• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष
एमालेको दशौं महाधिवेशन एकताको होइन, फुटको महाधिवेशन भयो : राधाकृष्ण मैनाली [अन्तर्वार्ता]
64x64
नेपाल लाइभ शनिबार, मंसिर ४, २०७८  २०:२५
1140x725

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशन यही मंसिर १० देखि १२ गतेसम्म चितवनमा  हुँदैछ। एमालेले दशौं महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ। यसपटकको महाधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने एमालेको तयारी छ। त्यसकै लागि एमालेले वडा र पालिका तहका अधिवेशन सर्वसम्मत गरेको छ। विभाजनको केही महिनामै गर्न लागिएको महाधिवेशनलाई एमाले र एमाले इतरले पनि चासोपूर्वक हेरेका छन्। खासगरी एमालेको नेतृत्व तहमा आउने नेताहरुदेखि आगामी दिनको एमालेको चरित्र कस्तो होला भन्नेसम्मको चासो देखिन्छ। यिनै विषयमा हामीले एमालेका पुराना नेता राधाकृष्ण मैनालीसँग कुराकानी गरेका छौं। प्रस्तुत छ उनीसँग नेपाल लाइभका लागि बीपी अनमोल र वीरेन्द्र ओलीले गरेको कुराकानी :

झापा विद्रोहदेखि माओवादी विद्रोहसम्मको कम्युनिस्ट आन्दोलनको आरोह अवरोहलाई कसरी हेर्नुभएको छ? 
झापा आन्दोलनदेखि यहाँसम्म आउँदा सुखद् हुन सकेन। आन्दोलन र विद्रोहमा सांगठनिक विकास भयो। त्यसले जनतालाई दिनुपर्ने परिणाम दिन सकेन। नेपालको ७० वर्षको कम्युनिस्ट आन्दोलनबाट आममानिसले परिवर्तनको अनुभूति गर्न सकेनन्। कम्युनिस्ट पार्टी संसद्को सबैभन्दा ठूलो दल समेत भयो। देशमा कम्युनिस्टको दुई तिहाइ बहुमतको सरकार पनि भयो। दुर्भाग्य! त्यो सरकारले जनताको पक्षमा काम गर्न सकेन। कम्युनिस्ट पार्टीको तीन वर्षको शासनले जनतामा छाप छोड्न सकेन। दुई तिहाइको कम्युनिस्ट सरकारले यो चाहिँ दियो भन्ने केही भएन।

मनमोहन अधिकारीको नौ महिने सरकारले दुई वटा छाप छोड्न सफल भएको थियो। 'आफ्नो गाउँ आफैं बनाऔं'को नाममा थुप्रै गाउँ-गाउँमा पैसा गयो। कति दुरुपयोग भयो र कति सदुपयोग भयो, अर्को कुरा भयो। तर, त्योभन्दा पहिला केन्द्रीय बजेटको नाममा जाँदैन थियो। त्यसपछि मात्रै गाउँ-गाउँमा बजेट जान थालेको हो। अर्को, वृद्ध भत्ता रुपमा थोरै आए पनि धेरै ज्येष्ठ नागरिकलाई सहयोग पुग्यो। भलै, त्यो वर्गीकृत हुन सकेको छैन। सम्पन्न जेष्ठ नागरिक र विपन्न जेष्ठ नागरिक भनेर छुट्टयाइएको छैन। अझ त्यो वर्गीय रुपमा जेष्ठ नागरिक छुट्याएर आएको भए धेरै राम्रो हुन्थ्यो। अहिले पनि सम्पन्न जेष्ठ नागरिकलाई त्यो २/४ हजारको कुनै अर्थ राख्दैन। तर, विपन्न जेष्ठ नागरिकलाई ठूलो अर्थ राख्छ। वर्गीकृत हुँदा विपन्नलाई अझ थपेर आउने स्थिति हुन सक्थ्यो। त्यो हुन सकेन।

एमालेको नौ महिने सरकारले गरेका दुई काम त्यसयताका कुनै पनि सरकारले गर्न सकेनन्। अहिले जुनसुकै पार्टीका ज्येष्ठ नागरिक भए पनि मनमोहन अधिकारीको देन हो भनेर सम्झने गर्छन्। त्यो काम नेपाली जनतामा कहिल्यै नमेटिने छाप परेको छ। मनमोहनका कार्यकालमा राजा थिए। सेना, प्रहरी प्रशासन उनको हातमा थिएन। पार्टीमा पनि बहुमत थिएन। त्यस्तो बेलामा पनि सुधार र दीर्घजीवित हुने काम गर्न सक्नुभयो। ओलीजीले सरकारको नेतृत्व गर्दा राजतन्त्र थिएन। नेपाली सेना, प्रहरी प्रशासन लगायत मुलुकको सबै शक्ति उनकै हातमा थियो। सरकार सञ्चालन गर्ने अख्तियारदेखि लिएर गुप्तचर लगायत १४ वटा संरचना आफ्नो मातहतमा राख्नुभयो। प्रधानमन्त्री बोल्दा देशै थर्किने स्थिति थियो। यति धेरै शक्ति केन्द्रित गर्दा पनि जनताको नजरमा गफ सिवाय केही पेश गर्न सक्नुभएन।

उहाँले गफले ठूल्ठूला छलाङ मार्नुभयो। भन्नलाई पाखा पखेरो केही बाँकी राख्नु भएन। सबैमा विकासको छायाँ दिनुभयो। तर, कामले सिन्को समेत भाँच्न सक्नुभएन। जनताले न रेल चढ्न पाए, न रेल देख्न पाए। उहाँले दमकमा एउटा टावर बनाउनुभयो। त्यो टावरले गरिबलाई खान लाउन दिन्न। बरु त्यहाँ एउटा अस्पताल बनाएको भए हुन्थ्यो। त्यसले कम्तीमा सहज रुपमा उपचार गर्न पाइन्थ्यो होला। एकै पटक ४/५ सय अस्पतालको उद्घाटन गर्नुभयो। त्यो अस्पतालको जग्गा, पैसा केही छैन। उहाँले यस्ता लहडी काम गर्नुभयो। आमजनतालाई छाप पार्ने काम केही गर्न सक्नु भएन।

