योगदान गर्न सकेँ भन्ने सन्तोष मलाई छ। किनभने त्यो बेला निकै जटिलतापूर्ण थियो। धेरै किसिमका द्वन्द्व थिए। धेरै किसिमका आन्दोलन थिए। ती आन्दोलन र विग्रहलाई मिलाएर संविधान जारी गर्न हाम्रो पार्टीले जुन भूमिका निर्वाह गर्नुपर्थ्यो, पार्टीको एउटा नेता र कार्यकर्ताको नाताले मैले जे भूमिका निर्वाह गर्नुपर्थ्यो, त्यो गर्न सकेँ भन्ने मलाई लाग्छ। त्यस्तो बेलामा मेरो भूमिका अलिकति फराकिलो र विस्तारित भयो। अहिले भूमिका कमजोर हुनुलाई पनि म अन्यथा मान्दिनँ। म प्रतिको कुनै पूर्वाग्रहका अर्थमा त्यसलाई बुझ्दिनँ। म संसद्‌मा नहुँदा संसद र सत्ताको राजनीतिबाट स्वाभाविक रुपमा टाढा भएकै हो। जनताको निर्णयलाई स्वीकार गरेरै बसेको पनि छु। पार्टी राजनीतिमा मलाई जे भूमिका प्राप्त थियो, त्यो काम गर्ने कोशिस गरेँ। अब म आफ्नो अग्रसरतालाई लिएर मेरो भूमिका विस्तारित गर्ने चरणमा आइपुगेको छु। मेरो उम्मेदवारी त्यसैका लागि हो।

प्रकाशित मिति: शुक्रबार, मंसिर ३, २०७८  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री?
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
थोरैले बढ्यो अमेरिकी डलरको मूल्य, कतिमा हुँदैछ खरिदबिक्री? शुक्रबार, भदौ ५, २०८३
गुनासो सुन्न र सुझाव लिन शिक्षामन्त्री सस्मित पोखरेल पुगे सामुदायिक विद्यालयमा बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पाण्डेलाई ८० लाख धरौटीमा रिहा गर्न आदेश बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
चेक वाउन्सको मुद्दामा जनता टेलिभिजनका अध्यक्ष विजय पाैडेल टेलिभिजन कार्यालयबाटै पक्राउ बिहीबार, भदौ ४, २०८३
बालेन सरकारलाई सर्वोच्चको अर्को झड्का, वायुसेवा निगमका अध्यक्षको नियुक्ति सर्वोच्चले गर्‍यो बदर बिहीबार, भदौ ४, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? बिहीबार, भदौ ४, २०८३
१ लाख ७० हजार ऋणीलाई कालोसूचीबाट राहत दिने तयारी, कस्ता प्रकारका ऋणीले पाउनेछन् लाभ? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्