कम्युनिस्ट पार्टी यति शक्तिशाली र महत्त्वपूर्ण ठाउँमा आएर पनि जनताको हितमा खासै काम भएनन्। झापा विद्रोह कम्युनिस्ट पार्टीको एउटा अंशको रुपमा आएको थियो। त्यसले पुनर्संगठित गर्दै लगेको थियो। यो उचाइमा पुगेर पनि जनतालाई केही दिन सकेन। यसमा मलाई दुःख पनि लागेको छ। कम्युनिस्ट आन्दोलनको जति व्याख्या गरे पनि जनताले केही पाएनन्। मान्छेमा कम्युनिस्ट पार्टी भन्या गफै मात्रै गर्ने रहेछ भन्ने पर्‍यो। ओलीका गफ कम्युनिस्ट पार्टीका गफ भनेर भाष्य निर्माण गर्नुभयो। जो आए पनि कम्युनिस्ट आन्दोलनबाट आएका नेताले देशको विकास गरे। जहाँ बसेर भए पनि हात उठाएर समर्थन गर्न सकिन्थ्यो। म त्यस्तो गर्न सक्ने थिएँ। मैले मात्रै होइन, देशका थुप्रै अध्येताले कम्युनिस्ट आन्दोलनको राम्रो परिणामलाई समर्थन गर्ने थिए। तर, अफशोच त्यस्तो हुन सकेन। फेरि कम्युनिस्ट आन्दोलन उठाउने कुरा गर्छन्। त्यो कति उठाउन सकिन्छ, भोलिको कुरा भयो। आफूसँग भएको कम्युनिस्ट पार्टी फुटाउने अनि अरुसँग खोजेर कति पाइन्छ?

कम्युनिस्ट पार्टीमा टुटफुट आज पनि निरन्तर जारी छ। यस्तो किन हुने गर्छ?
कम्युनिस्ट पार्टीको २००६ सालदेखि अहिलेसम्म आउँदा कैयौं दर्जन फुट भए। सोभियत संघमा जाने नाममा एउटा कम्युनिस्ट घटक दरबारभित्र पस्यो। त्यसको नेतृत्व केशरजंग रायमाझीले गर्नुभयो। त्यस यता पनि विभाजन र एकता निरन्तर भई नै रह्यो। झापा आन्दोलनबाट माले हुँदै एमाले बन्यो। कम्युनिस्ट आन्दोलनको अर्को हिस्सा चौथो महाधिवेशनमार्फत मोहनविक्रम सिंहको नेतृत्वमा अगाडि आयो। त्यसैबाट माओवादी जन्मियो। तर, धार अलग-अलग हुँदै आए। पुष्पलालको एउटा हिस्सा थोरै चौथो महाधिवेशनतिर गयो। ठूलो हिस्सा झापा आन्दोलनतिर जोडियो।

कम्युनिस्ट पार्टीमा फुट र एकता कहिल्यै रोकिएन। झापा आन्दोलनबाट निर्माण भएको मालेमा विभिन्न ५० समूह जोडिएका थिए। त्यो पार्टीमा भएको निराशाकै कारण एक ठाउँमा जोडिएका थिए। मोहनविक्रम सिंहको नेतृत्वमा निर्मल लामा, पुष्पलालको एउटा हिस्साबाट चौथो महाधिवेशन बन्यो। त्यो टुटफुट हुँदै मोटो र पातलो मशालसम्म आइपुग्दा मोहनविक्रम अलग भए। कम्युनिस्ट पार्टीमा कांग्रेसको विरोध गर्ने नाममा यता जोडिने चलन आयो। त्यसलाई मध्यमवर्गीय चिन्तन भन्छन्। त्यतिबेला केही मान्छेहरु कांग्रेसमा लागे। त्यसको विरोध गर्ने नाममा कम्युनिस्ट पार्टीमा आए। कम्युनिस्ट पार्टीको विचारको चिन्तनभन्दा पनि आफ्नो निजी स्वार्थ बोकेर अगाडि आए। यहाँ महत्त्वाकांक्षा नमिल्ने बित्तिकै फुट्न थाले।

Ncell 2
Ncell 2

कम्युनिस्ट पार्टीको पहिलो महाधिवेशन २०१० सालमा भयो। त्यहाँबाट कम्युनिस्ट पार्टी गुट उपगुटमा विभाजन हुन थाल्यो। कम्युनिस्ट आन्दोलनमा सजिलो खोज्ने नाममा पञ्चायती व्यवस्थाको समर्थन गरेर छिरे। झापा आन्दोलनका केही शक्ति यता आयो। त्यसमा पनि २०४६ सालको जनआन्दोलनपछि केही महत्त्वाकांक्षी साथीहरुको गुट बन्न थाल्यो। त्यो केपी ओलीको एउटा महत्त्वाकांक्षा, वामदेव गौतमको अर्को महत्त्वाकांक्षा देखियो। माधवजीको अर्को महत्त्वाकांक्षा देखियो। महत्त्वाकांक्षीहरुबीच गुटबन्दी सुरु भयो। त्यसमा वैचारिक पक्ष भन्ने भन्दा पनि नेतृत्वमा को पुग्ने भन्ने प्रतिस्पर्धा भयो। मदन भण्डारीको निधन भइसकेपछि उनले अघि सारेको वैचारिक पक्षलाई समाएर अघि बढ्ने प्रतिस्पर्धा भयो। त्यसमा सीपी मैनालीको विमति रह्यो। उनको विमतिले पनि वैचारिक रुपमा सबैलाई समेट्ने स्थिति रहेन। अरु नेताहरुबीच पनि वैचारिकभन्दा पनि सत्ताको घोडा चढ्ने हिसाबले आयो।

कम्युनिस्ट आन्दोलन जति पनि खराब भयो, त्यसमा सैद्धान्तिक लेपन थोरै र महत्त्वाकांक्षा धेरै हुन पुग्यो। माओवादी खुला राजनीतिमा आएपछि धेरै चिरामा विभाजित भयो। धेरै आफू सत्तामा कसरी पुग्ने हो? त्यो चन्दको कुरा गर्नुस्, वैद्यको कुरा गर्नुस्, बाबुरामको कुरा गर्नुस्, ती सबैका आ-आफ्ना महत्त्वाकांक्षा छ। सत्ताभन्दा बाहिर बसेकाले प्रचण्डभन्दा कम भ्रष्टाचारमा मुछिएका होलान्, त्यति मात्रै हो। सत्तामा भएको भए त्यस्तै हुने थियो। जनयुद्ध गरेर आएका बादल, जनयुद्धलाई दुत्कारेर बसेको एमालेमा बसेका छन्। 

जनयुद्ध लडेर गणतन्त्र ल्याउन लागेको माओवादी र राजतन्त्रसँग सहकार्य गर्दै बसेको एमालेसँग तुलना गर्नै सकिँदैन। प्रचण्ड राजतन्त्र फालेर गणतन्त्र ल्याउन ज्यान फालेर लागेका थिए, एमालेमा मिल्न आए। यस्तो हुँदा प्रचण्डको पार्टी धरापमा पर्नु स्वाभाविकै थियो। उहाँले गणतन्त्रवादीहरुलाई समेट्न सक्नु भएन। आफ्नै महत्त्वाकांक्षाले पार्टी टुटफुट भयो। उहाँहरुसँग राजनीतिक मान्छे रहेनछन्।

shivam cement

shivam cement

टुटफुटले कोही एमालेमा आए, कति अब कांग्रेसमा जान बाँकी छ। तल्लो कमिटीमा भएका कांग्रेसमा पनि गए होलान्। प्रचण्डले नेता र कार्यकर्ता हाडहुटमा ल्याएका थिए भन्ने जस्तो देखियो। बाँकी रहेका माओवादी नेताहरु पनि कांग्रेससँग मिलेर पनि सत्तामा जाने, एमालेमा मिलेर पनि सत्तामा जाने बाहेक केही भएन। सबैको चिन्तन व्यक्तिगत स्वार्थले सत्तामा जाने देखियो। यसले कम्युनिस्ट आन्दोलनमा खराब प्रवृत्ति ल्याएको रहेछ।

अहिले ओली, प्रचण्ड, माधव, झलनाथ, बामदेव आकांक्षा सरकारमा जाने हो। कुन रुपमा सरकारमा जाने होइन, जसरी पनि सरकारमा जाने हो। म सरकारमा गएर यति महिना प्रधानमन्त्री भएँ भनेर लेखाउने हो। मैले देश र जनताको पक्षमा यो गरेँ भन्ने केही छैन। प्रचण्ड, माधव, झलनाथ, बाबुराम, केपी प्रधानमन्त्री हुनुभयो। मनमोहनजीको पालामा जस्तो दुई वटा मात्रै काम गरेँ भन्ने एउटा पनि छैन। म यति महिना प्रधानमन्त्री भएँ भन्ने मात्रै छ। प्रचण्डजी जनयुद्धबाट आएकाले धेरै जनताले आशा पनि गरे। राजनीतिक परिवर्तन भयो। जाति, धर्म, समुदाय, लिंगका शोषणको कुरा उठाइयो। वर्गीय शोषणका कुरा उठे। त्यसमा नयाँ चिन्तन दिन्छन् कि भनेको पछि जातीय राज्यको कुरा ल्याउन थाले। पुराना राज्य ध्वंश बनाउने नाममा सबैतिर बर्बाद बनाउन थाले। नेपाली संस्कृति र परम्परालाई तहसनहस गराउनेतिर गए। भाषा, संस्कृति सकिए भने विदेशीले खान्छ भन्ने त्यत्तिको नेताले बुझ्नुपर्ने हो। त्यो बुझ्न सक्नु भएन। बाबुरामजीको त्यो भन्दा तल्लोस्तरको कुरा आयो। विदेशी कोटीको प्रभावमा परेर आफू सत्ताको घोडा बन्ने मात्रै भयो। 

त्यसो भए कम्युनिस्ट नेता व्यक्तिवाद र निजी स्वार्थपूर्तिमा लागेकाले कम्युनिस्ट आन्दोलन यस्तो भयो भन्न खोज्नु भएको हो? 
व्यक्तिगत स्वार्थले पार्टीभन्दा परिवार प्यारो हुँदो रहेछ। आफ्नो आदर्शभन्दा पैसा कमाउन मोजमस्ती गर्ने कुरा प्यारो हुँदो रहेछ। त्यो हुँदा पार्टी विचार र आदर्शले भन्दा पैसाले चलाउने भयो। पार्टीलाई विचार आर्दशले चलाउने भए पैसाको त्यति महत्त्व हुने थिएन। पार्टी विचारले चल्न नसकेपछि पैसाले चलाउनुपर्ने भयो। पैसा कहाँबाट आउँछ, कमिसन कहाँबाट आउँछ भन्नेमा ध्यान जाने भयो। प्रचण्डजीले छोराछोरी भए के गर्नु, उनका लागि केही गर्नैपर्‍यो भन्नुहुन्छ। के छोराछोरीका लागि गर्नु थियो भने यत्रो १७ हजारले बलिदान दिनुपर्ने थियो र? उहाँले आफ्नो परिवारलाई पढाएरै केही गर्न सक्नु हुन्थ्यो होला नि। त्यसैले उहाँले अप्ठ्यारो नमानेर बोल्ने स्थितिमा आइपुग्नुभयो। त्यसैले गर्दा कम्युनिस्ट आन्दोलन साँच्चिकै ठूलो संकटमा छ।

नाम सबैले कम्युनिस्ट जप्ने भए। झण्डा हसियाँ हथौडा नै राख्ने भए। त्यसले बोक्ने आदर्श कसैले नबोक्ने भए। दुनियाँमा कम्युनिस्ट पार्टीले जे गर्न सक्छ भन्ने ठानेका थिए, त्यो गर्न सक्ने रहेनछ भन्ने भयो। नेताहरुको गलत रबैया, गलत छाप अगाडि आउन पुग्यो। सबै नेताहरु एक ठाउँमा आए भने पनि केही हुनेवाला छैन। माओवादीसहित सबैलाई एक ठाउँमा ल्याए पनि सबै मिलेर सत्तामा जाने र मिलेर खाने मात्रै हो। उनीहरुलाई विचारले एक ठाउँमा भेला पार्दैन। विचारले एक ठाउँ नबनाएपछि खाने कुराले मात्रै एक हुने हुन्।

प्रचण्ड र माधव नेपाल लगायत नेताहरूले एमालेभन्दा फरक घटकको कम्युनिस्ट पार्टी निर्माण गर्छौं भनेर लागेका छन्। के त्यो सम्भावना देख्नु भएको छ?
नेकपामा ४/५ सय जनाको केन्द्रीय कमिटी बनाए जस्तै बनाउने हो भने त्यसले के अर्थ राख्छ? त्योभन्दा अघि भने जस्तै सबै मिलेर खाने हो। वैचारिक रुपमा कम्युनिस्ट पार्टी एकतावद्ध भएर देशलाई कुन अवस्थामा पुर्‍याउने हो? आर्थिक, सामाजिक, सांस्कृतिक परिवर्तन कसरी गर्ने हो? भन्ने कुरा निर्धारण हुनुपर्‍यो। हामी दुई विशाल देशको थिचोमिचोमा छौं। त्यसमा पनि दक्षिणको थिचोमिचो बढ्ता छ। त्यसबाट हामी कसरी मुक्त हुन सक्छौं? अहिलेको अवस्थामा सीमा अतिक्रमण भइरहेको छ। त्यसलाई कसरी बचाउने हो? युद्ध गरेर भारतलाई परास्त गर्न सक्दैनौं। कुटनीतिक माध्यमबाट सीमा समस्या समाधान गर्न सक्छौं? यो राष्ट्रियता बचाउने र नेपालको आर्थिक रुपान्तरण गर्न सकिन्छ भन्ने विषयमा कुनै योजना हुनुपर्‍यो। तर, त्यो झापा विद्रोहदेखि जनयुद्धबाट आएकाहरुले केही देखिँदैन। एक ठाउँमा आउनु-नआउनुको कुनै अर्थ छैन।

कम्युनिस्ट आन्दोलनमा लागेका नेताहरुमध्ये ओलीजी गरीब परिवारबाट आएका हुन्। उहाँको परिवार निम्न मध्यम वर्गीय परिवार हो। तीन बिघा जमिन बाबुको थियो। त्यो पनि खोलाले बगाएपछि सुकुम्बासी भएर बसेका थिए। उहाँको आमा सानैमा बित्नुभयो। बाबु साँझ बिहान के खाने भन्ने अवस्थाबाट गुज्रिनुभयो। रामनाथ दाहालले उहाँको गुजारा चलाइदिएकाले सामान्य साक्षर हुन पाउनुभयो। यति दुःख गरेर आएको नेताले देश र जनताको बारेमा सोच्न सक्नुभएन। उल्टै आफ्नै अहम् र दम्भले नेकपा र सरकार ध्वस्त पार्नुभयो। जनताको पक्षमा काम गर्नेभन्दा पनि ठाउँ-ठाउँमा घर बनाउने, टावरहरु बनाउन थाल्नुभयो। त्यस्ता कुराले आफूलाई चिरिञ्जवी बनाउँछ भन्ने ठान्नुभयो। आफूले भोगेको गरीबीबाट अरु जनतालाई कसरी मुक्त गर्न सकिन्छ भनेर लागेको भए पछिसम्म सम्झने थिए।

हिजोको एमाले र अहिलेको एमालेलाई कसरी मूल्यांकन गर्नु भएको छ?
हिजोको निरंकुश पञ्चायती व्यवस्थाका विरुद्ध लड्ने एमाले साँच्चिकै क्रान्तिकारी थियो। त्यतिबेला एमाले सत्तामा पुगेको थिएन। विदेशी चलखेलको नजिक पुगेको थिएन। जेलमा कसरी जनताको हित गर्न सकिन्छ भनेर सोच्थ्यौं। त्यो गर्न संगठन विस्तार गर्थ्यौ। पार्टीमा राम्रो ठानिएका व्यक्तिलाई गाउँ-गाउँबाट ल्याउँथ्यौं। उनीहरुलाई त्यसै अनुसार प्रशिक्षण दिएर केही समय परीक्षणमा राखेर कमिटीमा राखिन्थ्यो। त्यतिबेला साथीहरुले जति मेहनत गरेर त्यसैको जगमा एमाले समाजवादी बनाएका अझै पनि तल्लो तहका कमिटीमा छन्। हिजो टिकेको एमाले त्यस्ता नेता-कार्यकर्ताको बलमा हो। त्यतिबेला संगठन क्रान्तिकारी थियो। दाउपेच र छलकपट थिएन। त्यहाँ भ्रष्टाचारको कुरा पनि आउँदैन थियो। सानो चिटमा लेखिएको भरमा पार्टी र संगठन चल्थ्यो। त्यसमा कसैले बेइमान गर्दैन थिए।

पञ्चायतकालभरी पार्टीमा ५ रुपैयाँ पनि दुरुपयोग भएको रेकर्ड छैन। त्यस्तो गर्न कसैले हिम्मत गर्दैन थिए। त्यही चिन्तनको माले सत्तामा आएको भए धेरै राम्रो हुने थियो। त्यसले ग्रासरुटका मुद्दालाई सम्बोधन गर्नेतिर लग्ने थियो। दासढुंगा दुर्घटना भएपछि पार्टी स्खलित हुँदै गयो। त्यसपछि पार्टी बुर्जुवाकरण हुँदै गयो। एमालेले सत्तामा जाने र पैसा कमाउनेतिर ध्यान दिन थाल्यो। पहिला आफ्नो गुट बनाउने, गुट बलियो बनाएर पार्टी कब्जा गर्ने र सत्तामा गएर सत्ता दोहन गर्ने भयो। सत्ता दोहन गरेर आफ्नो स्वार्थपूर्ति गर्नुका साथै अर्को चुनावको तयारी गर्ने भयो।

मालेकै चिन्तनमा सत्तामा गएको भए देशमा धेरै ठूलो रुपान्तरण हुने थियो कि जस्तो लाग्छ। मदन भण्डारी बाँचेकै भए पनि त्यस्तो हुने थिएन कि? सायद ओलीजीको जस्तै विचलन आउँथ्यो कि थाहा छैन। त्यो अनुमान मात्रै भयो। पञ्चायतकालको ओली र सत्तामा पुगेको ओलीमा फरक आयो। मदन भण्डारीमा पनि त्यस्तै हुन्थ्यो कि, थाहा छैन। तल्लो वर्गबाट आएको मान्छे पनि क्रन्तिकारी हुन्छ भन्ने झुटो साबित भयो। जति तल्लो तहबाट आयो, उति भ्रष्ट भएको पाइयो। अहिलेको एमाले शोषक पुँजीपतिको पार्टी जस्तो भयो। पैसाको बलमा सत्तामा जाने पार्टी भयो। अहिलेको एमालेले सहिदको रगतलाई बिर्सियो। हिजोको बलिदानलाई बिर्सियो। आफ्नै भूमिकालाई बिर्सियो। आफ्नै दुःख पिडालाई बिर्सियो। आमजनताको दुःख पीडा सम्झने परको कुरा, पछिल्लो एमाले शासक एमाले भयो। शोषक एमाले भयो।

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजना गर्दैछ। यो महाधिवेशनलाई एकताको महाधिवेशन भनेको छ। यो महाधिवेशनलाई कसरी नियालिरहनुभएको छ?
दशौं महाधिवेशन एकताको त हुँदैन, फुटको महाधिवेशन भयो। नेकपा बनाउँदा प्रचण्डसहित लिएर आउँदा पनि मैले भनेको थिएँ, यो पार्टी एकता होइन सत्तामा जाने गठजोड हो भनेर। पछि त्यही भयो। उहाँहरुले भने जस्तै नेकपाको हैसियतको एमाले बनाएको भए पनि एकछिन बुर्जुवा नेकपा भएर पनि पार्टी एकता त हुने थियो। त्यो टुक्रा भएर गयो, तीनवटा टुक्रा बनिसके। प्रचण्ड एउटा, माधव र ओलीको अर्को टुक्रा। यसलाई पनि एकता भन्न मिल्दैन। सर्वसम्मत भन्नुभएको छ। यो प्राविधिक कुरा भयो। वैचारिक रुपले चाहिँ सर्वसम्मत बनाउने भनेको हिजोको गाउँ फर्क शैली भयो। पञ्चायतकालमा गाउँ फर्कंदा सर्वसम्मत गराउने हुँदा जम्मै गाउँ फर्केका पञ्चहरुमा झन् ठूलो विभाजन आयो। पञ्चायत चल्नै नसकेर बहुदल, जनमत संग्रह दिनुपर्ने कुरा आयो। जनमत संग्रहमा झण्डै-झण्डै बहुदलले जित्या थियो, त्यत्रो सत्ताले बल्ल चार प्रतिशतले जित्यो। ओलीजीले पनि शब्द त्यो नल्याएर चलन त गाउँ फर्के ल्याउनुभएको छ। त्यो गाउँ फर्के चलनले अधिकाशं ठाउँमा भित्रभित्र उकुसमुकुस र भित्रको अन्तरविरोध चर्केको छ।

चुनाव भएर हार्दा खेरी उसको निकास त हुन्थ्यो नि। साथीहरुले भोट दिएनन् त्यही भएर हारेँ भनेर भन्थे। फलानोले सघाएन भन्थ्यो होला। अरु कुरा हुने थिएन। अहिले त माथिबाट नै मलाई पेलेर अर्को ठाउँमा लिएर गए, 'ग्रुपिजम' चलाइयो, अब यो पार्टीमा किन काम गर्ने भन्ने हुन्छ। असन्तुष्टिले पार्टी फुटछ की फुट्दैन भन्न सक्दिनँ तर, यसले भोलि चुनावमा असर गर्छ। चुनावको बेलामा कार्यकर्ताले अर्को ठाउँमा भोट हाल्नुपर्दैन, सक्रिय नहुन सक्छन्। जनताको बीचमा उम्मेदवारको चर्चा गर्नुपर्ने विषयमा नगर्न सक्छन्। कतिले मतपत्रमा नै बदर गरिदिन सक्छन्। अहिले नेकपा एमालेका नेताहरुले जे सोचेका छन्, गलत परिणाम भोलिका दिनमा देखिन सक्छ। एमालेमा हिजोको मालेको काल जस्तो सर्वसम्मत पोजिसनबाट अगाडि आएको भए त महत्त्वपूर्ण हुन्थ्यो। यो बीचमा एमालेमा नै ग्रुपिजम थियो। कुनै पनि मानिस एउटा पार्टीको नियम र परिधिमा, अर्कोलाई छोडेर म पछि बस्नुपर्छ भन्ने चिन्तन त हराइसकेको छ। यस किसिमको अन्तरविरोधमा सहमतिको कुरा ल्याइएको छ, यसले मानिसलाई असन्तुष्ट बनाउने र गलत परिणाम आउने सम्भावना हुन्छ। अर्को कुरा, पार्टी भित्रको प्रजातन्त्र खुइल्याइयो भन्ने कुरा पनि आउँछ। त्यसले पनि असन्तुष्टि हुन्छ। अहिलेको महाधिवेशनबाट सकारात्मक परिणाम आउला भन्ने मलाई लाग्दैन। एमालेमा थप संकट आउन सक्छ।

संस्थापन पक्षले त यो नेकपाकै निरन्तरता हो र मूलधार केपी शर्मा ओली नै हुन् भनिरहेको छ नि?
प्रतिस्पर्धा गर्न सक्नेलाई त लखेटिसक्नुभयो नि। अहिले त्यहाँ जो माथिल्लो तहमा छन्, ती ओलीकै फेर समातेर भाग खाने मात्रै छन्। त्यति हुँदाहुँदै पनि तलदेखि नै प्रतिस्पर्धा हुँदै आएको भए आन्तरिक असन्तुष्टिले निकास पाउथ्यो। त्यसले निकास पाएन, भित्र पेटमा वायु गोला घुमे जस्तो घुमिरहेको छ। त्यसले निकास त पाउनुपर्छ। पार्टीलाई संकट परेको बेला गलत बाटो समात्न सक्छ। ओलीको नजिक हुनेहरुले जे भनेको भए पनि सबैलाई लेखेटेपछि निर्विरोध हुन खोजेको हो। ओली भन्ने बितिक्कै सबै कार्यकर्ता एकै रुपमा छन् भन्ने मलाई लाग्दैन। ओली बा आइ लभ यू भन्ने पनि छन् त्यहाँ, त्यसको 'मजोरिटी' छ भन्ने लाग्दैन। पार्टीभित्र बफादार भएरै जानुपर्छ भन्ने कुरा यो बीचको गन्जागोलले कति बनाएको छ। अहिले ओलीसँग पनि माधव निकट रहेका नेताहरुको पनि टीम छ। उनीहरु खिज्याएर त बसिरहेका छन्। उनीहरुले आफ्नो निकास पाएनन् भने कम्युनिस्ट आन्दोलनको कुरा हो भनेर आदेश मान्छन् भन्ने छैन। त्यसले गलत बाटो निकाल्न सक्छ। जति कार्यकर्ता छन्, त्यो संख्याभन्दा पनि त्यसले विचारलाई डोर्‍याउन सक्ने अवस्था छैन।

नेकपा एमाले निर्माण गर्ने नेतृत्व आज सबै बाहिर रहेको अवस्था छ। यस्तो अवस्थामा एमालेको भविष्य कस्तो देख्नु हुन्छ ?
२०४६ सालको आन्दोलनमा म एकछिन नेपाली कांग्रेसकै कुरा देख्छु। त्यो आन्दोलनको सञ्चालक र पञ्चायत विरोधी आन्दोलनको मियो भनेको गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई थिए। उनीहरु दुवैलाई सत्ताबाट पर पारियो र गिरिजाको सरकार आयो। जसले गर्दा कांग्रेसको अधोपतन सुरु भयो। अहिले कांग्रेसको जुन हालत छ। यतापट्टि वामपन्थी आन्दोलनमा पनि झापा आन्दोलनको त सुरुवातकर्तामा ओली होइनन्। पछि माले गठनकै बेलामा पनि थिएनन्। माले गठनमा ओली र हामी २०४४ सालमा जेलबाट छुटेका थियौं। हामीभन्दा बाहेकका साथीहरुले माले बनाएका हुन्। सांगठनिक ढाँचा बनाउने बेलामा हामी जेलमा थियौं। त्यतिखेरको ढाँचा त सीपी मैनाली, माधव नेपाल, प्रदीप नेपाल, गोपाल शाक्य, ईश्वर पोखरेल, अमृत बोहराले बनाए।

अहिले हिजो माले बनाउने साथीहरु नै छिन्नभिन्न छन्। मालेले के गर्न खोजेको थियो भन्ने कुरा त अहिलेको एमालेले भन्न सक्दैनन्। किनभने चिन्तन सोचेर आउने सीपी, झलनाथ, माधव छैनन्। बामदेव पनि त्यहाँ हुनुहुन्न। हिजोको चिन्तन बोक्ने मानिस छैनन्। एमाले पुनः सत्तामा आए पनि हिजोको मालेको चिन्तन बोकेर जाने त कोही छैनन्। त्यहाँ अहिले सुबास नेम्वाङ र माओवादीबाट आएकाहरु वरिष्ठ भएका छन्। उनीहरुलाई मालेको परिचय नै जानकारी छैन। घरघरमा गएर राजनीति गर्ने र समाजवादीलाई उतार्ने कुरामा त कोही छैनन्। सत्तामा नै गयो भने पनि हिजोको क्रान्तिकारी विरासत बोकेर एमाले त्यहाँ पुग्दैन। नयाँ शैली, बुर्जुवा शैली, तामझाम र पावर हातमा लिने हैसियत राखेर त्यहाँ पुग्छ। अर्को कुरा त चुनाव जित्न पनि सजिलो छैन। विकृत सोच लिएर आएको पार्टीले हिजोको क्रान्तिकारी धार बोक्छ भन्ने अनुमान गर्न सकिन्न। अहिलेको एमाले भनेको विकृति एमाले हो।

अहिलेको विभाजनले एमालेको वैचारिक र सांगठनिक स्वरुपमा फेरबदल आउँछ भन्ने हो?
पक्कै। किनभने, विकृति अहिले फयाँक्न सक्दैन। देश र जनताको हितभन्दा आफ्नो हितको कुरा छ। क्रान्तिकारी स्वरुप ल्याउन सक्ने मानिस छैन। माधव छोडेर जो एमालेमा नै छन्, तिनको त सातोपुत्लो गएर त्यहाँ टाँसिएका छन्। हैसियत राख्न सक्ने अवस्थामा पनि छैनन्। अन्तिममा गएर एमालेमा उनीहरुको हैसियत बनाउलान् भन्ने त होला तर, अहिले संविधान नै मास्न खोज्ने ओलीलाई खुर्केर फेरि क्रान्तिकारी ओली बनाउन सक्दैनन्। त्यहाँबाट ठाउँ नै पाए भने पनि केही अर्थ रहँदैन। चिन्तनको बीऊ भनेको ओली हुन्। उनको चिन्तन नै विकृत छ। उनीहरु पनि त्यहाँ हुँदा विकृत हुने नै भए। अहिले त्यही टाँसिएका छन्। जति क्रान्तिकारी हौं भने पनि ओलीको नेतृत्वको पार्टी हो। ओलीको पार्टी भनेको क्रान्तिकारी होइन। जति परिवेशमा एकीकृत बनाएर गए पनि जनमुखी हुन सक्दैन।

माधव नेपाल छाडेर एमालेमै रहेका दश नेताले ओलीलाई टक्कर दिएर प्रतिस्पर्धा गर्न सक्लान्?
सानो सम्भावना त छ तर कति हिम्मत गर्छन भन्ने हो। किनभने नेपाली कांग्रेसमा गिरिजाको खिलाफमा चिरन्जीवी पनि उठेका थिए। अलिकति त मत ल्याएका थिए, पछि त उनको पत्तासाप नै भयो। त्यही डरमा अहिले जो उम्मेदवार हुन्छ ओलीविरुद्ध, केही मत त ल्याउला तर, भोलि पत्तासाफ हुन्छ भन्ने पनि डर हुन्छ। ओलीमा आफूसँग टक्कर गर्न खोज्ने मात्रै होइन, आफूले भनेको नमान्ने मानिसलाई पनि नसहने चिन्तन छ। टक्कर लिनेलाई भोलि त बसी खान त दिँदैनन्। जे होस् होस्, एकचोटि टक्कराउने हो भने पनि अब त्यसले नेकपा एमालेमा रुपान्तरण गर्छ जस्तो लाग्दैन। त्यो चिन्तनले ओलीमा रुपान्तरण पनि आउँदैन। व्यक्तिको सवालमा अलिकति मत ल्यायो भने उसको प्रभाव त रहला, जितेर जान सक्ने स्थिति रहँदैन। एमालेलाई सक्रिय र वैचारिक धरातलमा उठाउने हैसियत सायद दशौं महाधिवेशनपछिका सबै कार्यकर्ताको जोडबलले गर्छ जस्तो लाग्दैन।

२०५४ मा एमाले विभाजन हुँदा महाकाली सन्धि कारक थियो। अहिलेको एमाले विभाजनको कारण चाहिँ के होला?
नेताहरुको दुर्बुद्धि नै मुख्य कुरा हो। २०५४ कै कुरा सम्झन्छु। म पनि क्रियाशील थिएँ। मैले महाकाली सन्धि नगरौं भनेर जोड गरेको थिएँ। पानीमा हामी ठगियौं। आधा-आधा हुनुपर्छ भन्ने हाम्रो माग थियो। पानी आधा-आधा नगर्नेमा हामी ठगिएका थियौं। एमालेले मत नदिई दुई तिहाइ पुग्ने थिएन। त्यति बेला सन्धि पास हुने अवस्था थिएन, एमाले नभई। एमालेका नेता पुरै भारतपरस्त भए, खासगरी ओली र माधव। त्यतिखेर बाहिर देखिने माधव थिए, भित्र मिलाउने ओली थिए। नेपालका नेताहरुले पानी र बिजुली आधा-आधा गर्नुपर्छ भनेको भए त भारत पनि हच्किन्थ्यो। 

पार्टीको नेपालगञ्जको अधिवेशनमा पनि मैले भनेको थिएँ, यो विषय नउठाऔं भनेको थिएँ। त्यसो नगरौं भन्दा पनि माधव र ओली मानेनन्। अधिवेशनमा मत विभाजन हुँदा सन्धि ठीक थियो भन्ने माधव र ओलीको पक्षमा बहुमत भयो। त्यसपछि ओली र माधवको के बार्गेनिङ भयो, महाकाली सन्धि ठीक थिएन भन्ने १८ जनालाई केन्द्रीय कमिटीमा नल्याउने भए। पछि बार्गेनिङबाट ८ जना ल्याउने अरु नल्याउने भए। अरुलाई छोड्न हामी तयार भएनौं। माधवजीलाई राति-राति गएर यसो नगर्नुस् भनेको थिएँ, त्यसो गर्दा पार्टी फुट्दैन भनेको थिएँ। नेताहरुको कुबुद्धिमा त्यसो भएको थियो। पार्टीको हित नहेरेपछि पार्टी फुट्यो।

अहिले पनि त्यही हो। प्रचण्डसँग पार्टी एकता भएपछि जे शर्त भएको थियो, त्यो कार्यान्वयन हुन सक्नु पर्थ्यो। त्यसलाई ओलीले बुझेनन्। दुवै नेताको महत्त्वाकाक्षां थियो। माधव, झलनाथ र बामदेवको पनि थियो। सत्तामा बाँडचुड गर्न खोजेकै थिए। झलनाथले पनि राष्ट्रपति बन्न चाहेकै थिए। उनलाई बनाएको भए त पार्टी फुट्ने थिएन। जहाँ घाउ भयो, त्यहाँ झिंगा आउँछ। यिनीहरुले आफैं घाउ बनाएपछि मात्रै झिंगा आएको हो। यसमा ओलीको महत्त्वाकांक्षा बढी भएपछि बिग्रियो। 'ओली बा' भन्ने चिन्तनले यस्तो गर्‍यो। अहिले विदेशीको खेल भन्छन्, केही होला तर, त्यसमा नेताहरुको नै कमजोरी बढी छ। छिमेकीहरुले त खेल्ने नै भयो। भारतको दाउपेचमा अनुकूल हुने त यिनै नेताहरु हुन्। विदेशीलाई त्यही भएर खेल्न सजिलो भएको हो। 

एमालेको विभाजनको ठोस कारण ओली र माधव नेपालको टकराव नै हो?
मुख्य चाहिँ त्यही हो। सत्ता स्वार्थ नै हो। ओलीले कसैलाई नसहने, आफ्नो पनि शेयर हुनुपर्छ भन्ने माधव नेपाल लगायतका नेताहरुको पनि टक्कर। ओलीले सबैलाई सन्तुलनमा राख्न सकेको भए त पार्टी फुटने थिएन। ओली बाठो भएर प्रधानमन्त्री अर्कोलाई दिएर पार्टीमा आफ्नो पकड राखेको भए त ओलीकै शासनमा पार्टी रहन्थ्यो नि त। ओलीले पार्टीको निर्णय अनुसार सरकार चल्ने भनेको भए त पार्टी र सरकार एकीकृत नै हुन्थ्यो। बालुवाटारमा नै बसेर हिँडदाखेरी अगाडि पछाडि सेना नै लगाउनुपर्ने रहर चाहिँ ओलीले नराखेको भए पार्टी फुटने थिएन। त्यो बुद्धि आएन उनलाई। अन्तिममा गएर बार्दलीमा उहाँ पुग्नुभयो। खेल्नेले खेले पनि होलान्, त्यसमा नखेल्ने भन्ने होइन। विभिन्न शक्तिका आँखा गडेका थिए होलान्।

केपी ओली र माधव नेपालले नेतृत्वको गरेको पार्टी कालान्तरमा मिल्न सक्ने अवस्था देख्नुहुन्छ?
सजिलै मिल्न सक्ने देखिन्न। अलिकति हण्डर, ठक्कर खाएपछि मिल्छन्। आगामी चुनावमा हिजो मालेमा बामदेवले हारे जस्तै माधवले हारे भने एउटा कुरा भयो। दुईवटैले हारेको स्थिति भयो भने समतामूलक एकता हुन सक्छ। मलाई लाग्छ, उनीहरु दुवैले सोचे जस्तो परिणाम आउँदैन। त्यसपछि मिलन हुन सक्छ। जतिसुकै गालीगलौज गरे पनि, हिजो बामदेवलाई भ्रष्टाचारी भनेर गाली गरे पनि पछि अंगालो हालेकै हुन्। अहिले भनेको कुराको कुनै तुक हुँदैन। बचनमा प्रतिबद्ध हुने मानिस त कोही छैनन्। जति गाली गरे पनि भोलि स्वार्थ मिल्यो भने हात मिलाइ हाल्छन्। त्यसकारण दुई जनाकै अलि होश आउने गरी कमजोर भए भने मिल्न सक्छन्।

माधव नेपाल नेतृत्वको पार्टी त गठबन्धनमा छ। यस्तो बेलामा मिल्न त असहज होला नि होइन?
त्यो के हुन्छ भन्न सकिँदैन। चुनावअघि नै ओलीलाई अलि होश आयो र माधवलाई ल्याइएन भने चुनाव हारिन्छ भन्ने लाग्यो भने, जस्तो हिजो प्रचण्डलाई नल्याउँदा सरकार बन्दैन भन्ने डरले नै ओलीले ल्याएर आएको हो नि, मायाले त होइन। त्यस्तो होश आयो भने ओली-नेपाल मिल्न पनि सक्छन्। गठबन्धनमा गयो भने माधव कमजोर त नहोलान्। कता गएर जितिन्छ भन्ने मनस्थितिमा अहिले पनि नेताहरु छन्। स्थानीय चुनावले नै अगाडिका चुनावको संकेत गर्न सक्छ।

एकीकृत समाजवादीको भविष्य कस्तो देख्नुहुन्छ?
गठबन्धनमा नै टिकिरह्यो भने सत्तामा नै पुग्छ कि पुग्दैन भन्न सक्दिनँ। तर, पार्टीको अस्तित्वमा चाहिँ रहन्छ। अलि बढी सिट जिते भने त मजबुत नै हुन्छ।

मुलुकको पछिल्लो राजनीतिक परिस्थितिलाई कसरी हेर्नुभएको छ?
स्थिति धेरै राम्रो छैन। अहिले सरकार र सिस्टम जोडिएको छ। सरकारले राम्रो काम गरेको छैन। संसद, न्यायपालिका लगायतका सबै क्षेत्रमा किचलो छ। सबै क्षेत्रमा समस्या देखिएको छ। सबै क्षेत्रका कारणले व्यवस्थाको माथिल्लो निकाय भनेको टुप्पामा मरौटो लागेको जस्तो भएको छ। अहिलेको व्यवस्था बलियो देखिने संकेत देखिएको छैन। उहाँहरुको बुद्धि बिग्रेको छ। अहिलको न्यायलयमै हेर्नुस्, न्यायालयमा नहुने गुण भएको व्यक्ति छन्। यिनै नेताहरु विभिन्न निकायमा मानिसहरु ल्याउने। अहिलेका पछिल्ला कुराले हेर्दा त सामान्य हैसियत नभएका व्यक्ति रहेछन् भन्ने चित्रण देखिएको छ। 

अप्ठ्यारो हुने कुरा त व्यवस्थासँग जोडिएको छ। संघीयतामा समस्या आएको छ। सरकारले पनि राम्रो काम गरेन। गणतन्त्र आएपछि सबैभन्दा बढी भ्रष्टाचार बेथिति बढ्यो। नजाने ठाउँमा राजनीति गयो। अदालत, सेना, प्रहरी सबै क्षेत्रतिर राजनीति घुस्यो। यो हालतमा आइसकेपछि विदेशी शक्तिले पनि आँखा गाडेका छन्। दुईवटै छिमेकीहरु नेपालको व्यवस्थाप्रति सन्तुष्ट छैनन् भन्ने देखिएको छ। अहिले यहाँ त के भयो भने कोही पनि अडानमा भएनन्। प्रधानमन्त्रीदेखि नेताहरु सबैको अवस्था त्यही रहेको देखिन्छ। अहिले एमसीसीको विषयमा सबैको धारणा फरक-फरक देखिएको छ। कोही पनि स्थिर र विश्वासिलो भएनन्। 'ननपोलिटिकल' नेतृत्व ल्याउनुपर्छ कि भन्ने विदेशीको पनि चिन्तत देखिएको छ। त्यो भनेको राजाको नै हुन्छ।

नेताहरु नै सुध्रिन्छन् कि के गर्छन् भन्ने पनि हो। विदेशीहरुको ईच्छा अरु किसिमको छ भने त यो पछिल्लो चलखेलले व्यवस्था नरहला कि भन्ने चिन्ता त छ नि। नचाहँदा नचाहँदै पनि हामीले नसोचेको परिवर्तन आउन सक्छ। राष्ट्रमा संकट आयो भने नयाँ कुरा आउने हो। गणतन्त्रकालमा जुन भ्रष्टाचार बढेर तहसनहस भएको अवस्थामा विदेशीले पनि खेलेर आफ्नो अनुकूल गर्न सक्ने सम्भावना पनि छ।

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  २०:२५
  • #एमाले_दशौं_राष्ट्रिय_महाधिवेशन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ?
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध?
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
रेशम चौधरी पक्राउ प्रकरण :  विष्टलाई थप दुई दिन हिरासतमा राख्न अनुमति बिहीबार, जेठ १, २०८२
निर्मला पन्त प्रकरण : गाली बेइज्जती मुद्दामा पत्रकार भण्डारीलाई एक महिना कैद बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्